शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के किम जोंग उनलाई अमेरिकाले गद्दाफीकै हालतमा पुर्याउने षड्यन्त्र रच्दैछ ?

शुक्रबार, ०४ जेठ २०७५, ०९ : ५०
शुक्रबार, ०४ जेठ २०७५

बीबीसी

अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा जून १२ मा हुने भनिएको शिखरवार्ता कहिले ‘हुन्छ’ त कहिले ‘हुँदैन’ बीच झुण्डिरहेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको बयानले रुष्ट उत्तर कोरियाली नेता किम जोंग उनले अमेरिकाले जुन चाल चलिरहेको छ, त्यो स्थितीमा कुराकानी हुन नसक्ने बताए ।

बुधबार उत्तर कोरियाले आफू अमेरिकासँगको कुराकानीको हिस्सा नबन्ने चेतावनीसमेत दिए ।

ट्रम्पको समस्या उनकै राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बढाएका छन् । जोन बोल्टनका अनुसार अमेरिका उत्तर कोरियामाथि पनि ‘लिबिया मोडल’ अपनाउने सोच बनाइरहेको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनसँग ट्रम्प

‘लिबिया मोडल’माथि रुष्ट किम जोंग उनः

सन् २००३ मा लिबियाका नेता कर्नल मुअम्मर गद्दाफी परमाणु कार्यक्रम छोड्नका लागि तयार भएका थिए । त्यसको बदलामा लिबियामाथि लगाइएका धेरैजसो प्रतिबन्ध फुकुवा गरिएको थियो । तर सन् २०११ मा पश्चिमी देशको समर्थनमार्फत बिद्रोहीहरुले उनलाई सत्ताच्यूत गरिदिए । त्यसपछि उनको हत्या गरियो ।

ट्रम्पका अनुसार उत्तर कोरियासँग आफूले ‘लिबिया मोडल’ अपनाउने बारे केही पनि नसोचेको बताउँदै दुई देशबीचको कुराकानीले मूर्त रुप लिनेमा विश्वास व्यक्त गरे ।

ट्रम्पले आफ्नो सुरक्षा सल्लाहकारको बयान खारेज गरेका छन् । उनले भने, ‘उत्तर कोरियाका मामलामा हामीले लिबिया मोडलबारे सोचेकै छैनौं । गद्दाफीलाई शासनमा राखिराख्नेबारे सम्झौता भएको थिएन । जुन लिबियाली मोडलको कुरा गरिँदैछ, त्यो एकदम भिन्न थियो ।’

ट्रम्पले भने, ‘हामीले यस्तो सम्झौताबारे सोचिरहेका छौं जसमा किम जोंग हुनेछन्, उनी आफ्नै देशमा शासन गरिरहेका हुनेछन् र धनी हुनेछन् ।’

उत्तर कोरियाले कुराकानीका लागि आनाकानी गर्नुमा चीनको षड्यन्त्र हुनसक्ने ट्रम्पको आशंका छ । किम जोंग उन हालै मात्र दुई पटक चीनको यात्रामा गए र राष्ट्रपति शी जिनपिंगसँग भेटवार्ता गरे ।

ट्रम्पले भने, ‘मलाई थुप्रै कारणले यस्तो लाग्छ कि चीनले कुनै सम्झौता गर्न चाहेको छ । सायद यसको कारण व्यापार हुनसक्छ । उनलाई यसअघि कहिले पनि यत्तिको चिन्तित  देखिएको थिएन । उनले किम जोंग उनलाई भड्काइरहेको हुनसक्छ ।’

साझा सैन्य अभ्यासका लागि चिन्ताः

यता दक्षिण कोरियासँग अमेरिकाको साझा सैन्य अभ्यास जारी छ । यसबारे उत्तर कोरिया रिसाएको छ । किमका अनुसार कुराकानीका लागि अमेरिकाले स्थिती सुधार्नका लागि गम्भीर छैन ।

उत्तर कोरियाले दक्षिण कोरियामा यसै हप्ता हुने भनिएको उच्च–स्तरीय वार्ता रद्द गरेको छ । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसार अमेरिका र दक्षिण कोरिषको साझा सैन्य अभ्यास ‘उत्तेजक’ छ ।

तर अमेरिका भने संयुक्त सैन्य अभ्यासमा अडिग छ । सैन्य अभ्यासलाई रद्द नगर्ने विषयमा अमेरिकाले स्पष्ट बयान दिइसकेको छ ।

ह्वाइट हाउसकी प्रवक्ता सारा सेन्डर्सले संयुक्त सैन्य अभ्यासबारे प्रस्ट पारेकी छिन् ।

उनले भनिन्, ‘यो नियमित सैन्य अभ्यास हो र हामीलाई यसको जानकारी छ । यो हरेक वर्ष आयोजित भइरहन्छ र त्यसलाई परिवर्तन गर्ने हाम्रो कुनै सोच छैन ।’

अहिले दुबै देशबीचको शिखरवार्ताको विषयमा विभिन्न शंका उपशंका गरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप