शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन

आइतबार, ०६ जेठ २०७५, १५ : ४३
आइतबार, ०६ जेठ २०७५

रसुवा– रक्षामन्त्री ईश्वर पोखरेलले आज स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन गरेका छन् ।  नेपाली सेनाद्वारा निर्माण भएको १७ किलोमिटर दूरीको उक्त सडक मन्त्री पोखरेलले मैलुङमा उद्घाटन गर्दै भौगोलिक रुपले अति विकट रहेको क्षेत्रमा सरकारले तोकेकै समयभित्रै सडक निर्माण सम्पन्न गर्ने नेपाली सेना र नेपाली सेनाका सबै दर्जाका जवान तथा अधिकृतलाई धन्यवाद दिए । 
२५किमी छोटियो 
गल्छीदेखि सदरमुकाम धुञ्चेदेखि रसुवागढीसम्मको अन्तर्राष्ट्रिय राजमार्ग १०६ किमी रहेकामा नवनिर्मित सडकखण्ड खुलेपछि २५ किमी घटी ८१ किमीमा आउनेछ । गल्छीदेखि स्याफ्रुबेंसीसम्म भने साविकमा ९० किमी भएकामा अब ६५किमी हुनेछ । चट्टान नै चटन भई भौगोलिक विकट सो स्थानमा विसं २०७२ वैशाख १देखि सो सडकखण्ड निर्माण शुरु भई गत चैत ३० गते निर्माण सम्पन्न भएको थियो । 

नेपाली सेनाले मार्ग खोलिसकेको स्याफ्रु–मैलुङ सडकखण्डमा अब छिट्टै थप व्यवस्थापनका काम सरकारले अघि बढाई नेपाल–चीनको व्यापार अघि बढाउने छ । 

कार्यक्रममा नेपाली सेनाले निर्माण गरेको उक्त सडक आजै सडक विभागलाई हस्तान्तरण गरिएकोे छ । सडक निर्माणको लागत रु ७० करोड ६९ लाख ९० हजार रहेको नेपाली सेना सडक निर्माणका प्राविधिक सेनानी सञ्जय केसीले बताए । सडक निर्माणमा नेपाली सेनाका सबै दर्जालाई प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद दिनुभएको सन्देश रक्षामन्त्री पोखरेलले जनसमुदायमाझ जानकारी दिए ।

 उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, अर्थमन्त्री डा.युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेल, सडक विभागका महानिर्देशक गोपाल सिग्देलसमेतको सहभागिता थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप