बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी भ्रमणको साइड इफेक्टः मन्त्री र माननीयवीच झन्डै कुटाकुट !

शुक्रबार, ०४ जेठ २०७५, १३ : ४५
शुक्रबार, ०४ जेठ २०७५

जनकपुर –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण सकिएको एकसाता नबित्दै प्रदेश २ को सरकारमा लफडा शुरु भएको छ । 

मोदीको भ्रमणमा सात करोड २० लाख रुपैयाँ खर्च भएको बील पेस भएपछि लफडा शुरु भएको हो ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ता र नेताबीच सामान्य भनाभनदेखि हातहालाहालको अवस्था पनि सृजना भएको छ । 

यो बीलमा अनियमितता भएको भन्दै एकअर्कालाई आरोप लगाउन थालिएको छ । हालसम्म सात करोड २० लाख खर्च भएको अनुमान छ । 

सरकारका मन्त्रीले हालसम्म आ–आफ्ना बील पेस गरि नै रहेका छन् । 

दुई दिन आगाडी प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साह संयोजक रहेका जनपरिचालन समितिको बैठक बसेको थियो । 

सो बैठकमा सर्वसाधरण ओसार्न ३३५ वटा गाडी प्रयोग भएको र त्यसका लागि ८७ लाख खर्च भएको बील विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताले पेस गरेका थिए ।

राजपा नेपालका प्रदेश सांसद डिम्पल झाले आपत्ति जनाएपछि झडपको स्थिति उत्पन्न भएको थियो । 

आफुलाई १० वटा गाडी मात्र दिएको भनेर आपत्ति जनाएकी थिइन् ।

कृषि राज्य मन्त्री योगन्द्र यादव र झावीच गाडीको विषयालई लिएर विवाद भएको हो ।

उनीहरु एकै निर्वाचन क्षेत्रका हुन् ।

डिम्पका श्रीमान अनिल झा प्रतिनीधिसभा र योगेन्द्र प्रदेशसभामा एउटै क्षेत्रबाट चुनाव जितेका हुन् । 

सांसद झाले मन्त्री यादवलाई फर्जि बील पेस गरेर अनियमितता गरेको आरोप लगाएकी थिइन् । 

डिम्पल झाले ‘चोर र भ्रष्ट’को आरोप लगाएपछि मन्त्री यादव पनि आवेशमा आएको स्रोतले जनाएको छ । 

त्यस्तो आरोप लगाएपछि दुईजनाको बीचमा चर्काचर्की भएको थियो । चर्काचर्कीपछि बैठक नै प्रभावित भएको थियो । 

यद्यपी सांसद झाले यस विषयमा अहिले आफूले केही पनि नबोल्ने बताएकी छिन् । पार्टीमा छलफल भएपछि मात्र आफूले प्रतिकृया दिने बताइन् । 

मोदी भ्रमणको साइड इफेक्ट

प्रधानमन्त्री मोदी भ्रमण सकाएर गएपछि राजपा र फोरम नेपालबीच राजनीतिक रुपमा पनि खटपट शुरु भएको छ । 

मोदी भ्रमणका लागि भएका खर्चमा अनियमितता भएको र व्यवस्थापन कमजोर भएको भन्दै प्रदेश संसदमा सांसदहरुले कुरा उठाएका थिए । 

खासगरि मुख्यमन्त्री लालबाबु राउतको विषयमा धेरैले कुरा उठाएपछि सभामुख सरोज यादवले मुख्यमन्त्री राउतलाई संसदमा जवाफ दिन निर्देशन दिएका छन् ।

मोदी भ्रमणको विषयलाई लिएर मुख्यमन्त्रीलाई संसदमा उपस्थित गराएपछि फोरम नेपालका नेताहरु रुष्ट भएका छन् । 

फोरम नेपालका प्रदेश सांसदहरुले आफूहरुसँग कुनै सल्लाह नै नगरिकन सभामुख यादवले मुख्यमन्त्री राउतलाई संसदमा उपस्थित हुन निर्देशन दिएकोमा आपत्ति जनाएको छ ।

मोदीको जनकपुर भ्रमणको विषयमा संघीय संसदमा पनि मुख्यमन्त्री राउतको विषयमा कुरा उठेको छ । 

मुख्यमन्त्री राउतले राजिनामा दिनुपर्न कुरा पनि उठेको छ । केन्द्रमा विवादमा तानिएका राउतलाई प्रदेशमा पनि संसदमा उभ्याएपछि यसले झन विवादको रुप लिने विश्लेषण भइरहेको छ । 

काँग्रेसलाई प्रतिपक्ष

राजपा नेपालको तर्फबाट प्रदेश २ का सभामुख बनेका सरोज यादवले काँग्रेसलाई प्रमुख प्रतिपक्षी दलको चिठी दिएका छन् ।  । यो पनि मोदी भ्रमणको साइट इफेक्ट मानिएको छ ।

प्रमुख प्रतिपक्षी हुनका लागि एमाले र काँग्रेसबीच धेरै समयदेखि विवाद चलिरहेको थियो । फोरम नेपालले एमालेलाई प्रमुख प्रतिपक्षी बनाउने तयारीमा थियो । तर, सभामुख यादवले फोरम नेपालसँग कुनै सल्लाह नै नगरि राजपा नेपालले काँग्रेसलाई प्रतिपक्षी बनाएकौ भन्दै आपत्ति जनाएको राजपा नेपालका एकजना महासचिवले जानकारी गराए ।

भत्किन सक्छ समिकरण
राजपा नेपालका प्रदेश सांसद झालाई मन्त्री यादवले गरेको गाली गलौजको विषयमा छलफल गर्न राजपा प्रदेश सांसदहरुको बैठक बसेको थियो । 

बैठकमा सांसद झाले आफूलाई मन्त्री यादवले दुरव्यवहार गरेकाले यो विषय संसदमा उठाउने बताएकी थिइन् । 

मन्त्री यादवको व्यवहारले आफू निकै अपमानित महसुस गरेकी भनेकी थिइन् ।

त्यसपछि राजपा नेपालका सांसदहरुले यो कुरा संसदमा नउठाउन झालाई आग्रह गरिएका थिए । 

संसदमा उठाएपछि आफ्नै वेइज्जति हुने र यसलाई क्याविनेटमा उठाउने आश्वासन सांसद झालाई दिएका थिए । 

राजपा नेपालबाट प्रदेश २ को क्याविनेटमा तीनजना मन्त्री रहेका छन् । 

क्याविनेटमा यो विषय उठाउने र मन्त्री योगेन्द्र राय यादवलाई माफी माग्न लगाउने आश्वासन समेत दिएको राजपा नेपालका एक नेताले बताए । 

यदि मन्त्री योगेन्द्र राय यादवले माफी नमागे फोरम नेपाललाई दिएका समर्थन फिर्ता लिनेसम्मको कदम उठाउने सांसद झालाई आश्वासन दिएको बताइएको छ ।

राजपा नेपालले दिएको समर्थन फिर्ता लिने वतावरण तयार भयो भने फोरम नेपालले नेपाल कम्युनिष्ट पार्टीसँग समिकरण बनाउने सम्भावनाको विषयमा पनि सोच्न थालेका छन् ।

दुई नम्बर प्रदेशमा हालै एकीकृति भएको नेपाल कम्युनिष्ट पार्टी सबभन्दा ठूलो पार्टी बनेको छ । 

नेकपाको ३४ सीट छ भने फोरम नेपालको २९, राजपा नेपालको २४, काँग्रेसको १९, एक स्वतन्त्र रहेका छन् । 

अब फोरम नेपालले नेकपासँग सरकार बनाउँदा ६३ हुन्छ जबकी राजपा नेपालसँग सरकार निर्माण गर्दा ५३ सीट भएको छ । त्यसले बल्ल बल्ल सरकार निर्माण भएको थियो । 

फोरम नेपाल र राजपा नेपाल बीचको समिकरण भत्कियो भने सत्ताको साँचो नेकपाको हातमा पुग्नेछ । 

त्यसपछि नेकपाले जो सरकारसँग बनाउँन चाहन्छ त्यसैसँग सरकार बन्छ । 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप