शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मो भर्सेस सीआर सेभेन : इजिप्सियन किङले भत्काउँलान् रियलको राज ?

आइतबार, ०६ जेठ २०७५, १५ : १४
आइतबार, ०६ जेठ २०७५

काठमाडौँ । आगामी शनिबार हुने च्याम्पियन्स लिगको फाइनल खेलअघि क्रिस्टियानो रोनाल्डो एउटा व्यक्तिगत उद्देश्य लिएर मैदानमा उत्रने छन् जुन तीन वर्षअघिसम्म सपनाजस्तै थियो । त्यो हो, उनी सबैभन्दा धेरै युरोपियन कप जित्ने खेलाडी बन्ने ।

पाको गेन्टोले बनाएको ६ वटा युरोपियन कपको किर्तिमान पछिल्लो समय रोनाल्डोले निकटस्तहरुबीच चर्चा गर्ने गरेका छन् ।

दुई हप्ताअघि क्याम्प नाउमा घाइते हुँदै बाहिरिएका रोनाल्डो शनिबार हुने खेलमा शत प्रतिशत तयार छन् भन्ने कुरा भिल्लेरियालविरुद्धको खेलपछि प्रमाणित गरिसकेका छन् । त्यस्तै रियल म्याड्रिडकै जर्सीमा सन् १९५६ देखि लगातार ५ पटक र त्यसपछि सन् १९९६ मा अर्को युरोपियन कप जितेका गेन्टोको किर्तिमान भंग गर्ने दाउमा आफू रहेको कसैबाट लुकाएका छैनन् ।

रोनाल्डोले हालसम्म ४ वटा च्याम्प्यिन्स लिगको उपाधि जितेका छन् । शनिबार किएभमा विजयी भए उनले लियोनेल मेस्सीलाई उछिन्नेछन् भने अल्फ्रेडो डि स्टेफानो र पाउलो माल्दिनीसँग किर्तिमान बराबरी गर्नेछन् ।

एल एक्युपेसँग गत हप्ता कुरा गर्दै रोनाल्डोकी आमा डोलोरेस एभिएरोले भनिन्, ‘केही खेलाडीहरु ३७ वर्षसम्म खेल्छन् । रोनाल्डो मेसिन होइनन् तर उनी जबसम्म सक्छन् त्यतिबेलासम्म खेल्नेछन् । मलाई लाग्छ उनले अझै तीन–चार वर्ष फुटबल खेल्नेछन् ।’

एउटा आत्मकथा र १४ लाख इन्सटाग्राम फलोअर रहेकी उनी आफै पनि स्टार हुन् र रोनाल्डोको परिवारकी मुखिया पनि । रोनाल्डोको खेल जीवनलाई अझ लम्ब्याउने चाह र उनको भनाईले पक्कै पनि मेल खान्छ ।

रोनाल्डोका एजेन्ट जर्ज मेन्डेजले पनि रोनाल्डो ३० को अन्त्यसम्म खेल्ने बताउँछन् । पछिल्लोपटक  करार गर्दा पनि रोनाल्डो आफैले ३९ वर्षको उमेरसम्म खेल्ने बताएका थिए ।

गत सिजन च्याम्पियन्स लिग दिलाएबापत म्याड्रिडले उनलाई नेयमार र मेस्सी जत्तिकै आम्दानी गर्ने नयाँ करार दिने बाचा पूरा नगरेको भन्दै रोनाल्डो सिजनको शुरुवातमा असन्तुष्ट थिए । क्लबले यदी नेयमारलाई किन्ने अवसर पाएको भए, त्यतिबेला रोनाल्डोलाई बिदा गर्ने थियो ।

तर, यो सिजन उनको गोलको मद्दतले रियल युक्रेनमा हुने फाइनलमा पुगेको छ र नयाँ करारको छलफल जारी रहेको छ । बोनससहित मेस्सीको आम्दानी करिब ४ करोड पाउण्ड पुग्छ । रियल म्याड्रिडले त्यतिनै रकम नदिए पनि रोनाल्डोको आम्दानी ३ करोड पाउण्डसम्म पुग्ने अनुमान गरिएको छ । जुन नेयमारसँग बराबरी हुन आउँछ ।

यति हुँदाहुँदै पनि ३३ वर्षीय खेलाडी आफूलाई महान् खेलाडीको रुपमा विश्वले सम्झियोस् भन्ने चाहन्छन् । उनको ट्रफीको संख्याले पनि उनको चाहनालाई समर्थन गर्दछ ।

शनिबार उपाधि जिते रियलले पछिल्लो पाँच वर्षमा चौँथो पटक उपाधि जित्ने छ र आयाक्स र बायर्न म्युनिखपछि लागतार तेस्रो उपाधि जित्ने क्लब बन्नेछ ।

उता, लिभरपुलका प्रशिक्षक जर्गन क्लप भने अफर आयो भने पनि आफ्नो टोलीमा मोहमद शलाहको साटो क्रिस्टियानो रोनाल्डो नलिने बताउँछन् ।

किएभमा हुने फाइनल शलाह भर्सेस रोनाल्डो हुने पक्का छ ।

प्रिमियर लिगमा वर्षको उत्कृष्ट खेलाडी घोषित शलाहले एनफिल्डको आफ्नो डेब्यु सिजनमा ४४ गोल गरेका छन् । उता, पाँच पटकका बालोन डिओर विजेता रोनाल्डोले ४३ गोल गरेका छन् ।

‘दुवैलाई एउटा टोलीमा राख्नुपाए निकै राम्रो हुने थियो । तर, अहिलेको लागि म अहिलेको स्थिति साट्दिँन,’ क्लपले भने, ‘उनीहरुको आ–आफ्नै क्षमता छ । को राम्रो हो भन्दा पनि कसले राम्रो फुटबल खेल्ने कुरा महत्वपूर्ण हुन्छ । यसको लागि अरुको पनि साथ चाहिन्छ ।’

यदी लिभरपुलले रियलको अधिपत्य अन्त्य गर्यो भने बालोन डि’ओरमा रोनाल्डो र लियोनेल मेस्सीको १० वर्षको अधिपत्य पनि तोड्नका लागि शलाह बलियो दाबेदार हुनेछन् ।

दुई खेलाडीबाहेक पछिल्लो पटक ब्राजिलका काकाले सन् २००७ मा यो उपाधि जितेका थिए ।

‘शलाहले यो सिजन उत्कृष्ट खेले तर क्रिस्टियानाले यसरी पछिल्लो १५ सिजनदेखि खेल्दै आएका छन् । यो अद्भूत हो,’ क्लपले भने ।

‘किन एक अर्कालाई तुलना गर्ने ?,’ क्लपले थपे, ‘पेले खेल्दा उनलाई अन्य खेलाडीसँग तुलना गरिँदैन थियो । उनलाई ‘ऊ अर्को जतिको राम्रो छ ?’ भनेर पनि सोधिँदैन थियो ।’

उनले अहिले थुप्रै उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि मेस्सी र रोनाल्डोले विश्व फुटबलमा अधिपत्य जमाएको बताए ।

‘मेस्सी र रोनाल्डो अन्तिममा सही समयमा सही ठाउँमा हुन्छन् र गोल गर्छन् । यो विश्वमा सबैभन्दा अप्ठ्यारो कुरा हो । त्यही भएर उनीहरु त्यो ठाउँमा छन्,’ क्लपले भने, ‘उनीहरुबीच सँधै बालोन डि’ओरका लागि प्रतिस्पर्धा हुनेगर्छ । यदी उनीहरुले फुटबल खेल्न छाडे भने हामी सबै उनीहरुलाई मिस गर्ने छौँ, शत प्रतिशत ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप