शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक शाही विवाहमा खर्च हुन्छ यति अर्ब ? थाहा पाउनुस् खानादेखि लुगासम्मको खर्च

शुक्रबार, ०४ जेठ २०७५, १२ : ०४
शुक्रबार, ०४ जेठ २०७५

शाही परिवारको जीवनशैलीबारे थाहा पाउने चाह सबैलाई हुन्छ । त्यसमाथि शाही विवाहबारे सबैको विशेष चासो हुन्छ । ब्रिटेनका राजकुमार ह्यारी र अमेरिकी नायिका मेगन मर्केलको विवाह शनिबार अर्थात् १९ मे मा हुँदैछ । यसले संसारको ध्यान आकृष्ट गरेको छ । यी दुइको विवाहमा कति पैसा खर्च हुन्छ ? के–के मा कति पैसा खर्च गरिन्छ त्यसबारे यहाँ जानकारी दिइएको छ ।

शाही विवाह ब्रिटेनको विन्डसर क्यासल चर्चमा हुनेछ । ६ सय पाहुनालाई विवाहमा निम्तो दिइएको छ । पाहुनाको स्वागत त भव्य रुपमा गरिनेछ तर उनीहरुका लागि शर्त लागू गरिएका छन् । विवाहको निम्तो कार्डमा नै पाहुनाका लागि सात शर्त लागू गरिएको छ ।

ब्रिटेनकी विलासी विवाहकी प्लानर एमी डुनीले सीएनबीसीलाई दिएको जानकारी अनुसार राजकुमार ह्यारी र मेगन मर्केलको विवाहमा सुरक्षा खर्चबाहेक २० लाख पाउन्ड (२९ करोड नेपाली रुपैयाँ) खर्च हुन्छ । सुरक्षाका लागि ३ करोड पाउन्ड (४ अर्ब ४१ करोड रुपैयाँ) खर्च हुने ब्राइडबुकले बताएको छ ।

यी कुरामा यति खर्च हुन्छन्ः

खाना र पेय पदार्थमाः ६ लाख ८० हजार डलर 

६ सय पाहुनालाई लञ्च र डिनरको आयोजना गरिएको छ भने २ हजार ६ सय ४० सर्वसाधारणलाई चिया र हट स्न्याक्सको व्यवस्था गरिएको छ जसमा ६ लाख ८० हजार डलर (७ करोड ३९ लाख रुपैयाँ) खर्च हुने अनुमान एमीले गरेकी छिन् ।

‘विवाहमा अत्यधिक स्याम्पेन र ह्विस्की हुनेछ, ह्यारीका लागि म पक्का छु,’ उनले भनिन् ।

ग्लास मार्कीः ४ लाख डलर

विवाहको रिसेप्सनका लागि सिसाले बनाइएको एक भवन निर्माण गरिँदैछ  त्यसमा ४ लाख डलर ( ४ करोड ३५ लाख) खर्च हुन्छ ।

लुगाः २ लाख ७० हजार डलर

मर्केल बेलायती डिजाइनर राल्फ एण्ड रस्सोको डिजाइनमा बेहुली बन्नेछिन् । मर्केलले आधिकारिक इन्गेजमेन्ट फोटोसुटमा पनि उनै डिजाइनरका पहिरन लगाएकी थिइन् ।

टेलिग्राफको एक रिपोर्टमा मर्केलको विवाहको ड्रेस १ लाख ३५ हजार डलर पर्ने अनुमान गरेपनि एमीले भने उनको पहिरनमा २ लाख ७० हजार (२ करोड ९३ लाख रुपैयाँ) पर्ने अनुमान गरेकी छिन् । उनका अनुसार शाही विवाहको मापदण्ड यही हो । यता ह्यारीले भने सस्तो पहिरन लगाउने बताइएको छ ।

मर्केलले बेलुका दिइने रिसेप्सन पार्टीमा पहिरन फेर्ने अनुमान गरिएको छ ।

फूलः १ लाख ३० हजार डलर

विन्डसर क्यासलललाई फूलले सजाउन १ लाख ३० हजार (१ करोेड ४१ लाख) खर्च हुन्छ ।

कसले तिर्छ ?

शाही परिवारले विवाहको मुख्य विषयमा आफैंले खर्च गर्ने बताएको छ । एक वक्तव्य जारी गर्दै चर्च, संगीत, फूल, साजसज्जा र रिसेप्सनको खर्च शाही परिवार आफैंले गर्ने जानकारी दिएको छ ।

मर्केलले विवाहको पहिरनमा आफैंले खर्च गर्ने अनुमान गरिएको छ ।

अन्य सबै खर्च करदाताबाट पाएको रकमले गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप