शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरिया भन्छः उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी छौँ

मङ्गलबार, ०८ जेठ २०७५, १३ : ३४
मङ्गलबार, ०८ जेठ २०७५

एजेन्सी– दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताको सम्भावना ९९.९ प्रतिशतसम्म रहेको बताएको छ ।  दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार चुङ इयु योङले भने– हामी उत्तर कोरियाप्रति आशावादी छौँ, हामीलाई लाग्छ आगामी उच्च सम्मेलनको लागि हामी ९९.९ प्रतिशत आशावादी रहेका छौँ । 

उनी मङ्गलबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै छन् । त्यसअघि सोलमा सम्वाददाताहरुसँग कुराकानी गर्दै उनले भने– केही बिग्रिएको छैन, उत्तर कोरियासँग आगामी दिनमा वार्ता हुन्छ । 

उनले उत्तर कोरियाको अमेरिकासँग पनि वार्ता हुने बताए । हामीले सबै तयारी गरिरहेका छौँ, हाम्रो र उत्तर कोरियाबीचको ‘समिट’ पनि हुन्छ र अमेरिकासँग पनि हुन्छ । 

दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति सम्झौता भएको थियो । त्यसयता यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठकहरु बस्दै आएका थिए । 

तर हाल सोलमा जारी रहेको भनिएको सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले कुनै पनि बैठकको अगुवाइ गरेको छैन । दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठकहरु पनि ठप्प भएका छन् । 

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ । 

दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फी रुपमा उक्त बैठक स्थगित गरेको थियो । उत्तर कोरियाले उक्त संयुक्त सैन्य अभ्यास तत्कालै रोक्न आग्रह गरिरहेको छ । 

उता त्यतिमात्र नभएर उक्त सैन्य अभ्यासको अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी समेत उत्तर कोरियाले दिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको मितिको घोषणा यसअघि नै गरिएको छ । 

उत्तर कोरियाको यो चेतावनीपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकाले भने आफ्नो तर्फबाट उक्त वार्ताको तयारी गरिरहेको जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप