शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा गणतन्त्रको सपना देख्नेहरु

सोमबार, ०७ जेठ २०७५, ०८ : ४८
सोमबार, ०७ जेठ २०७५

राजकुमार ह्यारी र मेघन मर्केलको विवाहको भव्यता र उत्सवभन्दा केहीमात्रै पर लण्डनमा एक राजतन्त्रविरोधी समूह आफ्नै हिसाबमा यो अवसरलाई मनाउन एकजुट भए ।

शनिबार लगभग १३० मानिसहरु लण्डनमा आयोजना भएको अन्तर्राष्ट्रिय गणतान्त्रिक सम्मेलनमा सहभागी भए । यो चार दिने भेलालाई युरोपेली गणतान्त्रिक अभियानका लागि गठबन्धनले आयोजना गरेको हो ।

स्पेन, नेदरल्याण्ड, डेनमार्क, स्वीडेन र संयुक्त अधिराज्यका प्रतिनिधिहरुको उपस्थित रहेको यो सम्मेलनमा सहभागीहरुले उपस्थित दर्शकहरुमाझ राजतन्त्रविरोधी सम्बोधन गरे । 

तर, केही टाढा भइरहेको शाही उत्सवमा भएका सहभागीहरुको तुलनामा सम्मेलनमा निक्कै कम मानिसहरुको उपस्थिति थियो । तर, उपस्थितहरुले प्रदर्शन गरेको उत्साहमा भने कुनै कमी भने थिएन ।

“राजतन्त्रमा अभिजातवादी गुण हुन्छ जुन निक्कै अन्यायपूर्ण व्यवस्था हो,” संयुक्त अधिराज्यकै अर्को कुना डोरकिङ्गबाट भेलामा सहभागी हुन आएकी इरीन पिन्नरले भनिन्, “उनीहरु(शाही परिवार)ले मेरो प्रतिनिधित्व गर्दैन ।”

कुनै समय रानीप्रति प्रतिबद्धताको सपथ खाएका पूर्व बेलायती सेना डेभिड हस्र्टले भने, “यो(शाही प्रणाली) निक्कै समय गुर्जिएको व्यवस्था हो...तर पनि यो देशमा मानिसहरु रानीलाई उच्च शक्ति जसरी हेर्छन् ।”

यो भेलाको आयोजक र लामो समयदेखि बेलायतमा निर्वाचित राज्य प्रमुखको लागि अभियान चलाइरको ‘रिपब्लिक’ समूहका अनुसार यो सम्मेलनले राजतन्त्र हटाउनेबारेमा तर्कहरु प्रस्तुत गर्ने बताए ।

“हामीले यो विवाहको होहल्ला पन्छाएर गम्भिर मुद्दाहरुमा केन्द्रित हुनुपर्छ,” रिपब्लिकनका प्रमुख कार्यकारी ग्राहम स्मिथले अल जजिरालाई भने, “राजतन्त्र अनैतिक र गैरलोकतान्त्रिक व्यवस्था हो ...अब यसमा सुधार गर्ने समय आएको छ ।”

रिपब्लिक अफ ब्रिटेन ?

तथापि गणतन्त्रको पक्षमा व्यापक समर्थन जुटाउनु कठिन कार्य देखिन्छ ।

बेलायत संसदीय लोकतन्त्र र संवैधानिक राजतन्त्र प्रणाली अन्तर्गत सञ्चालन हुन्छ । यहाँ राजनीतिज्ञहरु चुनिन्छ भने रानी एलिजाबेथ द्वितीय जहानीय राज्य प्रमुख हुन् ।

इप्सोस मोरीले गरेको अनुसन्धान अनुसार पछिल्लो ३० वर्षमा यो प्रणालीको अन्त्यको पक्षमा २० प्रतिशतभन्दा बढी समर्थन कहिले बढेको छैन । अघिल्लो हप्ता रिपब्लिक आफै र युगभले सञ्चालन गरेको सर्बेक्षणले ६०% बेलायती नागरिकहरुले रानी मन पराउने देखायो ।

त्यस्तै युगभले अलग्गै गरेको सर्बेक्षणले बेलायतको जनसङ्ख्याको प्रत्येक उमेर समूहमा राज परिवारप्रति बलियो समर्थन रहेको देखाएको छ ।

राजतन्त्र समर्थक ब्रिटीस मोनार्किस्ट सोसाइटी एण्ड फाउण्डेशनको वरिष्ठ प्रवक्ता एलेक्जेन्डर शइलरका अनुसार शाही परिवारले पर्यटन, व्यापार र आन्तरिक लगानीमार्फत संयुक्त अधिराज्यलाई कुल वित्त नाफा गराइरहेको छ ।

यूके व्यापार मुल्याङ्कन परामर्शदाता ‘ब्राण्ड फाइनान्स’को रिपोर्ट अनुसार राजतन्त्रले संयुक्त अधिराज्यको अर्थतन्त्रमा सन् २०१७ मा १.७६ अमेरिकी डलर आय सृजना ग¥यो । 

गणतन्त्रवादीहरु भने यो तथ्याङ्कको सत्यतामा प्रश्न गर्छन् । उनीहरु शाही परिवारका सदस्यहरुको सुरक्षा र भ्रमणको खर्च र बकिङ्गहम दरबारजस्ता सम्पत्तिको मर्मतसम्भारमा करदाताहरुको पैसा खर्च भएको औंल्याउछन् ।

स्कटीश नेशनल पार्टीका एक सांसद र लामो समयदेखिका गणतन्त्रवादी टम्मी शेप्पार्डले गणतन्त्र स्थापना भएपछि पनि अहिलेको शाही परिवारले ‘सार्वजनिक जीवनमा भूमिका निभाउन सक्ने’ बताए ।

गणतन्त्रको खर्च अहिलेभन्दा बढी पर्ने भन्ने राजतन्त्र पक्षधरहरुको तर्कमा शेप्पर्डले भने, “जनताले आफ्नो राज्य प्रमुख चुन्न पाउनुपर्ने अधिकार लागि हुने वित्तिय खर्च वा फाइदा हेर्न हुँदैन ।”

कठिन भविष्य

शनिबारको यो अधिवेशनमा यो खालको तर्क सुन्ने उत्सुक दर्शकहरुको उपस्थिति भए पनि बेलायती सर्वसाधरणलाई गणतन्त्रको पक्षमा सहमत गराउनु लामो समय लाग्ने देखिन्छ ।

साउथब्याङ्क सेन्टरमा सयौँ मानिसहरु शाही विवाहलाई ठूलो पर्दामा हेर्नको लागि उपस्थित थिए । शाही जोडीले विवाहको कसम पुरा गरेपछि उनीहरु सानो बेलायतको झण्डा हल्लाएर खुसी व्यक्त गरेका थिए ।

बेलायतको उत्तरी भागमा रहको न्यू क्यासलबाट आफ्नो ब्यायफ्रेन्ड जेम्ससँग विवाह हेर्न आएकी मारिया योनेडाले भनिन्, “मलाई लाग्छ यसले मानिसहरुलाई एक ठाउँमा ल्याउँछ ।” 

नजिक्कै रहेकी डान फेरीसले राजकुमार विलियमको मुकुण्डो लगाएकी थिए ।

“शाही परिवार बेलायती परिचयको हिस्सा हो,” उनले भने,“म शाही परिवारप्रति गर्व गर्छु ।”

तर पनि रिपब्लिकका प्रमुख स्मीथ यस कुरालाई मतलब गर्दैनन् । उनी राजतन्त्र प्रणालीको अन्त्यको लागि लागि रहने बताउँछन् ।

स्मीथ रिपब्लिकको हालसालैको युगोभ सर्भेक्षणबाट उत्साही छन् । त्यस सर्वेक्षणमा धेरै बेलायती नागरिकहरु रानी प्रति सकारात्मक भए पनि उनको छोरा र उत्तराधिकारी चाल्र्स निक्कै बेलायतीमाझ अलोकप्रिय रहेको देखाएको थियो ।

उनले ६०% ले रानी मन पराएको भनेर देखाएको सर्वेक्षणको अर्को तथ्यतर्फ पनि औल्याए । त्यसमा एक तिहाईले मात्र रानीले कुनै उल्लेख्य काम गरेको लागेको बताएका थिए भने ६६% ले आफूलाई शाही विवाहको कुनै मतलब नभएको बताएका थिए ।

“राजतन्त्रको पक्षमा देखिएको यो उच्च समर्थन खोक्रो छ,” स्मीथले भने “अधिकांश मानिसहरु यथास्थितिमै खुसी छन् । उनीहरुलाई त्यति मतलब छैन ।” 

“हामीले तिनैलाई बुझाउन सक्नुमा हाम्रो सफलता निर्भर गर्छ,” उनले भने ।

तर, त्यसो नभएसम्म भने बेलायती राजतन्त्र गइहाल्ने देखिदैन ।

अलजजिराबाट श्रवण उप्रेतीद्वारा अनुवाद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप