बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोरखाबाट नेकपाको केन्द्रीय सदस्यमा १२ जना, को–को ? (सूचीसहित)

बुधबार, ०९ जेठ २०७५, २१ : १७
बुधबार, ०९ जेठ २०७५

गोरखा । नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रिय समितिमा गोरखाबाट १२ जना मनोनित भएका छन् । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकताबाट बनेको नेकपाले गोरखाका १२ जनालाई केन्द्रिय समितिमा चयन गरेको हो । जसमा माओवादीबाट ११ जना र एमालेबाट १ जना परेका छन् ।

को–को हुन १२ अनुहार ?

तत्कालिन माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पार्टीको स्थायी समितिमा पर्ने गोरखाका एक मात्र नेता हुन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ जौबारीका हुन् । गत मंसिरमा भएको प्रतिनिधीसभा निर्वाचनमा उनी नयाँ शक्ति नेपाल, पार्टीका संयोजक बाबुराम भट्टराईसँग झण्डै ७ हजार मतले पराजित भएका थिए । उनी नेकपाको वरियता क्रममा छैटौं नम्बरमा परेका छन् । 

प्रचण्डका निकट मानिने हितराज पाण्डे पनि केन्द्रिय समितिमा परेका छन् । पूर्वसंघीय मामिला तथा स्थानीय विकासमन्त्री समेत रहेका पाण्डे पनि गोरखा क्षेत्र नम्बर २ पालुङटार नगरपालिकाका बासिन्दा हुन् । उनी शहिद तथा बेपत्ता परिवार संगठनका अध्यक्ष समेत हुन् । 

गत मंसिरमा सम्पन्न प्रतिनिधीसभाको निर्वाचनमा नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई हराउदै सांसद बनेका हरिराज अधिकारी समेत पार्टीको केन्द्रिय सदस्यमा चयन भएका छन् । उनी क्षेत्र नम्बर १ को गण्डकी गाँउपालिकाका बासिन्दा हुन् ।

केहीबर्ष अघि पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव समेत बनिसकेका चुडामणि खड्का (प्रकाश) नेकपाको केन्दिय समितिका परेका छन् । प्रचण्डका अत्यन्त निकट मानिने उनी हाल प्रतिनिधीसभाका समानुपातिकतर्फबाट सांसद समेत छन् । खड्का क्षेत्र नम्बर २ को पालुङटार नगरपालिकाका स्थायीबासी हुन् । 

२०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका अमर तमु समेत पार्टीको केन्द्रिय सदस्य बनेका छन् । क्षेत्र नम्बर १ शहिद लखन गाँउपालिका नामजुङ घर भएका तमु माओवादीको पूर्व जिल्लाअध्यक्ष समेत हुन् । 

प्रदेश नम्बर ४ का भौतिक विकास तथा पूर्वाधारमन्त्री रामशरण बस्नेत पनि केन्द्रिय सदस्यमा चयन भएका छन् । नेकपा एमालेको वैकल्पिक केन्द्रिय सदस्य रहेका बस्नेत गोरखा नगरपालिका–३ नारेश्वर निवासी हुन् । प्रदेश सरकारका प्रवक्ता समेत रहेका उनी गत मंसिरका सम्पन्नप्रदेश निर्वाचनमा क्षेत्र नम्बर १ को प्रदेश ख बाट कांग्रेसका राजेन्द्र बजगाईंलाई हराउँदै विजयी बनेका थिए । एमालेबाट केन्द्रिय सदस्य बन्ने बस्नेत गोरखाका एक मात्र नेता हुन् ।

२०६४ सालको संविधानसभा निर्वाचनको समानुपातिक तर्फबाट सभासद बनेकी शुसिला सिंखडा नेकपाको केन्द्रिय समितिमा परेकी छिन् । क्षेत्र नम्बर १ को भिमसेन थापा गाँउपालिका घर भएकी सिंखडा गत प्रतिनिधीसभा निर्वाचनमा समानुपातिक उम्मेदवार समेत बनेकी थिइन् । 

दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक सभासद् बनेका कृष्ण धिताल केन्द्रिय सदस्य बनेका छन् । तत्कालिन माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत रहेका धिताल शहिद लखन गाँउपालिका तान्द्राङका हुन् । 

त्यस्तै अजिकोट क्षेत्र नम्बर २ को अजिकोट मुच्चोकका दिपक देवकोटा पनि नेकपाको केन्द्रिय सदस्य बन्न सफल भएका छन् । माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका देवकोटा जिल्लामा भने खासै परिचित अनुहार मानिदैँनन् ।

तत्कालिन नेकपा माआवादी शान्ति प्रक्रियामा आएलगत्तै प्रतिनिधीसभा सदस्य बनेका परशुराम रम्तेल समेत नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । दलित आन्दोलनका अगुवा मानिने रम्तेल गोरखा नगरपालिका–४ फिनामका हुन् । 

२०६४ सालको संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका चिरञ्जिवी वाग्लेलाई भारी मतले हराउँदै सभासद् भएकी पार्वती थापा पनि पार्टीको केन्द्रिय समितिमा परेकी छिन् । तत्कालिन समयमा सभासद भएपछि गाँउ फर्केर नआएको आरोप खेपेकी थापा भिमसेन थापा गाँउपालिका अश्राङकी हुन् ।

विद्यार्थी राजनीतिका हस्ती मानिने लेखनाथ न्यौपाने समेत नेकपाको केन्द्रिय सदस्य बन्न सफल भएका छन् । गोरखा क्षेत्र नम्बर २ सिरानचोक हर्मीका न्यौपाने माओवादीभित्र अवसर नपाएका नेतामध्ये मानिन्थे । अनेरास्ववियु क्रान्तिकारीका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका उनी जिल्लामा भने खासै परिचित छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप