बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जुँगा पालेबापत मासिक रकम बुझ्दै कालीबहादुर

बिहीबार, १० जेठ २०७५, ०९ : ५०
बिहीबार, १० जेठ २०७५

दाङ - सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जँुगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै आएका छन् । 

घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आएका छन् । दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई तुलसीपुर निवासी पूर्ण भण्डारीले मासिक रु २५० प्रदान गर्दै आएका छन् । 

“म पेशाले निर्माण व्यवसायी हुँ, कामको सिलसिलामा बैंकमा आइरहँदा कालीबहादुरले पालेको जुंगा देख्दा मलाई रमाइलो लाग्थ्यो”, भण्डारीले भने । नागबेली आकारको उनको काला जुंगा देखेपछि मैले खुशीले उनलाई प्रोत्साहनस्वरुप पैसा दिने निर्णय गरेको हुँ ।” २०६२ सालदेखि आफूले नियमित रुपमा जुंगा पालेबापत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताए । 

“शुरुमा उहाँले रु ५० बाट शुरु गर्नु भएको हो, अहिले रु २५० मासिक उपलब्ध गराउँदै आउनुभएको छ,” बुढाथोकीले भन्नुभयो । जुंगालाई मन पराइदिएर पैसा दिँदा आफूलाई पनि खुशी लागेको समेत उहाँले बताउनुभयो । जुंगा पालेर प्राप्त गरेको पैसा जुंगा संरक्षणमा नै खर्च गर्ने गरेको समेत उनले बताए । 
बुढाथोकी अवकाशप्राप्त नेपाली सैनिक हुनुहुन्छ । उनले नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहँदा २०५७ सालतिर पनि मासिक रु १०० जुंगाको तलब खाने गरेको बताउनुभयो । “म नेपाली सेनामा हवल्दार हँुदा मलाई मेरो गुल्मका क्याप्टेन समिर रानाले पनि मासिक रु १०० जुंगा पालेबापत पैसा दिँदै आउनुभएको थियो,” उनले भने ।

अहिले बैंकको सुरक्षा गार्डका रुपमा रहेका बुढाथोकीलाई निर्माण व्यवसायी भण्डारीले आफू बाँच्दासम्म प्रत्येक वर्ष थोरै भएपनि वृद्धि गर्दै जुंगाको लागि पैसा दिइरहने बताए । भण्डारीले बुधबार बुढाथोकीलाई बैंकमा नै भेटेर एकमुष्ट रु पाँच हजार प्रदान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप