शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका स्कुलहरुले सुईवाला घडी हटाउन थाले, कारण छ यस्तो

सोमबार, ०७ जेठ २०७५, १५ : १६
सोमबार, ०७ जेठ २०७५

लन्डन–संयुक्त अधिराज्यका प्राध्यापकहरुको एक युनियनले नयाँ प्रविधिको अत्याधिक प्रयोगले युवाहरुमा पारेको एक अनौठो प्रभावबारे प्रकाश पारेको छ । 
अध्ययनले प्रयोग गर्ने डिजिटल उपकरणमा डिजिटल घडी मात्र हुने भएकाले उनीहरुले सही तरिकाले सुईवाला घडी बुझ्न छाडेका छन् । यही कारणले स्कुलहरुले सुईवाला घडी बदल्न थालेको रिपोर्टहरु आएको छ ।
एसोसियसन अफ स्कुल एण्ड कलेज लिडरका उपमहासचिव मालकोम ट्रोवले बालबालिका र युवायुवतीहरुले पुरानो खालको घडी बुझ्न छाडेको बताए । उनका अनुसार नयाँ पुस्ताको जीवनमा मोबाइल, ट्याबलेट र कम्प्युटरले बढी भूमिका खेल्न थालेकाले उनीहरुलाई डिजिटल ढाँचामा घडी हेर्ने बानी परिसकेको छ । 
त्यसैले परिक्षा हलमा राखिएको सुईवाला घडीले विद्यार्थीहरुलाई अनावश्यक तनाव उत्पन्न गर्न सक्छ । यही कारणले केही स्कुलहरुले विशेष गरेर परिक्षा हलमा रहेको सुईवाला घडी हटाएर डिजिटल घडी राख्न थालेका छन् ।
“नयाँ पुस्ताले पुरानो पुस्ता जस्तो परम्परागत घडी हेर्न जान्दैन ।” पूर्व हेडमास्टर ट्रोवले भने “उनीहरुलाई मोबाइल, कम्प्युटरमा डिजिटल समय हेर्ने बानी लागिसक्यो । युवाहरुले प्रयोग गर्ने लगभग सबै उपकरणले समय डिजिटलमा दिन्छ ।” 
हालसम्म बेलायतमा विद्यार्थीहरु माध्यामिक तहमा पुगेपछि सुईवाला घडी हेर्न र बुझ्न सक्ने भइसक्ने मानिन्थ्यो । तर ट्रोवका अनुसार अब त्यस्तो हुन छाडेको छ । अन्य शिक्षकहरुले पनि यस्तै अनुभव बताए । 
उत्तर–पश्चिम लण्डनको रुइस्लीप हाई स्कुलमा अङ्ग्रेजी विषयकी प्रमुख स्टेफ्नी कीनोनसँग पनि यस्तै अनुभव छ । उनका अनुसार कक्षा नौं, दश र एघारका विद्यार्थीहरुले सुईवाला घडी नबुझेको देखिएपछि हाल उनको स्कुलको परीक्षा हलमा डिजिटल घडी राखिएको छ ।
नयाँ प्रविधिले नयाँ पुस्तामा पारेको प्रभावबारे अझ झस्काउने खबर यो वर्षको शुरुमा एक वरिष्ठ बालरोग डाक्टरले दिए । बालरोग डाक्टर स्याली पाइनले साना बालबालिकाहरुले धेरै ममय मोबाइल र ट्याब्लेटमा बिताउनाले उनीहरुलाई पेनसिल र पेनहरु प्रयोग गर्न अफ्ठ्यारो हुन थालेको चेतावनी दिइन् । 
स्यालीले भनिन्, “पेनसिललाई समाएर लेख्नको लागि औंलाहरुको ससाना मांसपेशीहरुको बलियो पकड आवश्यक पर्छ । बालबालिकाहरुलाई यो सिप विकास गर्नको लागि लामो समय लाग्छ । ” 
स्यालीले यो समस्या बारेमा थप भनिन्, “आजकल बच्चाहरुलाई मांसपेसीको विकास हुने खेल वा अभ्यास गराउने भन्दा मोबाइल दिन सजिलो मानिन्छ । यही कारणले उनीहरुमा पेन्सिल समाउने र अक्षर मोड्ने जस्तो आधारभुत सीपको विकास हुन पाएको छैन् ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप