शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बदलियो राजपाभित्रको समीकरण, देखियो पार्टीभित्र साइड इफेक्ट

बिहीबार, ०३ जेठ २०७५, १७ : २६
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– यतिखेर हरेक पार्टी क्रियाशील रहेको बेला चौथो राष्ट्रिय पार्टी राष्ट्रिय जनता पार्टी नेपाल सुस्ताएको छ ।  काँग्रेसले हालै आफ्नो केन्द्रीय कार्यसमितिको बैठक सकेर पार्टीको पदाधिकारी चयन गरि क्रियाशील रहेको छ भने माओवादी केन्द्र र एमालेबीच आज पार्टी एकीकरण घोषणा हुँदैछ ।

त्यस्तै, संघीय समाजवादी फोरम नेपाल पनि आफ्नो केन्द्रीय समितिको बैठक सम्पन्न गरि देशैभर क्रियाशील भएको छ । तर उता, राजपा नेपालमा भने नेताहरु बीचनै बोलचाल  बन्द भएजस्तो भएको छ । राजपा नेपालको अध्यक्ष मण्डलको पछिल्लो बैठक चैत २३ गते बसेको थियो । त्यसयता कुनै बैठक बसेको छैन । बैठक मात्र होइन, नेताहरु पार्टी कार्यालय पनि जान छाडेका छन् । 

चैत २३ गते अध्यक्ष मण्डलको बैठक सम्पन्न गरेर चैत २७ गते राजनीतिक समितिको बैठक बस्ने तयारी थियो । तर, अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्रराय यादव अस्वस्थ भएर दिल्ली गएपछि २७ गते बस्ने भनिएको बैठक बस्न सकेन ।

त्यो बैठक वैशाख ८ का लािग तय गरेको थियो तर दुवै नेता दिल्लीबाट ढिलो गरि फर्केका कारण वैशाख ८ गते बस्ने भनिएको बैठक पनि बस्न सकेन । वैशाख ८ गते बैठक बस्न नसके पनि राजपा नेपालले वैशाख ७ गते आफ्नो स्थापना दिवस मनायो । सो कार्यक्रममा महेन्द्रराय यादव र महन्थ ठाकुर अनुपस्थित थिए । बैशाख १२ गते राती संयोजक ठाकुर उपचार गराएर दिल्लीबाट फर्के । त्यसलगतै महेन्द्रराय यादव पनि फर्के ।

दुई नेता दिल्लीमा उपचारमा रहेको कारण देखाउँदै स्थगित गरेको पार्टीको बैठक अझै बसेको छैन, जबकि संयोजक ठाकुरलाई दिल्लीबाट फर्केको आज २२ दिन भइसकेको छ । तर, बैठक बसाउने कुनै तयारी छैन । पार्टी कार्यालयमा नेताहरु जान छाडिसकेका छन् । पार्टी कार्यालय पनि सुनसान देखिन्छ ।

पार्टीको बैठक समेत बस्न छाडेपछि रातोपाटीले उक्त पार्टीका नेताहरुसँग जिज्ञासा राखेको थियो । जवाफमा नेताहरुले संयोजक ठाकुर अस्वस्थ रहेकोले बैठक बस्न नसकेको प्रतिक्रिया दिए । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले बैठक बस्ने तयारी भइरहेको तर संयोजक ठाकुर अस्वस्थ भएको कारण ढिलाई भएको प्रतिकृया दिए ।

त्यस्तै, पार्टीका प्रवक्ता एवम् महासचिव केशव झाले पनि संयोजक ठाकुरको अस्वस्थताका कारण बैठक बस्नमा ढिलाई भएको प्रतिकृया दिए । उनले भने, ‘बैठक बसाउनमा कुनै समस्या छैन ।’ संयोजक ठाकुर अस्वस्थ रहेको भनिए पनि उनी वैशाख २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नका लागि हायात होटेल पुगेका थिए । कहिलेकाहीँ पूरानो पार्टी कार्यालय बिजुली बजार पुग्ने गरेका छन् ।  

पार्टीको बैठक बस्न नसेको कारण पार्टीभित्र विभिन्न आशंकाहरु उब्जिएका छन् । पार्टीको आन्तरिक विवादका कारण बैठक बस्न नसकेको कुरा यसले थप पुष्टि गर्छ । 

के छ समस्या  ?
राजपा नेपाल गठन भएको एक वर्ष पुरा भएको छ । राजपा नेपाल ६ वटा पार्टी मिलेर गठन भएको छ । ६ वटै दलका ६ जना अध्यक्ष मण्डलका सदस्य रहेका छन् । तीन–तीन महिनामा संयोजक फेर्ने नीति बनाएको थियो राजपा नेपालले ।  तर, हालसम्म महन्थ ठाकुरनै संयोजक भएर बसेका छन् ।

महन्थ ठाकुर संयोजक छन् भने अन्य पाँचजना अध्यक्ष मण्डलको सदस्य रहेका छन् । ६ जना ठूला नेताहरु अध्यक्षकै पोजिसनमा भएपछि त्यहाँ गुटनै निर्माण भएको छ ।  राजपा नेपालमा अहिले दुईटा गुट खडा भएको छ । महन्थ ठाकुरको नेतृत्वमा एउटा गुट रहेको छ भने राजेन्द्र महतोको नेतृत्वमा अर्को गुट रहेको छ । 

गुटको खेलमा फसेको राजपा नेपालमा राजेन्द्र महतो कमजोर भएका छन् । संसदीय दलको नेता बन्नका लागि पार्टीभित्र खेल्न थालेपछि उनलाई अन्य नेताहरुले एक्ल्याएका छन् । उनले राजपा नेपालभित्र आफ्नो पक्षको बहुमत रहेको भन्दै जसरी पनि संसदीय दलको नेता हात पार्ने दाउमा थिए । त्यसका लागि उनले पार्टीभित्र निकै चलखेल गरेका थिए । 

राजेन्द्र महतोको खेलको बारेमा थाहा पाएपछि उनलाई एक्ल्याउनका लागि अन्य नेताहरुले महन्थ ठाकुरालाई साथ दिन थालेका छन् ।  महन्थ ठाकुरतिर महेन्द्रराय यादव, राजकिशोर यादव, अनिल झा रहेका छन् भने राजेन्द्रको पक्षमा एकजना शरतसिंह भण्डारी मात्र रहेका छन् । महन्थ ठाकुरलाई नै संसदीय दलको नेता बनाउनुपर्छ भन्नेहरुको बहुमत रहेको कारण राजेन्द्र महतो बैठकबाट भागी भागी हिँडिरहेका छन् ।

उनी अहिले पार्टीभित्र आफू बलियो हुनका लागि दौडधुपमा लागेका छन् । त्यसका लागि उनले ठाकुरका पक्षमा रहेका अन्य नेताहरुलाई पनि भेटघाट गरिरहेका छन् । उनले जसरी पनि संसदीय दलको नेता बन्न चाहेका छन् । 

चुनाव गराएर भएपनि आफू संसदीय दलको नेता बन्ने भनेपछि संयोजक ठाकुरले बैठक बसाउनमा ढिलाई गरेको स्रोत बताउँछ ।  अब बस्ने बैठकको पहिलो एजेण्डा नै संसदीय दलको नेता चयन गर्ने हुनेछ । संसदीय दलको नेता महन्थ ठाकुर हुनेकि राजेन्द्र महतो त्यसको विवाद हुनेछ । तर, अहिले महन्थ ठाकुरतिर बहुमत देखिएका कारण उनी संसदीय दलको नेता हुने प्रायः निश्चित छ ।

 सबै पार्टीले संसदीय दलका नेता चयन गरिसकेका छन्, राजपा नेपालले आन्तरिक विवादका कारण चयन गर्न सकिरहेको छैन । प्रदेश  नम्बर २ मा राजपा नेपालको तर्फबाट अझै मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । तीनजना मन्त्री चयन गरिसकेका छन् तर भागवण्डामा परेका तीनजना राज्यमन्त्री अझै चयन गर्न सकिएको छैन ।

राज्यमन्त्रीका आकाँक्षी धेरै भएपछि विवादका कारण बैठक बसाउन नसकेकेको हो । पार्टी गठन भएको एक वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरिए पनि पार्टीको वार्षिकउत्सव मनाईसक्दा पनि महाधिवेशन कहिले गर्ने टुगों लागेको छैन ।  राजनीतिक समितिको बैठकले महाधिवेशनको मिति तोक्ने एजेण्डा समेत तय गरेको थियो ।

   
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप