शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘अब किरण, बाबुराम र विप्लवले पनि आफूलाई करेक्सन गरेर आउनुपर्छ’

शुक्रबार, ०४ जेठ २०७५, ११ : ०१
शुक्रबार, ०४ जेठ २०७५

प्रदेश २ का चिरपरिचित नेता रामचन्द्र झा बौद्धिक नेताका रूपमा मानिन्छ । कुनै पनि विषयमा एतिहासिक तथ्य दिन सक्ने क्षमताका उनी कम्युनिस्ट आन्दोलनबाट आएका नेता हुन् । एमालेबाट विद्रोह गरी माओवादी हुँदै नयाँ शक्ति पार्टीमा गएका थिए । तर त्यहाँ विचार र सिद्धान्तमा मतान्तर भएपछि पुनः माओवादी केन्द्रमा फर्केका हुन् । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य रामचन्द्र झासँग पार्टी एकीकरण तथा मधेस राजनीतिकको विषयमा रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीको सम्पादित अंशः

माओवादी केन्द्र र एमाले पार्टीबीच एकीकरण कसरी सम्भव भयो ?
–सबै कम्युनिस्टलाई एक बनाउने अभियान माओवादी केन्द्रले सुरुदेखि नै चालेको थियो ।  यसका लागि लामो समयदेखि प्रयास पनि भइरहेको थियो । एउटै विचार, एउटै सिद्धान्त बोकेका पार्टी अलग अलग रहेर देशमा विकास गर्न सकिँदैन । आर्थिक समृद्धि र समाजवादमा रूपान्तरण गर्नका लागि एक्लै एक्लैले सक्दैन । त्यही भएर दुई ठूला कम्युनिस्ट पार्टीले आवश्यकता बुझेर एकीकरणका लागि तयार भए र यो सम्भव भएजस्तो लाग्छ । 

कुरा धेरै पहिलादेखि उठ्दै आएको थियो । तर यसको आवश्यकता त्यतिबेला महसुस भयो जतिबेला देशलाई आर्थिक रूपमा समृद्ध गर्ने सोच सबैमा पलायो । देशमा गणतन्त्र स्थापना भइसकेको छ । तीनै चरणका चुनाव सम्पन्नपछि गर्ने काम देशका लागि आर्थिक रूपान्तरण नै हो, आर्थिक समृद्धि र क्रान्ति नै हो । त्यसका लागि एक्लै एक्लै सक्दैन । त्यहीँबाट पार्टी एकता गरेर परिवर्तनलाई संस्थागत गर्न वामगठबन्धन बनाएर आगाडि बढेको थियो । वामगठबन्धन बनाएर चुनावमा गएपछि त्यसको परिणाम राम्रो आयो । यसले झन् एकीकरणका लागि दलहरूलाई बल पुग्यो ।

तपाईंले भन्नुभयो, सबै कम्युनिस्टलाई एक बनाउने माओवादी केन्द्रले अभियान सुरु गरेको थियो र त्यसैअन्तर्गत एमालेसँग एकीकरण भएको हो । त्यसो भए एमालेभन्दा पहिले मोहन वैद्य, विप्लव र डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग एकीकरण गर्नुपर्ने होइन र ?
–हो, गर्नुपर्ने हो तर अहिलेको अवस्थामा एकीकरण सम्भव छैन । ती पार्टीहरूसँग विचार र सिद्धान्तमा मात्र होइन । संविधानको अन्तरवस्तु तथा पार्टीको मूलमन्त्रमै फरक देखिएको छ । माओवादी केन्द्रले संविधान निर्माण गरेको छ तर ती पार्टीहरूले त्यसलाई स्वीकार नगर्ने भनेका छन् । त्यसको विरुद्धमा आन्दोलन गर्ने भनिरहेको छ । जडसूत्रवादीसँग एकीकरण हुने त्यति सजिलो छैन । त्यसैले ती दलहरूसँग धेरै कुरामा फरक देखिएका हुनाले तत्काल ती दलहरूसँग एकीकरण गर्ने कुनै सम्भावना म देख्दिन । 

एमालेसँग एकीकरण हुन सक्ने तर त्यही माओवादीबाट फुटेकाहरूसँग एकीकरण हुन नसक्ने किन त्यस्तो ?
–सिद्धान्तको आवरणमा के–के लुकेको हुन्छ । त्यो खोजीको विषय हुनसक्छ तर मैले अघि पनि भनेका थिए कि सिद्धान्त र विचारमै फरक भएपछि एकीकरण गर्न गाह्रो हुन्छ । मोहन वैद्यको पार्टी, विपल्व र बाबुराम भट्टराई नेतृत्वको पार्टीले आफूलाई करेक्सन गरेर आयो भने एकीकरण गर्न हुनसक्छ । पहिलो कुरा त सैद्धान्तिक रूपमा कुरा मिल्नुपर्छ । त्यो पनि ओल्लो छेउ र पल्लो छेउमा भएका कारणले अहिले ती दलहरूसँग एकीकरण गर्ने सम्भावना त्यति देख्दिनँ । एकीकरणका लागि कुनै एक कालखण्ड आउला, त्यतिबेला एकीकरण भइछाड्छ । एमालेसँग नै एक समय सिद्धान्त र विचारमा पनि फरक थियो । निकै दूरी थियो तर विस्तारै कार्यदिशा र सिद्धान्तमा कुरा मिल्दै गएपछि एकीकरण भएको हो ।

करेक्सन गरे होला । त्यही भएर माओवादी केन्द्रले एकीकरण गरेको हो भनेको छु । तर, त्यसको विषयमा विस्तृत अध्ययन गर्न बाँकी नै छ । एमाले पार्टी मधेसप्रति अनुदार रहेको कुरा मधेसमा भएको चुनावले पुष्टि गरेको छ । मधेसमा राम्रोसँग प्रचार प्रसार गर्ने अवस्थामा थिएन, एमाले ।

झण्डै नौ महिना लगाएर यो पार्टी एकीकरण गर्न सफल हुनुभयो । २०७४ असोज १७ गते वाम गठबन्धन बनाएपछि सुरु भएको एकीकरण प्रकृयामा थुप्रै तीता मीठा अनुभवहरू भए होला । अझै पनि एकीकृत पार्टीमा नेता तथा कार्यकर्ता तथा नेता व्यवस्थापन गर्न समस्या होला जस्तो लाग्छ, कसरी व्यवस्थापन गर्नुहुन्छ ?
–कसैले सोच्न नसकेको काम सम्पन्न भयो । अब कार्यकर्ता तथा नेता व्यवस्थापन जस्ता सानातिना कुरामा सायद समस्या हुँदैन । ठूलो उद्देश्यका लागि भएको कुनै कामका लागि कसैले अत्तो थप्ने काम सायद कसैबाट नहोला जस्तो लाग्छ मलाई । पार्टीले नेताहरूको कार्यको मूल्याङ्कन तथा प्रतिबद्धताका आधारमा जिम्मेवारी पाउनु हुनेछ जस्तो लाग्छ ।  

एकीकृत पार्टी ४४१ सदस्यीय हुँदैछ । यत्रो जम्बो कार्यसमितिलाई परिचालन गर्न वा बैठक बसाउन त समस्या होला नि ?
–माओवादी केन्द्रको कार्यसमिति पनि योभन्दा ठूलो रहेको छ । जसोतसो यहाँसम्म ल्यायो । साँच्चै हो, कार्यसमिति ठूलो भयो भने त्यसको कार्यप्रणाली भद्रगोल हुन्छ । साचेजस्तो कार्य गर्न सकिरहेको हुँदैन । नेता तथा कार्यकर्ता व्यवस्थापनमै समय गइरहेको हुन्छ । तर कार्यसमिति जति ठूलो भए पनि वर्किङ कमिटी चुस्त र दुरुस्त बनाउनु पर्छ । चिनियाँ कम्युनिस्ट पार्टी त्यत्रो ठूलो छ तर वर्किङ कमिटी चुस्त दुरुस्त छ । त्यस्तै यहाँको पनि बनाउनुपर्छ । काम गर्ने क्षमतावान व्यक्तिहरूलाई वर्किङ कमिटीमा राख्नुपर्छ । यसरी मिलाएर राख्नुपर्छ कि आउने दिनमा बैठक बसाउँदा कुनै समस्या नहोस् । निर्णय गर्न कुनै समस्या नहोस् । नत्र यस्ता भद्रागोल कमिटीहरू हुन्छन्, जसको बैठकमै कोरम नै पुग्दैन । त्यसैले यो काम गर्ने बेला हो । जनतालाई थुप्रै आवश्वासन दिएका छन् वामगठबन्धनले । त्यसैले त्यस्ता विषयमा ख्याल गरिन्छ जस्तो लाग्छ जस्तो मलाई ।
तपाईंकै हकमा कुरा गर्ने हो भने तपाईं एमाले पार्टी छाडेर माओवादी केन्द्रमा आउनुभएको हो अब एमालेसँग नै एकीकरण भयो । अब एकीकृत पार्टीलाई स्वीकार गर्नुहुन्छ कि अरू केही गर्नुहुन्छ ?
–त्यतिबेला पक्कै पनि मैले एमालको केही कुरा चित्त नबुझेर पार्टी छाडेको थिएँ । त्यसमा मलाई कुनै पश्चाताप थिएन र छैन पनि । अहिले जुन पार्टीमा म छु त्यो पार्टीले एमालेसँग एकीकरण भएर नयाँ पार्टी बनेको छ । त्यसमा पक्कै पनि मैले जे कारणले पार्टी छाडेका थिएँ त्यसमा एमालेले करेक्सन गरेको होला । त्यही भएर माओवादी केन्द्रले एकीकरण गरेको छ । अहिले मैले एकीकरणका सम्पूर्ण दस्तावेज अध्ययन गरेको छैन । पार्टीका अध्यक्ष प्रचण्डले बैठकमा ब्रिफिङ गरेको आधारमा एकीकरणका लागि सहमत भयौं । अब दस्तावेज अध्ययन गर्छु । चित्त नबुझेका विषयमा नयाँ पार्टीभित्रै बहस चलाउँछु । कुरा राख्छु । म एमालेमा हुँदा चित्त नबुझेका कुरामा घण्टौँसम्म पार्टीमा बहस गर्थें । माओवादी केन्द्रमा पनि आफ्नो कुरा प्रष्ट रूपमा राखिरहेको छु । एकीकृत पार्टीमा पनि म आफ्नो कुरा प्रष्ट रूपमा राख्नेछु । 

एमालेले आफूलाई करेक्सन गरेका होला भनी तपाईंले कसरी विश्वास गर्नुहुन्छ ?
–करेक्सन गरे होला । त्यही भएर माओवादी केन्द्रले एकीकरण गरेको हो भनेको छु । तर, त्यसको विषयमा विस्तृत अध्ययन गर्न बाँकी नै छ । एमाले पार्टी मधेसप्रति अनुदार रहेको कुरा मधेसमा भएको चुनावले पुष्टि गरेको छ । मधेसमा राम्रोसँग प्रचार प्रसार गर्ने अवस्थामा थिएन, एमाले । त्यही भएर मधेसमा सुक्दै गइरहेको थियो । त्यही अवस्थामा माओवादी केन्द्रसँग एकताको सुरुवात भयो । वामगठबन्धन बन्यो । वामगठबन्धनका कारणले मात्र मधेसमा एमालेको केही सिट आएको छ । यदि वामगठबन्धन बनाएर नगएको भए सायद अवस्था त्यति राम्रो हुने थिएन होला । यी कुराबाट पनि एमालेले आफ्नो बुझाइमा करेक्सन गर्नुपर्छ जस्ता लाग्छ । अब त एकीकरण नै भयो । यो करेक्सन भएर जान्छ जस्तो लाग्छ ।

मैले यी कुराहरू उठाएको कारण विद्रोही भएको छु । एमाले पार्टीको पोलिटब्युरो बैठकमा मधेसको विषयमा अढाई घण्टासम्म कुरा राखेका थिएँ । तर सुध्रेन । माओवादी पार्टी पनि मैले मधेसको विषयमा पटक पटक बहस चलाएँ । त्यहाँ पनि साचेजस्तो काम भएन ।

राजनीतिक रूपमा दुई नम्बर प्रदेश एकदमै पेचिलो प्रदेश हो । त्यहाँको तपार्इं नेता हुनुहुन्छ । अहिले मधेसवादी दलले कब्जा जमाएर बसेको छ । एमाले र माओवादी केन्द्रको एकता भएको छ, आउने दिनमा दुई नम्बर प्रदेशमा कस्तो उपस्थिति हुनेछ ?
–सङ्घीयत र गणतन्त्रका लागि हामीले सङ्घर्ष ग¥यौं । मधेसमा मात्र होइन, देशैभरि आफ्नो उपस्थिति देखायौं । तर मधेसवादी दलको मुद्दाभन्दा हाम्रो मुद्दा के–केमा फरक छ भन्ने कुरा बुझाउन सकिएन । मधेसवादी दलको भन्दा हाम्रो एजेन्डा र मुद्दा जनअपेक्षित छन् तर त्यसलाई हामीले पस्किन सकेनौँ । एजेन्डालाई हामीले बुझाउन सकेनौँ । मधेसवादी दलले मधेसी जनताको भावनासँग खेलबाड ग¥यो । सेन्टिमेन्टल ब्ल्याकमेलिङ ग¥यो । झुठो आश्वासन बाँढेर मधेसी जनतालाई चलायमान बनाइराख्यो तर हामीले आफ्नो जेन्युन मुद्दालाई पनि बेच्न सकेनौँ । यदि हामी आफ्नो एजेन्डा र मुद्दालाई बेच्न सकेनौँ, त्यहाँका जनतालाई प्रशिक्षित गर्न सकेनाँै भने फेरि पनि हाम्रो हालत त्यस्तै हुन्छ । सङ्घीयता, लोकतन्त्र, समावेशी, धर्मनिरपेक्षता, पहिचानलगायतका मुद्दाबाट हामी टाढा छैनौं । हाम्रै कारणले यी सब कुरा प्राप्त भएको हो भन्ने कुरा जनतालाई बुझाउन सक्नुपर्छ । सुशासन र भ्रष्टाचारका विरुद्धमा आफ्नो आन्दोलनको धार स्पष्ट गरेर जानुपर्छ । योजनाबद्ध तरिकाले हामी गयौं भने मधेसवादी दलका कुनै पनि नेता त्यहाँ टिक्न सक्दैनन् । जस्तै अहिले प्रदेश २ को नामकारणको कुरा आइरहेको छ । हामीले मिथिला र भोजपुरा नामकरणबाहेक अरू कुनैलाई मान्नु हुँदैन । हामीले अडान लिएर बस्नुपर्छ र त्यसलाई कार्यान्वयन गर्नुपर्छ । यदि मधेस प्रदेशलाई हामी मानेर गयौं भने उनीहरूको एजेन्डा स्वीकार गरेको जस्तो हुन्छ । हामीले मिथिला, भोजपुराका लागि लबिङ गर्नुपर्छ । मधेसवादी दलभन्दा फरक धार निर्माण गर्न सकिएन भने भोलि पनि त्यहीँ समस्या हुन्छ ।

समस्याहरू देखाउनुभयो, तपाईं पनि पार्टीका ठूलै नेता हुनुहुन्छ । यी कुराहरू अब एकीकृत पार्टीमा कतिको उठाउनु हुन्छ ?
–मैले यी कुराहरू उठाएको कारण विद्रोही भएको छु । एमाले पार्टीको पोलिटब्युरो बैठकमा मधेसको विषयमा अढाई घण्टासम्म कुरा राखेका थिएँ । तर सुध्रेन । माओवादी पार्टी पनि मैले मधेसको विषयमा पटक पटक बहस चलाएँ । त्यहाँ पनि साचेजस्तो काम भएन । नयाँ शक्ति नेपालले केही गर्लाजस्तो लागेको थियो तर पछि उसले पनि केही गर्ने छाँटकाँट देखाएन । पछिल्लो समय माओवादी केन्द्रले मधेसी, आदिवासी जनजाति, मुस्लिम, पिछडिएका समुदायका बारेमा सोच्न थालेका छन् । केही गर्ने सोच बनाएको छ । मधेसवादी दलले उठाउँदै आएको संविधान संशोधनको एजेन्डा माओवादीले पनि उठाएको हो । प्रस्ताव तयार गरेर संसदसम्म लगेकै हो । तर, एमालेले हुन दिएको थिएन । अर्थात मैले के भन्न खोजेको हुँ भने माओवादी केन्द्र मधेसप्रति लचिलो भएको छ । अझै पनि योजनाबाद्ध तरिकाले केही काम गर्नुपर्छ जस्तो लाग्छ मलाई । एकता भएको छ । आउने दिनमा मधेसका मुद्दालाई कसरी उठाउँछ त्यो हेर्न बाँकी छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सकिएको छ तर मधेसमा मोदीको भ्रमण विवादमा तान्यो यस्तो किन ?
–प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले विवाद मात्र होइन, फाइदा पनि भएको छ । विभिन्न सम्झौताहरू भएका छन् । जसले नेपाल–भारतबीचको सम्बन्धलाई झन बलियो बनाउँछ । तर केही कुरामा पक्कै त्रुटि भएको छ । प्रदेश २ अर्थात् जनकपुरमा मोदी आउँदा त्यहाँका फोरम नेपाल र राजपा नेपाल जो आयोजक थिए, ती दलका नेता तथा कार्यकर्ताबाट केही त्रुटि भएको छ । मुख्यमन्त्री लालबाबु राउतले संविधानप्रति असहमति जनाउनुभयो, जुन गलत थियो । उनले संविधान निर्माणको केही भूमिका बाँधेर कहाँ–कहाँ त्रुटि थियो, त्यो कुरा मात्र भन्नुपथ्र्यो । उहाँले गरिबीको कुरा गर्नुभयो । हीनताबोधको कुरा गर्नुहुँदैनथ्यो । यहाँ विभिन्न पूर्वाधारहरू छन् तर साधनस्रोतको अभावमा विकासका कामहरू भइरहेको छैन । नेपाल सरकारमार्फत त्यस कुरामा पनि ध्यानाकर्षण गराउन चाहन्छु भन्दा पनि हुन्थ्यो तर उहाँले सीधै हामी गरिब छौं, कङ्गाल छौं जस्तो कुरा गर्नुभयो । त्यो राम्रो होइन । व्यवस्थापनजन्य त्रुटि पनि भएको छ । अभिनन्दन कार्यक्रममा सहभागी हुन आउनेहरूले राष्ट्रिय अखण्डताको नारा लगाउँदै प्लेकार्ड बोेकेका थिए । ती कुरामा आयोजकले ध्यान दिन सकेन । भीआईपी भनेर हजारौँलाई कार्ड बाँडेको थियो तर त्यसलाई व्यवस्थापन गर्न सकिएन । भेडाच्याङ्ग्रा जस्तो कोचेर राखेको थियो । कतिपय भीआईपी कार्डधारीहरू अव्यवस्थित कार्यक्रमका कारण त्यहाँ जाँदै गएनन् । एमालेका नेता एवम् रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत भाषणा दिँदा एकलाइन पनि मैथिली भाषा प्रयोग गरे हुन्थ्यो । त्यहाँको पोसाक लगाएको भए पनि हुन्थ्यो । त्यस्तो गरेको भए मधेसी जनतालाई अपनत्व फिल हुन्थ्यो । बरु प्रधानमन्त्री मोदीले मैथिली बोलेर त्यहाँको जनताको मन जित्न सफल हुनुभयो । ईश्वर पोखरेल आफै राम्रो मैथिली बोल्नुहुन्छ तर बोल्नु भएन । अर्को कुरा प्रधानमन्त्री कपी शर्मा ओली जनकपुर गएर पनि जनताका बीचमा आफ्नो कुरा राख्नुभएन । उपस्थित हजारौं जनता समक्ष आफ्नो कुरा राख्नुपथ्र्यो । भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदा ठूलै सहयोग होला भनी अनुमान गरिएको थियो तर उहाँले एक अर्ब मात्र सहयोग गर्नुभयो । यो धेरै थोरै हो । मोदीले एक सय करोड सहयोग भनी सहयोग रकमको घोषणा गर्नुभयो तर एक सय करोड भनेको एक अर्ब मात्र हो । उदार भावले सहयोग गर्नुपथ्यो । भारतीय सांसद कृतिका आजादले सन्धिअनुसार जनकपुर फिर्ता लैजानुपर्ने ट्विटरमा लेख्नुभएको छ । त्यो आपत्तिजनक छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप