शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थल अब २१ घण्टा खुल्लाः ‘विमान डिले हुन्छ कि हुँदैनन् ?’

सोमबार, ०७ जेठ २०७५, १७ : २९
सोमबार, ०७ जेठ २०७५

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा खुल्ला गरेको छ । सोमबार पर्यटनमन्त्री रविन्द्र अधिकारीले एक कार्यक्रमको अयोजना गरी २१ घण्टे सेवाको उद्घाटन गरेका हुन् ।   त्रिभुवन विमानस्थलमा एअर ट्राफिक जान बढ्दै गएपछि सरकारले करिब २ महिनाअघि विमानस्थलको अपरेशन १८ घण्टाबाट बढाएर २१ घण्टा पुराउने निर्णय गरेको थियो । करिब २ महिना यसका लागि तयारी गरेपछि सोमबार पर्यटनमन्त्री रविन्द्र अधिकारीले यसको उद्घाटन गरेका हुन् । अब त्रिभुवन विमानस्थल बिहान ६ बजेदेखि अर्को दिनको बिहान ३ बजेसम्म नियमित सञ्चालनमा आउनेछ । 

विमानस्थलको सञ्चालन अवधि १८ घण्टाबाट बढाएर २१ घण्टा पुराएलगत्तै अब एअर ट्राफिक जाममा कमी आउने मन्त्री अधिकारीले दाबी गरेका छन् ।  अहिले बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म र राती ८ बजेदेखि १२ सम्म एअर ट्राफिक जामको अत्याधिक समस्या रहेको छ । अब एअरपोर्ट सञ्चालनको समय बढाएसँगै ट्राफिक जाममा कमी आउने मन्त्रीले दाबी गरेका छन् । 

विमानस्थल सञ्चालनको समय बढाएसँगै अब आन्तरिक उडानको समय पनि फेरबदल हुने मन्त्री अधिकारीले बताएका छन् । अहिले दिउँसोमात्रै सञ्चालनमा रहेको तर साँझ वा रातीको समयमा पनि सञ्चालन गर्न सकिने भैरहवा, विराटनगर लगायतका स्थानमा अब साँझ र राती पनि उडान हुने मन्त्री अधिकारीले बताएका छन् ।

उनले भने ‘अब भैरहवा, बिराटनगर लगायतका स्थानहरुको आन्तरिक उडान साँझ र राती पनि हुन्छ । त्यसका लागि आन्तरिक विमान कम्पनीहरु तयार छन् र रहनुपर्छ । सरकारले बनाएको नीतिमा उनीहरु चल्ने हुन्, उनीहरुको नीतिमा सरकार चल्ने होइन । नाफा कमाउने र सेवा दिने विमान कम्पनी हेरेर उनीहरुलाई उपलब्ध गराउने समय पनि अब फेरबदल हुनसक्छ ।’

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा सुविधा दिइने
हाल १८ घण्टा सञ्चालनमा रहेको सेवालाई २१ घण्टा बनाएपछि कार्यभार थपिएको भन्दै कर्मचारीहरुले घुमाउरो पारामा सेवा सुविधा थप गर्न माग गरेका थिए । पर्यटनमन्त्री अधिकारीले माग स्पष्ट राख्न निर्देशन दिँदै थप काम गर्नेलाई थप सेवा र सुविधा दिइने घोषणा गरेका छन् । ‘हामीले अहिलेकै सेवा सुविधामा थप काम गर्ने भनेको होइन । केही काम थप हुँदा तपाईँहरुको सुविधा पनि थप हुन्छ । त्यो अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै हुन्छ, ढुक्क भएर काम गर्नुस्’ मन्त्री अधिकरीले भने ।

काम नगरे जागिर छाड्नुस्: पर्यटन सचिव देवकोटा
विमानस्थल सञ्चालनको समय बढाएसँगै केही कर्मचारीले यसको बिरोध गरेपछि पर्यटनसचिव कृष्णप्रसाद देवकोटाले काम गर्न गाह्रो भए जागिर छाडेर आराम गर्न सुझाव दिएका छन् ।  विमानस्थल सञ्चालनको अवधि बढाएपनि जनशक्ति थप्ने काम नगरेको भन्दै विमानस्थलका कर्मचारीले यसको विरोध गरेका थिए । हाल विमानस्थलको राडार लगायत स्थानमा बस्ने कर्मचारीले दैनिक औसत ६ घण्टा मात्रै काम गर्ने गरेका छन् । 

हाल १८ घण्टा सञ्चालनमा रहेको विमानस्थललाई २१ घण्टा बनाउँदा कर्मचारीहरुले अब दैनिक ७ घण्टा काम गर्नुपर्ने हुन्छ । तर सेवा र सुविधा थप नभई काम गर्न नसकिने भन्दै यसबारे कर्मचारीले मन्त्री र पर्यटनसचिव समक्ष गुनासो गरेका थिए । कर्मचारीको गुनासोपछि पर्यटनसचिव कृष्णप्रसाद देवकोटाले काम गर्न नसके जागिर छाडेर जान सुझाव दिएका हुन् ।

उनले भने ‘सरकारको निर्णयअनुसार तपाईँहरु चल्नुपर्छ । तपाइँहरुले जे–जे भन्यो, जे–जे माग्यो त्यो दिन सकिँदैन । काम गर्न सकिँदैन भने सहज ढङ्गबाट खाली गरिदिनुस् । आराम गर्न मन लागे जागिर छाडेर घरमै बस्नुस् । तर कसैले काम गर्दिन भनेर धम्की नदिए हुन्छ । मन्त्री ज्यू, म लगायतका टोलीहरु नियमित अनुगमनमा आउछौँ, कार्यस्थलमा कोही नभेटिए कारवाही हुन्छ, तयार भएर बस्नोस् ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप