सरकारलाई मलेसियन दूतावासको चुनौती – ‘वान स्टप सेन्टरको काम जारी राख्नु’
काठमाडौं । सानेपास्थित मलेसियन दूतावासले ‘वान स्टप सेन्टर’लाई आफ्नो काम सुचारु राख्न निर्देशन दिएको जानकारी दिँदै विज्ञप्ति जारी गरेको छ ।
मलेसियन दूतावासबाट सोमबार प्रेसित विज्ञप्तिमा मलेसियामा रोजगारीमा जानेहरुका लागि पहिलो कदमको रुपमा रहेको इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी) लाई एक साताका लागि बन्द राख्न भनिएपनि वान स्टप सेन्टरलाई आफ्नो काम जारी राख्न भनेको छ ।
गएको बुधबार श्रम मन्त्रालयले नेपालबाट कुनै स्वीकृति नलिई सञ्चालनमा रहेका बायोमेट्रिक, माइग्राम्स, आइएससी, ओएससी र भिएलएन सेवा तत्काल बन्द गर्न निर्देशन दिँदै कानुनी प्रक्रिया थाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै गृह मन्त्रालयको निर्देशनमा प्रहरीले आइतबार साँझ यी संस्थाहरुमा छापा मारेको थियो ।
आइतबार साँझ प्रहरीले बायोमेट्रिक सेन्टर, आइएससी, भिएलएन र वान स्टप सेन्टरमा छापा मारी केही व्यक्तिहरुलाई पक्राउ गरी कागजात र कम्प्युटरसमेत बरामद गरेको थियो ।
मलेसियन दूतावासले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आइतबारको घटनाबारे ध्यानाकर्षण भएको बताएको छ ।
विज्ञप्तिको सुरुवातमै यी संस्थाहरु मलेसिया सरकारकै एक अभिन्न अङ्ग रहेको भन्दै यी संस्थाहरुले श्रमिक छनौटदेखि सामाजिक तथा श्रम भिषाका लागि भिषा आवेदनको प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ ।
दूतावासले सरकारले सुरु गरेको अनुसन्धानलाई सघाउने भन्दै आईएससीलाई आफ्ना कामकारबाही एक हप्ता वा थप सूचना नआएसम्मका लागि बन्द गर्न निर्देशन दिएको छ ।
आईएससी मलेसियामा कामदार छनौटको लागि अपनाइने प्रमाणिक प्रक्रियाको पहिलो चरण हो । यसको साथै दुतावासले सामाजिक र भ्रमण भिसा प्रदान गर्ने काम सहज रुपमा चालु राख्नको लागि वान स्टप सेन्टर (ओएससी) लाई आफ्ना काम कारबाहीहरु अर्को सूचना नआएसम्मको लागि सुचारु राख्न भनेको छ ।
मलेसियाली दूतावासले सर्वसाधरणबाट प्रत्यक्ष भिसा आवेदन लिन बन्द गरिसकेको भन्दै मलेसियाली भिसा प्रणालीको प्रमाणिक प्रक्रिया अन्तर्गत ओएससी मलेसियाको लागि सम्पूर्ण भिसा आवेदनहरु संकलन गर्ने र बाँकी कार्य गर्न जिम्मेबार केन्द्र भएको दूतावासको स्पष्टीकरण छ ।
तर, नेपाल सरकारले भने आफूले मलेसिया जाने प्रक्रियाका लागि काम गर्न मलेसियन दूतावासबाहेक अरुलाई नचिनेको र रकम उठाउनका लागि कसैलाई स्वीकृति नदिएको भन्दै यी संस्थाहरुको वैधानिकता नरहेको स्पष्ट पारेको थियो ।
हेर्नुहोस्, सानेपास्थित मलेसियाली दूतावासले जारी गरेको विज्ञप्ति ।