बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

व्यङ्ग्य: जनकपुरधाममा लाम

शनिबार, ०५ जेठ २०७५, ०८ : ४१
शनिबार, ०५ जेठ २०७५

-शैलेश भट्टराई  

मिथिलामा आज साक्षात् देव विराजमान हुनुभएको छ । सेतो कपाल, सेतै दारी, शानदार चस्मा, कान्तिमय झल्झलाउँदो मुहार, टम्म मिलेका दाँत, हँसाइ त झन् बयानै गर्नु परेन, बाक्ला भए पनि सुहाउँदा आँखीभौं । ठूल्ठूला दयालु आँखा, कृपालु हात ओहोहो ! क्या दमदार लुक्स् छ प । भूको ! तर रिसाउँदा भने भृकुटी खुम्चिएर प्रभुको दुइटै आँखीभौं एउटै हुन खोज्दो रहेछ । ती आँखीभौं एकै हुन खोज्दा हामीले घनघोर दुःख पाएको अस्ति मात्रै हो । उहाँको सबैकुरो मान्छेसँगै मिल्छ । तर उहाँ मान्छे होइन । देव हुनुहुन्छ । प्रभु हुनुहुन्छ । हाम्रो अन्नदाता हुनुहुन्छ, विधाता हुनुहुन्छ । तब न देवदर्शनका लागि जनकपुरधाममा लाम छ । स्वागत सत्कार धुमधाम छ ।

बच्चैदेखि थाहा भएकै कुरा हो– यत्र तत्र सर्वत्र प्रभु विराजमान हुनुहुन्छ  । नुनदेखि सुनसम्म, जीरादेखि हीरासम्म, कीरादेखि मदिरासम्म, पानीदेखि जवानीसम्म, फिलिमदेखि चिलिमसम्म, तेलदेखि जेलसम्म, सानातिना हेलमेलदेखि ठूलठूला चलखेलसम्म पनि प्रभु नै विराजमान हुनुहुन्छ ।  सात, सत्र, सतचालीस, बाउन्न, अन्ठाउन्न, बैसठी, बहत्तर सबैमा उहाँ नै हुनुहुन्छ  । अर्थात् हाम्रो सारा अङ्कगणित नै प्रभुमा लीन छ । प्रभुको इच्छामा हाम्रा सीमारेखाहरू र चेक प्वाइन्टहरू अदलबदल हुन्छन् । त्यसैले हाम्रो ज्यामिति पनि प्रभुमै विलिन छ । हाम्रा अर्थशास्त्र, कानुन, समाजशास्त्र, राजनीतिशास्त्र लगायतका सारा शास्त्रहरू पनि प्रभुबाट नै निःसृत छन् भने शस्त्रहरूको स्रोत पनि प्रभु नै हुनुहुन्छ । त्यसैले प्रभुसँग न्याय अन्यायको कुरा गर्नु हुन्न ।  तर्क वितर्क प्रभुलाई क्षम्य हुन्न । प्रभुसँग वाद–विवाद, बहस प्रतिवाद भनेको आफ्नै घुँडामा बन्चरो हान्नु हो  । जसले प्रभुसँग यी हर्कत ग¥यो ऊ भित्तैमा पुग्यो । प्रभुको सामु भक्तको मान, सम्मान, इज्जत, प्रतिष्ठा, इगो, मर्यादा, प्रोटोकल, हैसियत जस्ता कुराहरू पनि मिथ्या हुन् । यस्ता तोर्पे कुराले केवल भ्रम मात्र सिर्जना गर्दछन्  । सच्चा प्रभुभक्त यस्ता तोर्पे कुराको पछि कहिल्यै लाग्दैन । लागिहाले पनि त्यो क्षणिक मात्र हुन्छ ।  निहित उद्देश्य पूर्तिका लागि मात्र हुन्छ । जस्तै चुनावअघि प्रभुको उछित्तो काढ्न लागिपरेका अतृप्त आत्माहरू चुनाव सकिए पछि तृप्त हुन्छन् र आफ्नो लयमा आउँछन् । इतिहासले यही भन्छ । वर्तमानले यसैलाई पुष्टि गरिरहेको छ । भविष्य हाम्रो प्रभुकै हातमा छ । त्यसकारण जता प्रभु त्यतै लाम छः स्वागत सत्कार धूमधाम छ ।

काम, क्रोध, लोभ, मोह र अस्ति भर्खरै प्रभुले दिएको त्यो अपरिमित पीडासमेत बिर्सेर प्रभुको दर्शनार्थ उपस्थित छन् एक से ‘नास्तिक’हरू पनि । अझ प्रष्टसँग भन्ने हो भने देवको यो हदको स्वागत सत्कारका सूत्रधार नै तिनै तथाकथित नास्तिकहरू हुन्, जसले प्रभुले विगतमा दिएको त्यो अपरिमित पीडालाई पीडा हो भन्नसमेत दिएनन्, न फेसबुकको भित्तामा न घरको भित्तामा । हुन पनि हो प्रभुले त्यस्तो पीडा नदिनुभएको भए, नास्तिकवादको उभार आउन्नथ्यो । नास्तिकवादको उभार नआएको भए चुनाव जित्ने सम्भव नै थिएन । चुनाव नजितेको भए नजाने कति वर्ष अझै नास्तिक बनेर एक हातमा कालो झण्डा र अर्को हातमा चन्द्रसूर्य झण्डा बोकेर टायर बाल्दै सडक सडक भौंतारिँदै हिँड्नुपर्ने थियो । त्यसैले यो सत्ता, सान, मानका असली सूत्रधार प्रभु हुनुहुन्छ  । हकदार पनि उहाँ नै हुनुहुन्छ । त्यसैले प्रभुलाई घनघोर अभिनन्दन गर्नुपर्छ । प्रभुका विरोधीको खण्डन गर्नुपर्छ । सकिन्छ भने तीनका चार पाटा मुण्डन गर्नुपर्छ । अनि प्रभुमा लम्पसार पर्नुपर्छ । दण्डवत् गर्नुपर्छ । त्यसैले त जनकपुरधाममा लाम छ, स्वागत सत्कार धुमधाम छ  । यी भए ‘नास्तिक’हरूका कुरा भने आस्तिकहरूको त कुरै नगरौं । 

दैलोमा पधार्नु भएका देवको दर्शन गरिएन भने यो जन्ममा कुर्सीको भोग गर्न नपाइने पक्का छ । भोगचलन गरिरहेको कुर्सी ढल्ने पक्का छ । कुर्सीको भोग बिना इहलीला सकियो भने सीधै नर्कमा जाकिन्छ । छँदा छँदैको कुर्सी ढल्यो भने पनि आत्मा भड्किन्छ । फेरि नास्तिक बन्नुपर्ने दुःख आइलाग्छ अनि फेरि सुरु हुन्छ कालो झण्डा, चन्द्र–सूर्य झण्डा  र टायरको घनचक्कर ।  त्यसैले कुर्सीवाल भक्तहरू कुर्सी जोगाउने र कुर्सीविहीन भक्तहरू कुर्सी पाउने अटल आस्थाका प्रभुको सेवामा तल्लीन छन् ।  प्रभुका हुक्के, बैठके, ढोके, छाते, पाने, भान्सेको दर्शन गर्न त यहाँ लाइन लाग्ने गर्छ भने साक्षात् प्रभुको प्रत्यक्ष दर्शन नै पाउने अनुपम र आलौकिक अवसर कसैले किन छोड्छ त ? यस्तो पुण्य दर्शनलाई कसैले लम्पसारिता भनिरहेका छन् त कसैले नास्तिकवादसँग जोडेर मजाक उडाइरहेका छन्  ।

तर खास कुरा के हो भने प्रभुसँग कसैले बराबरीको हैसियत खोज्छ भने ऊ घोर अज्ञानी हो । पटमूर्ख हो  । कहाँ ईश्वर कहाँ मानव ! त्यसैले त प्रभु नेपाली आकाशमा उड्दा नेपाली धर्तीका धूलोझहरू ठप्प भए । जो जहाँ छ उहीँको उहीँ  रहे । हुनसक्छ त्यहीँ कोही परमधाम गए । गए जाउन् न त !  यस्ता सांसारिक मोहजालमा फसेर ईश्वर प्राप्तिको मार्ग अवरुद्ध पार्नु छैन । त्यसैले त जता प्रभु त्यतै लाम छ । स्वागत सत्कार धूमधाम छ ।

भगवानको दर्शन गर्न भक्त मात्रै भगवान कहाँ धाउनु पर्ने प्राकृतिक नियममाथि एक पटक फेरि धावा बोल्नुभएको छ प्रभुले । यो तेस्रो पटकको धावा हो प्रभुको । भक्तहरूको यसरी भाउ बढाउने, ख्याल राख्ने यस्ता महान् आत्मालाई कोटी कोटी नमन ! भक्तहरू नाथको आगमनले त्यति खुशी छन् जति खुशी केटाकेटी दशैँ–तिहार, इद, लोसार आउँदा हुने गर्छन् । भक्तहरूले आफैंलाई त्यति धन्य ठानेका छन् जति धन्य बूढाबूढी चार–धाम, मक्का–मदिना, लुम्बिनी–सारनाथ घुम्न पाउँदा ठान्छन्  । 

करिव तीन वर्षअघि पनि प्रभुको पदार्पण भएको थियो । त्यतिखेरको आगमनमा प्रभुले भक्तहरूलाई इसारा गर्दै तिमीहरूसँग दुई हात छ उठाएर हेर भन्नु भयो  । सबैले उठाएर हेरे । हो नै रहेछ भनेर थाहा पाए ।  एकछिन पछि प्रभुले– ‘ल मलाई हेर सबैजनाले’ भन्नु भयो  । सबै भक्तले हेरे । ‘जेले मलाई हेर्यौ त्यो तिमीहरूको आँखा हो’ भन्नु भयो ।  प्रभुले भक्तहरूलाई तिमीहरू मान्छे हौ र तिमीहरूका पुर्खा पनि मान्छे नै थिए जो यहीँ जन्मेका थिएझ भन्दिनु भयो  । फेरि एकछिन पछि– ‘तिमीहरू त ज्यूँदा मान्छे हौ’ भनेपछि त भक्तहरू हर्षविभोर भएका थिए । 

    कसैले भन्थे क्रान्ति जनताको उत्सव हो  । तर भक्तहरूको लागि त क्रान्ति भनेकै प्रभुको खातिरदारी हो । अनि त्यो नै उत्सव, त्यो नै महोत्सव  । प्रभुको खातिरदारी गर्न नपाए यो लोक त सुध्रन्न सुध्रन्न परलोक पनि बिग्रन्छ भन्नेमा भक्तहरू सचेत छन् । दौरा, सुरुवाल, कोट, टोपीमा चिटिक्क परेका प्रभुका केही अनन्य भक्तहरू एक हातले चम्मर हल्लाउँदै र अर्को हातले चन्द्रसूर्य फर्फराउँदै प्रभुको इन्ताजारमा छन्  । उनीहरूको चन्द्रसूर्य प्रेम गजबको छ । पार्टीका भोट माग्ने जुलुसदेखि साथीका नोट सिध्याउने भोजसम्म पनि छोडदैनन् ती चन्द्रसूर्य ध्वजा । प्रभु यसरी नै बेला बेलामा यहाँ सवारी भैदिए नेपालीहरू अलिक आस्तिक हुनेथिए ।  किनभने अस्तिसम्म प्रभुको विरोध गरेर नथाक्ने अगस्तीहरू प्रभुसँगको शृङ्खलाबद्ध समागमले अहिले प्रभुको भक्तिमा लीन छन् । प्रभुका विरोधीलाई तह लाउन तल्लीन छन् । तीनले प्रभुलाई यी सबको प्रगति विवरण पेश गर्नु छ । तब न जनकपुरधाममा लाम छ । स्वागत सत्कार धुमधाम छ ।          
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप