बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युवा संगठनको महासभा बुधबारदेखि काठमाडौंमा

मङ्गलबार, ०८ जेठ २०७५, २० : ४८
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौँ । विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा भोलिदेखि संघीय राजधानीमा हुने भएको छ । 

प्रत्येक वर्ष आयोजना हुने यो बैठक पहिलो पटक नेपालमा हुन लागेको हो । यसअघि क्युवामा बैठक बसेको थियो । 

तीन दिनसम्म चल्ने महासभामा विश्वमा रहेका युवाको शिक्षा र रोजगारका समस्याबारे वहस गरी समाधानको उपायबारे छलफल हुने युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले जानकारी दिए । 

युवा संघ नेपाल र अनेरास्ववियूको आतिथ्य तथा संगठनको आयोजनामा हुने सो महासभामा विश्वमा कम्युनिष्ट आन्दोलनको समीक्षा तथा प्रचारप्रसार गरी अबको कम्युनिष्ट आन्दोलनको बारेमा साझा धाराण निर्माण गर्ने र विश्व साम्राज्यवादविरुद्ध रणनीतिक योजना बनाइने उनले बताए । 

महासभामा विभिन्न देशबाट प्रतिनिधित्व गरेकाले कम्युनिष्ट आन्दोलन र युवाका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कम्युनिष्ट आन्दोलनको विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । 

महासभामा साइप्रस, नामिविया, भियतनाम, लाओस, उत्तर कोरिया, क्युवा, स्पेन, पोर्चुगल, रसियालगायत ४२ देशका ७२ युवासहित २०० सयको सहभागिता हुनेछ । 

महासभाको उद्घाटन राष्ट्रिय सभागृहमा बुधबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् भने उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन् । 

विश्वमा रहेका कम्युनिष्ट र प्रजातान्त्रिक देशका युवा तथा विद्यार्थीको छाता संगठनको रुपमा रहेको यो संगठनमा विश्वका युवा र विद्यार्थीका २५० संगठन आबद्ध छन् । 

नेपालबाट युवा संघ नेपाल र अनेरास्ववियू उक्त संगठनका सदस्य छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप