बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

के अक्टोपस हामी माझ रहेको एलियन जीव हो ?

बुधबार, ०९ जेठ २०७५, ०९ : ५३
बुधबार, ०९ जेठ २०७५

एजेन्सी । अक्टोपस एलियन जीव हो । यो दाबी गरेर ३३ जनाको अनुसन्धानकर्ताहरुको समूहले पियर–रिभ्यु वैज्ञानिक जर्नलमा एक पेपर प्रकाशित गरेका छन् ।

उनीहरुले एलियन भनेर सांकेतिक रुपमा होइन कि साँच्चै बाहिरी ग्रहबाट आएको भन्न खोजेका हुन् । 

उक्त नयाँ पेपर सार्वजनिक भएदेखि अन्तर्राष्ट्रिय छापाहरुमा अक्टोपस र बाहिरी ग्रहमा यसको उत्पतीबारेमा समाचार आउन थालेको छ ।

अनुसन्धानकर्ताहरुले उक्त पेपरमा एक एलियन भाइरस उल्कापिण्डमार्फत पृथ्वीमा खसेको र तिनले प्राचिन समयको समून्द्री जीव स्क्वीड वा प्राचिन समयका अक्टोपसको अण्डालाई संक्रमित गरेको र त्यसपछि हालको अक्टोपसको विकास भएको बताएका छन् । 

यो विचार मुख्यत ‘प्यानस्पर्मिया’ परिकल्पना अन्तर्गत पर्छ जसले पृथ्वीमा जीवन बाह्य अन्तरिक्ष धुलो वा क्षुद्रग्रह पृथ्वीमा ठक्कर खाएर शुरु भएको विश्वास गर्छन् । 

यसका पहिलो प्रस्तावक मध्य एक चन्द्र विक्रमासिङ्गे नयाँ पेपरको प्रमुख लेखक हुन् ।

अक्टोपस निक्कै रहस्यमयी जीव हो । यसको यही गुणका कारणले धेरै पहिलादेखि यसको उत्पत्तिबारेमा विभिन्न परिकल्पनाहरु आइरहन्थ्यो । अक्टोपस फाइलम मलुस्का अन्तरर्गत पर्छ । यसको मतलब यो शङ्खेकिरासँग नजिकको मानिन्छ । यद्यपी उनीहरु यो फाइलमका अन्य जीवभन्दा निक्कै बौद्धिक हुन्छन् ।

ठूलो दिमाग र जटिल स्नायु प्रणालीको अतिरिक्त नयाँ पेपरका लेखकले अक्टोपसका पृथ्वी बाहिरका गुणहरुको सूची बनाएका छन् । त्यसमा क्यामेरा जस्तो आँखा, लचिलो शरिर र शरिरको रङ्ग र आकार बदलेर पर्यावरणमा घुलमिल हुने प्रमुख छन् ।

यो परिकल्पनाका अधिकांश लेखकहरुको अनुमानको जग अक्टोपस र यसका नजिकका आफन्ती जीवको जीनको संरचना निक्कै रहस्यमयी रहेकोमा देखिन्छ ।

तर, यसमा सहमत नहुने वैज्ञानिकहरु भने अक्टोपसको जीन बुझ्न एलियनको सहारा लिनु नपर्ने बताउँछन् । तिनका अनुसार अक्टोपसहरु १३.५ करोड वर्ष अघि स्क्वीडको प्रजातिबाट छुट्टिएकाले लामो समयमा फरक भएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप