मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कप फाइनलमा पहिलो पटक मोरिन्हो पराजित, चेल्सी बन्यो एफए कप च्याम्पियन

आइतबार, ०६ जेठ २०७५, ०८ : ५८
आइतबार, ०६ जेठ २०७५

लण्डन । एडिन हजार्डले पहिलो हाफ गरेको निर्णायक पेनाल्टीको मद्दतले चिरप्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई हराउँदै चेल्सीले एफए कपको उपाधिमाथि कब्जा जमाएको छ ।

योसँगै युनाइटेड र जोसे मोरिन्हो यो सिजन उपाधिविहीन बनेका छन् ।

खेलको २२ औँ मिनेटमा डिफेन्डर फिल जोन्सले फल हानेपछि पाएको पेनाल्टीलाई हजार्डले गोलमा परिणत गरेका थिए । खेलमा यो गोल नै निर्णायक बन्न पुग्यो ।

खेलको दोस्रो हाफमा भने युनाइटेडले खेलमा सुधार गर्दै चेल्सीमाथि दबाब राखे पनि गोल फर्काउन सकेन ।

एलेक्सिस सान्चेजको गोल अफसाइड भन्दै रद्द गरिएको थियो जसमा रेफ्री माइकल ओलिभरले भिडियो एसिस्टेन्ट रेफ्रीको सहरा लिएका थिए ।

त्यस्तै, चेल्सीका गोलकिपर थियाबट कोर्टवाले युनाइटेडका धेरै प्रयास विफल बनाए ।

खेलको अन्त्यतिर पाउल पोग्बाले गोलको निकै सुन्दर अवसर गुमाएका थिए ।

यो खेल चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेको अन्तिम खेल पनि हुनसक्छ । यो सिजनपछि उनले क्लब छाड्ने चर्चा छ । अघिल्लो सिजन उनले चेल्सीलाई लिग उपाधि दिलाएका थिए ।

खेलपछि कोन्टेले भने, ‘म सन्तुष्ट छु किनभने आज निकै असहज थियो । युनाइटेडजस्तो एउटा बलियो टिमविरुद्ध जित निकाल्दै एफए कप जित्नु भनेको सन्तुष्ट हुनैपर्छ ।’

उनले अर्को सिजन च्याम्पियन्स लिगमा गुमाउनु दुःखको कुरा भएको स्वीकार गर्दै आफ्नो खेलाडीले यो सिजन सकेजति उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै बचाउ गरे ।

यता, मोरिन्होले आफ्नो खेलाडीले राम्रो प्रदर्शन गर्दागर्दै पनि हारको सामना गर्नुपरेकोमा दुःख व्यक्त गरे ।

इंग्ल्सि क्लबको नेतृत्व गरेर कुनै कपको फाइनल हारेको मोरिन्होले यो पहिलो अवसर हो । यसअघि उनले चार लिग/इफएल कप, एक एफए कप र एउटा युरोपा लिग जितेका थिए ।

यता, चेल्सीको यो आठौँ एफए कप उपाधि हो । चेल्सीअघि युनाइटेड (१२) र आर्सनल (१३) अघि रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप