केन्द्रीय संस्करण

मोदी भ्रमणका आयामहरू

person explore access_timeजेठ ९, २०७५ chat_bubble_outline0

मानव समाज विकासको ऐतिहासिक भौतिकवादी प्रक्रियाअन्तर्गत दास युगको आरम्भसँगै वर्ग समाजको उदय भएको देखिन्छ । यही विन्दुबाट नै समाजमा हेला–होचो, ठूलो–सानो, शक्तिशाली र शक्तिहीन साथै प्रभावशाली र प्रभावहीनबीच दरार खडा भयो । शोषण र अन्यायको विभिन्न रूपहरू संस्थागत हुँदै गयो । त्यो व्यवहारतः शासक र शासितका रूपमा समाजमा अभिव्यक्त हुनथाल्यो । अर्थात समाजले एकाएक अन्तरविरोधपूर्ण चरित्र ग्रहण ग¥योे । यसले मानव समाजलाई व्यक्ति, परिवार, समुदाय, राज्य र साम्राज्यको स्वार्थ वरिपरि फनफनी घुमाउन थाल्यो । यही विन्दुबाट तेरो–मेरोको संस्कृतिसँगै अस्वस्थ्य प्रतिस्पर्धा, षड्यन्त्र र जालझेल पनि सुरु भएको देखिन्छ । 

     सिद्धान्ततः यही स्वार्थको रसग्रन्थीबाट हरेक मान्छेमा स्वभावैले अरूभन्दा सबल, सक्षम र प्रभावशाली बन्ने मनोविज्ञान विकास भयो । अरूलाई कमजोर र दुर्बल ठान्ने शासकीय चिन्तन प्रवृत्ति समाजमा देखाप¥यो । वर्तमान विश्व समाजमा घटिरहेका विभिन्न घटनाहरू अरूलाईभन्दा आफूलाई सुपर ठान्ने मनोवैज्ञानिक सोचकै आचरणगत अभिव्यक्तिहरू हुन् । मानव समाजको सोच र चिन्तन नै आफू र आफ्नाहरूको स्वार्थमा सीमित भएको छ । यही मेसोमा भूमण्डलीकृत विश्वमा महाशक्ति बन्ने होड केन्द्रीय सवाल भइरहेको छ । यही स्वार्थको गुरुत्वकेन्द्र वरिपरि विभिन्न मुलुकहरूले आफ्नो रणनीतिक प्रभाव विस्तार गर्दै आएको छ । यसमा ठूला राष्ट्रहरू अगाडि रहेका छन् । यसले अन्तरसाम्राज्यवादी, अन्तरदेशीय र क्षेत्रीय द्वन्द्वहरू चर्काइरहन्छ, जुन वर्तमान विश्वले भोगिरहेको तीतो यर्थाथ हो ।

     सारतः अन्तरविरोधपूर्ण समाजमा गरिने यावत क्रियाकलापहरू आफ्नो शक्ति र प्रभाव विस्तारकै रणनीतिमा आधारित हुन्छ । यो सार्वभौम नियम हो । यद्यपि रूपमा भने गुलियो नारा र पदावलीहरू चयन गरिन्छ । यही औसत मेसोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको औपचारिक भ्रमण सम्पन्न गरिसक्नु भएको छ । नाकाबन्दीको चोट भुल्न नसकेका स्वाभिमानी नेपाली जनताले यो भ्रमणको सर्वत्र विरोध गरेका छन् । भ्रमण केवल औपचारिकतामा सीमित भएको छ । विगतमा जस्तै औसत कर्मकाण्डबाहेक गम्भीर मुद्दाहरूमा कुनै छलफल भएन । कालापानीको भारतीय सेना हटाउने र दर्जनौं स्थानमा मिचिएको सीमाको बारेमा भ्रमण मौन देखिन्छ । असमान सन्धि सम्झौताहरूको सवालमा एक शब्द पनि उच्चारण भएन, जुन नेपालको हितमा थिएन । यसकारण यो भ्रमणलाई ऐतिहासिक भन्नु बेकार छ । तथापि मोदीको जनकपुर र मुक्तिनाथ धार्मिक यात्रा चाहिँ पक्कै पनि ऐतिहासिक भएको हुनुपर्छ ।
   

 मूलतः मोदीको भ्रमणलाई तीनवटा आयामबाट हेर्न सकिन्छ । यसमा सामन्य, कूटनीतिक र राजनीतिक आयाम । पहिलो आयामबाट हेर्दा यो दुई छिमेकी मुलुकबीचको नियमित औपचारिक भ्रमण हो । यस्तो भ्रमण विगतमा पनि भएकै हो, साथै आगामी दिनहरूमा पनि भइ नै रहनेछ । भ्रमणको यो सामन्य वा नियमित आयाम हो । दोस्रो आयामबाट हेर्दा नेपालसँग चिसिएको सम्बन्ध सुधार गर्नुपर्ने विन्दुमा यो भ्रमण भएको छ । यसलाई कूटनीतिक आयाम भनिन्छ । मुख्यतय नेपालको भूराजनीतिक अवस्थिति र यसमाथिको प्रभाव र हैकमबाट शक्ति राष्ट्रहरूले लिन सक्ने लाभहानिको रणनीतिमा भ्रमण केन्द्रित देखिन्छ । अर्थात भ्रमण भारतको रणनीतिक स्वार्थ वरिपरि रहेको छ ।
 

   वस्तुतः मोदीको भ्रमण कूटनीतिक तथा रणनीतिक स्वार्थका आयाममा आधारित रहेको छ । विश्वमा उदाउँदो शक्ति चीन र अमेरिकी हैकमको प्रत्यक्ष वा परोक्ष छायाँमा परेको भारतबीचमा अवस्थित नेपालको भूराजनीतिक रणनीतिले विश्वमा दूरगामी प्रभाव पर्ने निश्चित छ । युद्ध अर्थतन्त्रमा टिकेको अमेरिका र औद्योगिक अर्थतन्त्रको विश्व बजार खोजिरहेको चीनबीचको टकराव कम हुने सम्भावना छैन । उनीहरू आफ्नो प्रभाव र प्रभुत्व विस्तारकै एकल रणनीतिक योजनामा रहेको छ । यस्तो जटिल भूराजनीतिअन्तर्गत मोदीको भ्रमण हुनुको अन्तर्यमा अपरिभाषित, अव्यक्त र अदृश्य धेरै विषयहरू हुनसक्छ । तर दुरभाग्यनै भन्नुपर्छ, यस्तो गम्भीर सवालमा नेपाल सरकारले आवश्यक चिन्ता र चासो लिएको देखिन्न । 
 

   मूलतः आज विश्वमा प्रभाव विस्तार गर्ने रणनीति एकोहोरो र एउटा पक्षमा मात्र केन्द्रित छैन । हरेक कोणबाट चलखेलहरू हुने गर्छ । यो आज बहुआयामिक र दोहोरो चरित्रमा व्यक्त भइरहेको छ । नेपालमा इन्डो–अमेरिकन पकड र प्रभाव बढी छ । यसमा विशेष गरेर भारतको काङ्ग्रेस आई र रिसर्च एन्ड एनालाइसिस विङसँगको स्थायी साझेदारी निर्णायक रहेको दाबी गरिन्छ । हिन्दुवादीहरूसँग पनि मौसमी सम्बन्ध रहँदै आएको देखिन्छ । यसले चीन, रसिया, कोरियालाई केन्द्रमा राखेर आफ्नो रणनीतिक कार्डहरू फाल्दै आएको छ । यसका लागि उसले नेपालमा अस्थिरता र द्वन्द्वलाई अनिवार्य जस्तै देखेको छ । यही मेसोमा उनीहरू प्रत्यक्ष वा परोक्षरूपमा नेपालमा आफ्नो हस्तक्षेप र पकड कायम गर्न चाहन्छन् । आफू अनुकूलका पात्रहरू नियुक्तिमा ज्यान फालेर लाग्छन् ।

     वास्तवमा मोदीको भ्रमण अप्रत्यासित भएको होइन । चुनाव हुनुभन्दा केही समयअघिको गोप्य दूतहरूको भेटघाट, बैङ्कक भ्रमण, विदेशमन्त्री स्वराजको नेपाल भ्रमण हुँदै प्रधानमन्त्री ओलीको भारत भ्रमणको समग्र प्रयत्नहरूको योगमा यो सम्भव भएको हो । एसडी मुनी र प्रशान्त झाको लेखबाट पनि यसबारे प्रष्ट भइसकेको छ । चीनले नियमित रूपमा आयोजना गर्ने बोआओ फोरममा नगई ओली भारत गएका थिए । यसमा चिनियाँहरूले आश्चर्य र दुखित भएको प्रतिक्रया दिएका छन् । यसलगत्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञावाली चीन भ्रमणमा जानुभयो, जसले थोरै मलमपट्टी लगाउने काम भएको अड्कल गरिएको छ । ज्ञावालीसँग चिनियाँहरूले पुरानो सम्झौता कार्यान्वयन र वैशाख महिनाभित्र ओलीको भ्रमण गराउने चाहना राखे । ज्ञावालीले मीठो वचनमा हुन्छ भने । यही चाप र सरगर्मीका बीच दिल्लीमा एकाएक मोदीको भ्रमणतालिका सार्वजनिक गरियो, जुन योजनाबद्ध होकि भन्ने आशङ्का गर्ने ठाउँ रहेको छ । 

     मोदीको यसपालिको भ्रमणले थुप्रै विवाद र बहसजन्य विषयहरू सतहमा ल्याएको छ । त्यसमा विशेष गरेर नेपाल सरकारको पूर्वस्वीकृतिविना भारतीय सेना परिचालन गर्नु अनि काठमाडौँ नभएर सीधै जनकपुर आउँनुमा गम्भीर आशङ्का गरिएको छ । सुरक्षाको नाममा हत्तियारसहितका बर्दीधारी भारतीय सेना नेपाली भूमिमा परेड खेल्ने कुरा चानचुने सवाल होइन । यसले विश्वभरी गौरवपूर्ण इतिहास निर्माण गर्न सफल नेपाली सेनाको अपमान मात्र गरेको छैन, सिङ्गो स्वाभिमानी जनताको सार्वभौमिक अधिकारमाथि कुठराघात गरेको छ । हुन त यो समग्र हर्कत मोदीको आफ्नै योजनाभन्दा पनि इन्डो–अमेरिकन योजनामा बदनाम गराउने ट्याकटिस भन्ने पनि अड्कल गरिएको छ । यसमा कर्मचारीतन्त्र र सुरक्षा अधिकारीहरूको हात रहेको आशङ्का गरिएको छ । 
   

 यता आगामी वर्ष भारतमा आम चुनाव हुँदैछ । चुनाव जित्नका लागि उसले चिनियाँ सदाशयता बढाउन खोजेको अड्कल गरिएको छ । हालै सङ्घाईमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सीसँग त्रिपक्षीय सम्बन्धमा जोड दिनुले उक्त आशङ्का माथि बल पुगेको देखिन्छ । चीन विगतदेखि नै त्रिपक्षीय साझेदारीको रणनीतिमा थियो भने भारतले यसको विरोध गर्दै आएको छ ।  यस अतिरिक्त हिन्दुवादी भावना पकड्न उनले नेपालको धार्मिक भ्रमण गरिरहेको दाबी पनि गरिँदैछ । यो भ्रमणबाट नेपालमा मधेस र पहाडबीचको दरार झनै बढ्ने सम्भावना देखिन्छ । साथै नाकाबन्दीको कमलो भावनामा टुसाएको ढोँगी राष्ट्रवादी पातलो पर्दा पनि च्यातिने खतरा बढेको छ । यसले अतिराष्ट्रवादी क्याम्प कमजोर बन्दै जाने विश्लेषकहरूले अनुमान गर्न थालेका छन् । 
 

    तसर्थ भ्रमणको गोलमटोल अर्थ र पदावलीको पछिपछि दगुर्नुभन्दा यसको वस्तुगत आयामहरू बारे ज्ञान राख्नु जरुरी छ । औपचारिक र सार्वजनिक रूपमा कुनै पनि भ्रमणहरू ख्यालख्याल र नराम्रो हुँदैन तर यसको अन्तरवस्तुमा अन्तरनिहित सकरात्मक उद्देश्यमा यसको औचित्य लुकेको हुन्छ । अर्थात् मोदीको भ्रमण पनि उसकै रणनीतिक स्वार्थको पेरिफेरिभन्दा बाहिर छैन । नेपालले पाउनेभन्दा गुमाउने बढी देखिन्छ ।

अरुण तेस्रो, पञ्चेश्वर र जलमार्गको बाहनामा कोही उच्च बाँध जस्ता राष्ट्रहित विपरीत परियोजनाहरू अघि बढाउने सहमती भएबाट यसको पुष्टि गर्छ । त्यसैले पश्चिम, दक्षिण र उत्तरको राजनीति भ्रम मात्र होइन, बेकार छ । यसले सस्तो लोकप्रियता त पाइएला । चुनावमा हारजित अनि सरकार गठन–विघटन पनि गर्ला तर शक्ति राष्ट्रहरूको हस्तक्षेपपूर्ण गिद्दे नजर अन्त्य हुने देखिँदैन । त्यसैले त्रिदेशीय साझेदारीमा आधारित सन्तुलित वैदेशिक नीति नेपालको अपरिहार्य आवश्यकता हो । एकातिर ढल्किएर समाधन खोज्नु भ्रमको साथसाथै शक्ति राष्ट्रहरूको रणनीतिक स्वार्थमा जानीजानी फस्नु मात्रै हो । यसमा स्वाभिमानी नेपाली जनता गम्भीर, सचेत र सङ्गठित बन्दै आन्दोलित हुनु जरुरी छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...