मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटक तान्दै अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथन

शनिबार, ०५ जेठ २०७५, १९ : ३४
शनिबार, ०५ जेठ २०७५

रसुवा । अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको तेस्रो संस्करणको उपाधि पुरुषतर्फ नेपाली सेनाका खगेन्द्र भाटले हात पारेका छन् । 

शिवलाल गणका पिउठ भाटले तीन घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गर्दै प्रथम हुनुभएको हो । नारायण दल गणका अमल्दार भरत खत्री द्वितीय र सोही गणका सिपाही सुवास कार्कीले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । 

यसैगरी महिलातर्फ सोलुखुम्बुकी निरकला गुरुङ राईले चार घण्टा ५७ मिनेट १३ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गरी प्रथम भएका हुन् । द्वितीयमा सोलुखुम्बुकै पूर्णिमाया राई र सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरकी सरिता बासी तृतीय भएका हुन् । 

म्याराथनका विजेता पुरुष र महिला दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख पाँच हजार, ७८ हजार ७५० र ५२ हजार ५०० सहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको सहआयोजक रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । 

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आयोजना तथा रसुवा– नुवाकोट पर्यटन समाजको सहआयोजनामा भएको उक्त प्रतियोगितामा ९० जना धावक सहभागी थिए । जसमा ३० महिला र पाँच (विदेशीसहित) ६० जना पुरुष रहेका छन् । 

समुद्री सतहबाट तीन हजार ८७० मिटर उचाइको क्याङ्जिङ गुम्बाबाट आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले म्याराथनको उद्घाटन गरेका थिए । 

क्याङ्जिङ गुम्बादेखि शुरु भई घोडातबेला, शेर्पागाउँ, खन्जिम हुँदै स्याफ्रुबेँसीमा पुगेर टुङ्गिएको थियो । रसुवाका सांसद मोहन आचार्यले प्रतियोगिताको समापन गरेका थिए । 

टानले २०७३ देखि लाङ्टाङको अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको आयोजना गर्दै आएको छ । 

म्याराथनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको लाङ्टाङ म्याराथनका संयोजक ऋतु ग्याम्दानले बताए । 

‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताले साहसिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको व्यवसायीको भनाइ छ । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको पर्यटकीय क्षेत्र रसुवाको लाङ्टाङको पुनः निर्माणस्वरुप टानले प्रतियोगिता आयोजना गर्दै आएको छ । 

सगरमाथा र अन्नपूर्णपछि महत्वपूर्ण पदयात्राको गन्तव्य लाङ्टाङमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पु¥याउने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको टानका सञ्चार संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । 

सन् २०१७ मा आठ हजारभन्दा बढी पर्यटक लाङ्टाङ गएको टानले जनाएको छ । गन्तव्य पुग्ने बाटो तथा होटल बन्ने र थपिने क्रम रहेकाले अझै धेरै पर्यटकको पर्खाइमा लाङ्टाङ छ । 

लाङ्टाङ क्षेत्रमा जान विगतमा भन्दा अहिले धेरै सहज भएकाले आन्तरिक पर्यटक पनि त्यसतर्फ आकर्षित हुन थालेका छन् । साहसिक पदयात्रा पर्यटनको महत्वपूर्ण आकर्षण लाङ्टाङको प्रभावकारी प्रवद्र्धन हुन सके यसबाट राज्यलाई लाभ मिल्ने सहज अनुमान गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप