बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले दिए पूर्वराजा ज्ञानेन्द्रलाई गणतन्त्र दिवसको निम्ता

शुक्रबार, ०४ जेठ २०७५, १५ : ०३
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको खुशीयालीमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई सो आग्रह गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पूजापाठको नाममा तमासा नदेखाउन पनि पूर्व राजा शाहलाई सचेत गराए ।  गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्को वर्ष गणतन्त्र दिवस समारोह समितिमा बस्न पूर्वराजा शाहलाई आफूले नै प्रस्ताव गर्ने योजना पनि सुनाए ।

प्रधानमन्त्री ओलीले राजसंस्थाप्रति संकेत गर्दै विष्णुको अवतारको भ्रममा परेर गतिविधि गर्ने दिन अब समाप्त भएको पनि स्मरण गराए ।  पूर्वराजा शाहले पनि नागरिकको रुपमा गणतन्त्र दिवसमा रमाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले जोतिषहरुले विमान दुर्घटना हुने लगायतका तथ्यहिन भविष्यवाणी गरिरहेको भन्दै आपत्ति पनि जनाए । उनले कुन ग्रह र नक्षत्रले विमान दुर्घटना देखाएको भन्दै जोतिषहरुलाई प्रश्न समेत गरे । सरकारले आगामी जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।

त्यस्तै,प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउन मातहतका निकायलाई आवश्यक तयारी गर्न पनि निर्देशन दिए ।  प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई जनताको भावना प्रतिविम्बित हुनेगरी मनाउने दायित्व सरकारको भएको पनि स्पष्ट पारे ।

उनले गणतन्त्र दिवस जनताको कार्यक्रम भएकाले यसमा व्यापक जनताको सहभागिता हुनेगरी तयार गर्नुपर्नेमा पनि मातहतका निकायलाई सचेत गराए । प्रधानमन्त्री ओलीले जनताको विजयको रुपमा गणतन्त्र दिवस मनाउन लागिएको भन्दै त्यसमा जनताको सहभागितालाई बढाउन जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई जनउत्सवको रुपमा लिनुपर्ने पनि बताए । उनले राजतन्त्र जस्तो पाखण्डी शासन व्यवस्था अन्त्य भएको खुसीयालीले गणतन्त्र दिवस मनाउन सुरु गरिएको पनि स्मरण गराए ।   

कार्यक्रममा बोल्दै गृह सचिव प्रेमकुमार राईले गणतन्त्र दिवसको कार्यक्रमबारे जानकारी गराएका थिए । त्यस अन्तरगत गणतन्त्र दिवसका दिन आगामी जेठ १५ गते सैनिक मंच टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना हुनेछ ।

गणतन्त्र दिवस मूल समारोह समिति गठन 
दिवसलाई भव्य रुपमा सम्पन्न गर्न प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । समितिमा कायममुकायम प्रधानन्यायाधिश दिपकराज जोशी, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व राष्ट्रपति, माननीय मन्त्रीलगायत रहेका छन् । 

जेठ १४, १५ र १६ गते दिवसलाई भव्य रुपमा मनाउन सञ्चार माध्यामबाट सार्वजनिक अपिल गर्ने, गणतन्त्र स्मारिका प्रकाशन गर्ने लगायतका कार्यक्रम पनि तय गरिएको गृहसचिव राईले जानकारी दिए ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १४, १५ र १६ गते ३ दिनसम्म विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्य दुतावासमा समेत दिपावलीसहितको कार्यक्रम तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप