शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपालको व्यापार

शनिबार, ०५ जेठ २०७५, ११ : ४९
शनिबार, ०५ जेठ २०७५

५५ वर्षे एइ एइ थियीन जिविकाको लागि याङ्गुनको उत्तरमा रहेको इन्सेन बजारमा कपाल काट्छिन् । तर अधिकांश हेयरड्रेसर जस्तो उनी आफ्नो ग्राहकहरुसँग पैसा लिदिनन् । बरु उल्टो ग्राहकलाई पैसा तिर्छिन् ।

म्यानमार मानव कपालको मुख्य श्रोत हो । यहाँका कपालले विश्वभरी विग, विभ र हेयर एक्सटेन्सनको माग पु¥याउँछ ।

“म्यानमारको कपाल एकदमै नरम हुन्छन् । त्यसैले एशियामा यहाँको कपालको माग सबैभन्दा धेरै हुने गर्छ,” एइ एइले भनिन् । उनको कपाल स्टल तरकारी व्यापारीहरु र सुपारी विक्रेताहरुको माझमा रहेको छ ।

तथ्याङ्क अनुसार मानव कपालको विश्वव्यापी बजार सन् २०१६ मा लगभग ८ करोड ७४ लाख अमेरिकी डलर रहेको थियो । कपाल निर्यातमा म्यानमार भारत र ट्युनिशियापछि तेस्रो स्थानमा आउँछ ।

म्यानमारमा कपाल पवित्रतासँग पनि जोडिएको छ । यो देशको सबैभन्दा पवित्र बौद्ध धार्मिक स्थल श्वेडागन प्यागोडा बुद्धको कपालमा बनाइएको मानिन्छ ।

यहाँका महिलाहरुले आफ्नो गर्जो टार्नको लागि कपाल काट्नु सामान्य हो । त्यस अतिरिक्त बौद्ध नव वर्षको अवसरमा जब महिला र युवतीहरु केही समयको लागि त्याग र सांसारिक मोहबाट मुक्तिको लागि कपाल खौरिने गर्छन् जुन कपाल पनि कपाल व्यापारमा प्रयोग हुन्छ ।

यहाँका अधिकांश कपाल चीन पुन्छन् । त्यहाँ ती कपाल प्रशोधन हुन्छ र पश्चिमका हेयर स्टाइलिस्टहरुलाई बेचिन्छ । तर दशकौँको सेनाको शासनपछि खुलेपछि म्यानमार सम्बृद्ध भइरहँदा अब महिलाहरुले आफ्ना कपाल दिन अस्वीकार पो गर्ने हुन् कि भन्ने डर बढेको छ ।

औसत दिनमा एई एई थियीनको स्टलमा सात देखि दश ग्राहक आउँछन् । “यो कपाललाई हेर्नुस् ! यो निक्कै राम्रो छ,” बाक्लो कपालको मुठो आफ्नो हातमा लिँदै उनले भनिन् ,“यो चिप्लो पनि छैन र धेरै सुख्खा पनि छैन ।”

त्यसपछि कपालको टुप्पो देखाउँदै उनले भनिन् “राम्रो कपाल सर्लक्क परेको हुनुपर्छ । लट्टा परेको वा टुप्पो फाटेकोलाई राम्रो मानिँदैन ।”

खर्च

कपालको मूल्य यसको गुणस्तर र तौलमा भर पर्छ । कपाललाई बर्माको परम्परागत मापनको इकाइ ‘भिस’मा नापिन्छ जुन लगभग १.५ किलो बराबर हुन्छ ।

पुरानो एक तराजुको छेउमा उभिँदै उनले कपालको मूल्य यसको मुलायमपन, बलियोपन र सर्लक्कपन आदीबाट भर पर्ने बताइन् ।

त्यसपछि उनी कपाललाई तराजुमा राखेर तौलिन्छिन् । र, ग्राहकलाई त्यसको मूल्य तिर्छिन् ।

अधिकांश लेनदेन १५,००० क्याट (११ डलर) देखि २,००,००० क्याट(१५० डलर) बीचमा हुन्छ । यो कमाई औसत आय ३६०० क्याट (२.७० डलर ) भएको देशमा उलेख्य रकम हो । सबैभन्दा धेरै मूल्य खुट्टासम्म लामो रहेका कपालको आउँछ । यस्तो कपाल एकै जनाको लाई धेरै वटा बन्थलमा बाँडेर बेच्न सकिन्छ ।

पुरुषहरु पनि कहिलेकाहीँ बेच्नको लागि कपाल बढाउँछन् तर यो त्यति प्रचलनमा रहेको छैन । तर क्रेताहरुले कपालमा महिला र पुरुषको भेदभाव भने गर्दैनन् ।

व्यापारीहरुका अनुसार म्यानमारको कपालको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो–चीन । आफ्नो नाम दिन नचाहने गुङ्झोउका एक चिनियाँ खरीददार कपाल किन्नकै लागि म्यानमार आएका हुन् । उनले यसबारे भने “म यी कपाल आफ्नो देशमा वीग र हेयर एक्टेसन बजारमा बेच्नेछु ।”

गुजारा चलाउने माध्यम

इन्सेन बजारका खरिददारहरुका अनुसार कपाल बेच्न आउने महिलाहरु फरक–फरक उद्देश्यका साथ आउँछन् । धेरैका लागि यो आयश्रोत हो । जुन उनीहरु वचतमा, ऋण तिर्न वा सामान्यतया पकेट खर्चको लागि उपयोग गर्छन् ।

त्यहाँ भेटिएकी २१ वर्षे विद्यार्थी फ्युउ फ्युउले धेरै गर्मी भएका कारणले आफूले कपाल बेच्न आएको बताइन् ।

उनले आफ्नो कालो लामो कपाल बेचेर आएको ४५ डलर मध्य केहीबाट कपडा किन्ने, कहीँ आफै राख्ने र बाँकी भने बौद्ध भिक्षुलाई दान दिन बताइन् । बौद्ध भिक्षुहरु प्रत्यक बिहान भिक्षा माग्दै सहरमा हिँडिरहेका हुन्छन् ।

म्यानमारको दोश्रो सबैभन्दा गरिब क्षेत्रको रुपमा रहेको पश्चिमी क्षेत्र ‘राखिने’ पछिल्लो केही समय बौद्धहरु र रोहिङ्ग्याहरुबीच भएको साम्प्रदायिक घटनाका करण अन्तराष्ट्रिय रुपमा चर्चामा छ । यो क्षेत्रमा छाएको अनिश्चित अवस्थामा कपालको व्यापार भरपर्दो आयश्रोतको माध्यम भएको छ ।

‘इन्ट्याङगलमेन्ट : द सेक्रेट लाइभ्स अफ हेयर’ की लेखिका मानवशास्त्री एम्मा टार्लोले कपाल व्यापार गरिब महिलाले बेच्ने कपाल र धार्मिक दानको मिश्रणमा निर्भर रहेको बताइन् । 

“म्यानमारमा कपाल दिन मन गर्ने गरिब महिलाको ठूलो सङ्ख्या हुनुले महत्वपूर्ण भूमिका खेलेको छ,” उनले भनिन् ।

धार्मिक कार्य 

बौद्ध नयाँ वर्ष उत्सबको अवधी थिङ्गयान एप्रिल महिनामा पर्छ । यसमा धेरै महिला र युवती आफ्नो कपाल काट्छन् र दश दिनको लागि विक्षुणी बन्छन् । 

एक भिक्षुणी युजना न्यानीले बौद्ध ध्यानको यो निःस्वार्थ कार्य र समर्पण निर्भाना पुग्नको लागि हुने बताइन् ।

“कपाल काट्दा कपालको कुनै चेतना नहुने र आध्यात्मिक मूल्य नभएको देखाउछ ...शरीरबाट निकालिसकेपछि यसको कुनै मूल्य हुँदैन,” न्यानीले भनिन् ।

यी मध्य अधिकांश कपाल पनि म्यानमारको कपाल व्यापारमा जाने गर्दछ ।

पुर्तीभन्दा माग धेरै

यान्गुन र मन्डलेमा रहेका व्यापारीहरु पुर्तीभन्दा माग धेरै भएकोमा चिन्तित छन् ।

सात वर्ष देखि कपालको व्यापारमा रहेका ह्ते वीनले भने “पहिले सहरका महिलाहरुको कपालले मात्र पुग्थ्यो । त्यो समय म आफै कपाल संकलनको लागि गएर भ्याउँथे । तर अहिले बङ्लादेश र अरु राष्ट्रबाट किनेर ल्याएको कपाल म्यानमारका कपालसँग मिसाएर बेच्नुपर्छ । ”

ह्ते वीन बजार बढिरहनेमा आत्मविश्वासी छन् तथापि उनी राम्रो गुणस्तरको कपालको कमी हुनेमा पनि चिन्तित छन् । “५० इन्चभन्दा लामो कपालहरु पाउन झन्–झन् गाह्रो भइरहेको छ । किनकी आजकल महिलाहरु छोटो कपाल राख्न थालेका छन् ।”

उनले कुनै रङ्गरोगन नगरिएको कपाल पाउन पनि चुनौतिपूर्ण हुँदै गएको बताए । “आजकल महिलाहरु कपाल रङ्गाउन थालेका छन् । यसले पनि कपालको मूल्यलाई असर गर्छ ।”

पछिल्लो समय कपाल प्रशोधनको दुई मुख्य केन्द्र भारत र चीनले आपूर्ती घट्दै गएकोमा चिन्ता व्यक्त गरिरहेका छन् । तर म्यानमारको कपाल व्यापार तत्कालै अन्त्य भने हुने छैन । यसमा मुख्य दुई कारण जिम्मेबार छ –पहिलो म्यानमारबाट दुई प्रशोधन केन्द्रसँग रहेको नजदिकी र म्यानमारमा रहेको तुलनात्मक गरिबीको प्रचुरता ।

“अहिले त मानिसहरु सम्पन्न भए, फ्यासनेबल भए, आफ्नो रुपमा बढी ध्यान दिन थाले त्यसैले माग बढेको छ । तर, तपाईंले ऐतिहासिक श्रोतहरु हेर्नुभयो भने १९औं शताब्दीमा पनि कपाल संकलकहरु कपाल आपूर्ती कम भयो भनेर कराइरहेको तथ्य पाउनुहुन्छ,” टार्लोले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप