केन्द्रीय संस्करण

राणाको जीवन यसरी पुग्यो सडकमा

person access_timeजेठ ६, २०७५ chat_bubble_outline0

नेताजीसँग एउटा कुरा गर्नुथियो, उनले भने । 

के कुरा भन्नुस् न ? मैले भनेँ । 

यहाँ मान्छे छन्, सबैको अगाडि कसरी भनौँ । 

भरे बेलुकीतिर भेटेर भन्छु । 

मलाई चासो लाग्यो । यसो छुस्स भन्नुस् न ! साउती मार्दै मैले भनेँ । 

घरव्यवहारको कुरा हो, नेताजी । 

कस्तो घरव्यवहार ? 

‘घरमे सिदहा नै छे (घरमा खाने चामल छैन)... ।’ मलाई ख्यालठट्टा जस्तै लाग्यो । 

उनले फेरि गम्भीरतापूर्वक दोहो¥याए । हो, नेताजी साँच्चै नै भनेको । 

म एकछिन अक्क न बक्क भएँ । 

बेलुकातिर आउनुस्, मैले सकेको सहयोग गर्छु भनेँ । हिजो उसको घरमा पुगेको बेला श्रीमतीले गहुँको पिठो मुछ्दै गरेको देखेको थिएँ । छोरा विद्यालय जान ‘बुबा मेरो चप्पल चुँडिएको छ । हजुरकै चप्पल लगाएँ है’ भन्दै फित्तावाल चप्पल लगाएर गएको देखेँ । 

एक वर्ष अगाडि उनको जीवनमा एक्कासि यस्तो परिवर्तन आएको देखेर म छक्क परेँ । उसले मसँग चामल, कपडा र बल्याङ्केट मागेको दिन लिन आइपुगेन । भोलिपल्ट मात्र आइपुग्यो । 
नमस्कार नेताजी, उनले भने । 

मैले सौहार्दपूर्ण रूपमा नमस्कार फर्काएँ र भनेँ ‘के छ त राणाजी ?’

ठिकै छ, हिजो भनेको थिएँ नि । 

त्यही त छ समस्या नेताजी, उनले हाँस्दै भनेँ । 

‘एकछिन पर्खिनुस्’ भनेँ । 

कोठाबाट उनलाई बस्ने कुर्सी निकालिदिएँ । उनी कुर्सीमा बसेर स्थानीय मान्छेहरूसँग बात मार्न थाले । 

एकछिन गफ गर्दै गर्नुस्, म बजार पुगेर आउँछु भनेँ । हस्, हुन्छ भने । 

बाइक लिएर म बजार चामलको गोदामतिर लागेँ । रु १२५० तिरेर एक बोरा चामल ल्याएँ । बेलुका अँध्यारो भइसकेको थियो । सँगै बसेर खाना खायौँ । राणाले अघाउन्जेल खाए । केही दिनदेखि उनले भात खाएकै रहेनछन् जस्तो लाग्यो । उनका लागि ल्याएको चामल र केही कपडा दिएर बिदाइ गरेँ । आज घरमा सबैले चामलको भात खाने भए नेताजी । धन्यवाद छ, हजुरलाई, तपाईंप्रति अभारी छु । भोलि भेट्छु, अहिलेलाई नमस्कार भन्दै राणा खुशी हुँदै घरतिर गए ।

चिनाजान भएको एक वर्ष मात्र हुँदैछ । तर उनको अनुहारमा जस्तोसुकै कठिनाइमा उनको मैले कहिल्यै हाँसो सुकेको देखेको छैन । उनी हुन्– सूर्य बिक्रम राणा । राणा अहिलेको सुरुङ्गा नगरपालिका–१० मा जन्मिका थिए । माओवादी जनयुद्धको क्रममा शान्ति सुरक्षाका लागि २०५९ सालमा सिरहाको लहान आएका थिए । आमाले किनिदिएका एक कठ्ठा जग्गामा उनी घर बनाएर बसे । ३० लाखमा त्यो घर बेचेर जेठी छोरीको बिहे गरिदिए । बाँकी पैसाले साइडमा एक कठ्ठा जग्गा फेरि किने र घर बनाए । अहिले त्यो घर पनि छैन । 

सालालाई समस्या पर्दा श्रीमतीको नाममा रहेको त्यो घरघडेरी सबै  ७ लाखमा जमिल मियाँलाई रजिस्ट्रेसन गरिदिए । अढाई रुपियाँ ब्याजमा लगाएर आफ्नो काम चलाए । 

सालोले पैसा कमाएपछि दिदी भिनाजुलाई घर छुटाई दिने वाचा गरेका थिए । तर सालोले घर छुट्याउन सकेनन्  । ६, ७ वर्षमा ७ लाखको सावाँ  ब्याजसहित ७० लाख भएको महाजनले जनाए ।
राणासँग घर छुटाउने हैसियत नै भएन । घर खालि गर्ने पटक पटक धम्की आयो । घर खाली गर्न विवश भए । यसरी उनी घरबारविहीन भए । जग्गा दलालहरूसँग राणाको सङ्गत भयो । राणासँग धेरै जग्गा देखेर जग्गा दलालहरू राणाको पछि कहिल्यै छोडेन । थरीथरीका जग्गा दलालहरूले राणालाई लुछाचुँडी गर्नथाले । तर उनी आफ्नै जग्गाबारे धेरै अनभिज्ञ थिए । आफू जन्मे हुर्केको टिकुलिया पटेर्वामा भएको सबै सम्पत्ति अरूले नै कब्जा गरे । 

द्वन्द्वकालमा स्थानीय एक माओवादी कार्यकर्ताले अपहरण गरी सिरहाको इँटाटार कमलपुर लगे । पाँच लाख सहयोग मागे । उनले दिन सकेनन् । राणालाई यातनाले अब बाँच्न सक्दिनँ भन्ने लागेको थियो तर बाँचे छन् । पैसा दिन नसकेपछि तीन दिनमा उनलाई गाउँकै माओवादी कार्यकर्ता भन्दै हिँड्ने एकजनाले घर फिर्ता गराएका थिए । राणाले त्यसको नाम भन्न चाहेनन् । उनी डुब्लिकेट माओवादी रहेछन्, पछि मात्र आफूलाई थाहा भएको बताए । त्यसपछि उनको परिवार लहान छिरेको थियो ।

पटेर्वामा उनको तीन सय बिघा पुख्र्यौली जग्गा थियो । त्यसमा मामा पक्षकाले आमा कृष्णमाया राणालाई ६२ बिघा जग्गा खौंछ (दान) मा दिएका थिए । अहिले त्यो जग्गाको एकधुर पनि छैन । बाँकी रहेका जग्गा पनि मुलुकको विभेदजन्य राजनीतिले खायो । मधेसी पहाडी साम्प्रदायिक प्रभावले उजाड बनायो । राणालाई जसले पनि थर्काउने भए । मधेसका सशस्त्र समूहदेखि भू–माफिया र जग्गा दलालहरूले समेत उनलाई छाडेनन् । राणालाई घर न घाटको बनाए । 

समयको दोष भनौँ या आफ्नै विश्वासघातको कारणले भनौँ अहिले उनी कसैले नपत्याउने जीवन बाँच्न विवश छन् । नबुझ्ने मान्छेहरू नाटक भनिरहेका छन् । 

आफूत मधेसमै जन्मे हुर्केको छु । बोलीमा नेपालीभन्दा मैथली नै टोन छ । तर के गर्नु मधेसमा पहाडी, पहाडमा जाँदा मधेसी भएर हेपिएको छु । हामी न यता न उताको भएका छौँ । आफ्नै नातागोता र आफन्तले पनि यिनीसँग सम्पत्तिको कुनै कमी छैन् भन्छन्, पत्याउँदैनन्  । उनले एउटा मैथली भाषाको उखान भने– ‘कलालक बेटा भुखे मरै त दारूवे पिके मातल कहै’ (रक्सी बनाउने जातिको छोरो भोकभोकै मरिरहँदा पनि रक्सी खाएरै मातेका भन्छन्) । 

राणाहरुले आफ्नो शासनकालमा देशको विभिन्न ठाउँमा मोजेदारका रूपमा रहेका राणाहरू जनतासँग कर लिन्थे । कर तिर्न नसके जमिन जमानत हुन्थे । उतिवेला सिरहा सप्तरीका मोजेदारहरूले जनतासँग कर असुलेर बैलगडामा अन्न बोकेर सप्तरीको हनुमान नगरमा रहेको तत्कालीन सरकारलाई बुझाउन जान्थे । 

मधेस आउनुअघि सूर्यविक्रम राणाका बुबा शिवविक्रम राणा, ठूलो बुबा धर्मविक्रम राणा र काका विष्णुविक्रम राणा ठमेलमा बस्थेँ । उनीहरू तीनै दाजुभाइ कम उमेरका थिए । राणाहरूमाथि आक्रमणको कुरा सुनेर पटेर्वाका शंकर चौधरी, फनी मुसहर, हजारी साह, सिताराम साह, चुवा अधिकारी थारूहरू बाटो खर्च नुन, खुर्सानी, सातु र चिउरा बोकेर १० दिन पैदल हिँडेर तीनै जना दाजुभाइलाई लिन ठमेल पुगेका थिए । हजारी साह र शंकर चौधरी त्यसअघि २ पटक ठमेल पुगेकाले घर खोज्न सहज भएको थिए । उनीहरूले राणालाई आफ्नो सम्पत्ति भोग गर्न जान आग्रह गरेपछि तीनै जना दाजुभाइ उनीहरूसँगै १० दिन हिँडेर सप्तरीको पटेर्वा आइपुगेका थिए । 

केही महिना तीनै जना दाजुभाइ पटेर्वामै घर बनाएर बसे । स्थानीयले उब्जाएर खाइरहेको जग्गाको कुतबाली उठाएर जीविकोपार्जन गर्न थाले ।

केही समयपछि राणा र त्रिभुवनबीचको द्वन्द्व समान्य भएपछि तीनै दाजुभाइ काठमाडौं, ठमेल फर्किने निधो गरे । तर सूर्यविक्रमका बुबा शिवविक्रम राणाले काठमाडांै नफर्किने फैसला गरे । उनी मधेसी समुदायमा राम्रोसँग घुलमिल भएर बसे । पटेर्वाका मधेसी जनता र त्यहाँका संस्कार संस्कृतिसँग लोभमा परे । पटेर्वा छोडेर अरूतिर जान मन मानेनन् । 

पछि दुई भाइ जेठो धर्मविक्रम राणा र कान्छो विष्णुविक्रम राणा माइलो शिवविक्रम राणालाई पटेर्वाको सबै सम्पत्ति रेखदेखको जिम्मा लगाएर काठमाडौँ हानिए । सूर्यविक्रमका बुबा शिवविक्रम राणा एक नम्बरको जँड्याहा भए । थुप्रै सम्पत्ति जाँड रक्सी खाएर उडाए । उनी त्यहीँकी विष्णुमाया राणासँग विवाह बन्धनमा बाँधिए । शिवविक्रमका ३ छोरी सुमित्रा उप्रेती, नितु अधिकारी, शोभा कार्की र १ छोरा सूर्यविक्रम जन्मिएका थिए । उनीहरू पटेर्वामै जन्मे हुर्के र शिक्षादीक्षा हासिल गरेका थिए ।

अहिले सूर्यविक्रम राणा सप्तरी सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरमा पुगेका छन् । आफन्तहरूसँग एक लाख पचास हजार सापटी लिएर एक कठ्ठा जग्गा किनेका छन् । त्यही जग्गामा स्थानीयको सहयोगमा सानो घर टहरा निर्माणमा जुटेका छन् । मधेसी पहिरणमा सजिरहने राणा, घरटहरा निर्माणका लागि कम्मरमा लुङ्गी भिरेर गोबर माटो मुछिरहेको दृश्य भेटिन्छ । यतिबेला दुवै बुढाबुढी विगतका सुखदुःख स्मरण गर्दै टहरामा माटो टालिरहेका छन् । यो अवस्थामा आउँदा  पनि उनीहरुलाई कुनै पश्चाताप छैन । कुनै लाज र धक मानेका छैनन् । उनले यसलाई समयको खेलको संज्ञा दिए । जीवन त जीवन हो ।

जस्तोसुकै विपत्ति आइपरे पनि सहजतापूर्वक पचाउनु पर्दो रहेछ । पुर्खा करोडपति भए पनि उनका सन्तान रोडपति हुन सक्ने रहेछन् । यो सबै समयको खेल रहेछ । त्यसैले हरेक मान्छे आफ्नो जीवनलाई सहज रूपमा लिनुपर्छ । धन सम्पत्तिभन्दा ठूलो मानिसको व्यवहार हो । यसलाई कसैले निर्मूल गर्न र लान सक्दैनन्– उनले भने । अझै पनि बिघौंजग्गा उनको मालपोत छुटमा परेका छन् । स्थानीयले कब्जा गरेर धनी भएका छन् । वर्षौं भयो राजविराजका अड्डाहरू धाइरहेको छु, जीवन धान्नका लागि थोरै न्याय पाउँछु कि भनेर । तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ