शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फरएभर इनियेस्टा : बार्सिलोनाका लिजेन्डको भावुक बिदाई (फोटोफिचर)

सोमबार, ०७ जेठ २०७५, ०८ : ३१
सोमबार, ०७ जेठ २०७५

बार्सिलोना । बार्सिलोनाका कप्तान आन्द्रेस इनियेस्टाले आइतबार क्लबका लागि अन्तिम खेल खेलेका छन् । 

क्लबका लागि इनियेस्टाको अन्तिम खेलमा बार्सिलोनाले सोसिडाडलाई १–० गोलअन्तरले हराउँदै उनलाई बिदाई गरेको हो ।

३४ वर्षीय स्पेनिस मिडफिल्डरले यो सिजनको अन्त्यमा क्लब छाड्दैछन् । पछिल्लो १६ वर्ष सिनियर टोलीमा बिताएका इनियेस्टाले २२ वटा मेजर उपाधि जितेका छन् ।

खेलअघि बार्सिलोनाका फ्यानहरुले उनको सम्मानमा ‘फरएभर इनियेस्टा’ को ब्यानर बनाएका थिए ।

खेलमा रियल सोसिडाडले बार्सिलोनालाई लामो समय रोके पनि लिभरपुलका पूर्व स्ट्राइकर फिलिपे काउन्टिन्होले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

इनियेस्टालाई खेलको ८२ औँ मिनेटमा सब्सिटिट्युट गरिएको थियो । क्याम्प नाउले तालीको गडगडाहटका साथ उनको बिदाई गर्दा उनले आफ्नो आँशु रोक्न सकेका थिएनन् ।

खेल सकिएपछि पूरै स्टेडियमको बत्ती बन्द गरिएको थियो । त्यसपछि उज्यालो पारिएसँगै बार्सिलोनाका खेलाडीहरु इनियेस्टाको सर्ट लगाएर उनलाई गार्ड अफ अनर दिएका थिए ।

त्यसपछि इनियेस्टाले ला लिगा र कोपा डेल रेको ट्रफी उचालेका थिए । उनले एकै सिजन यी दुई उपाधि जितेको चौँथो पटक हो ।

‘यो निकै अप्ठ्यारो दिन हो तर यहाँ मैले उत्कृष्ट २२ वर्ष बिताएको छु,’ भावुक बनेका इनियेस्टाले भने, ‘यो ब्याजको रक्षा र प्रतिनिधित्व गर्नु मेरो गर्वको विषय हो ।’

आफ्ना सबै समकक्षीलाई धन्यवाद दिँदै इनियेस्टाले भने, ‘म सबैलाई मिस गर्नेछु । र, सबै फ्यानहरुलाई धन्यवाद, तपाईंहरुको मायाको लागि र एउटा सानो केटोको रुपमा यहाँ आएपछि तपाईंहरुले मलाई दिनुभएको सबै कुराको लागि । यो कुरा मेरो मुटुमा सँधै रहिरहनेछ ।’

फरएभर इनियेस्टा
१२ वर्षको उमेर बार्सिलोनाको युवा टोलीमा आबद्ध भएका इनियेस्टाले क्लबसँगको २२ वर्षे सहकार्यमा सिनियर टोलीका लागि ६७४ खेल खेले । उनीभन्दा अघि उनका पूर्व समकक्षी ज्याभी हर्नान्डेज मात्र रहेका छन् जसले बार्साका लागि ७६७ खेल खेलेका छन् ।

उनी ९ ला लिगा, ४ च्याम्पियन्स ट्रफी, ३ क्लब विश्वकप र ६ कोपा डेल रेको उपाधि जित्ने बार्साको टोलीका सदस्य रहे ।

यो सिजन बार्सा झण्डै अपराजित रहँदै ला लिगाको पूरा सिजन सकेको थियो । तर, एक खेल बाँकी छँदा लेभान्तेसँग ५–४ ले पराजित हुन पुगेको थियो ।

बार्सिलोनापछि इनियेस्टाले चिनियाँ सुपर लिगमा खेल्ने चर्चा छ । तर, उनले यसबारे औपचारिक जानकारी दिएका छैनन् ।

अब उनको ध्यान रसियामा हुने आगामी विश्वकपमा हुनेछ । सोमबार स्पेनले आफ्नो टोलीको घोषणा गर्दैछ ।

स्पेनका लागि १२९ खेल खेलेका इनियेस्टाले सन् २०१० को फाइनलमा विजयी गोल गरेका थिए भने स्पेनसँग उनले सन् २००८ र २०१२ को युरोपियन च्याम्पियनसीपको उपाधि हात पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप