शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज नयाँ पार्टी मात्र होइन, नेपालको भविष्य दर्ता गर्दैछौँ : प्रधानमन्त्री ओली (भिडियो)

बिहीबार, ०३ जेठ २०७५, १० : ०२
बिहीबार, ०३ जेठ २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज हुन लागेको पार्टी एकता फुट्नका लागि नभएर जुट्नका लागि भएको स्पष्ट पारेका छन् ।

२५ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरु फुट्छन् मात्र भन्ने कुरा सुन्दा वाक्क भएको बताउँदै अब कम्युनिष्टहरु जुट्ने मात्र बताए ।

उनले दुई पार्टीको एकतापछि गरिने नयाँ पार्टी दर्ताले नेपालको भविष्य निर्धारण गर्ने जिकिर गरे । ‘सबैले सोचेका होलान्, आज पार्टी दार्ता मात्र हो,’ उनले भने, ‘नेपालको भविष्यको दर्ता गर्दैछौँ । यसले नेपालको कता जाँदैछ भनेर निर्धारण गर्नेछ ।’

प्रम ओलीले आजै दुवै पार्टीको केन्द्रीय कमिटी भंग भएर नयाँ केन्द्रीय कमिटी बन्ने बताउँदै यसले नेपालीको जनताको भाग्य भविष्य निर्धारण गर्ने दाबी गरे ।

उनले पार्टी एकता कसैलाई दमन होइन, समृद्धि र विकास गर्न, शासन होइन सेवा गर्न, भ्रष्टाचार गर्न होइन भ्रष्टाचार नियन्त्रण गर्नका लागि गरिएको पनि स्पष्ट पारे ।

उनले दुई पार्टी एकता भएपछि काँग्रेस अब प्रतिस्पर्धी पार्टी नभएर सहयोगी पार्टी बनेको पनि जिकिर गरे ।

उनले पार्टी एकताबाट आफू उत्साहित भएको पनि उल्लेख गरे । ‘हिजो बिहानै उत्साहित थिएँ, प्रचण्ड भेटेपछि झन्ै उत्साहित भएँ,’ उनले भने ।

त्यस्तै, कार्यक्रममा निकै छोटो सम्बोधन गरेका माओवादी अध्यक्ष प्रचण्डले आजै पार्टी एकता घोषणा गर्नका लागि आफूले नै पहल गरेको जिकिर गरे ।

‘इतिहास नयाँ ढंगले निर्माण गर्दैछौँ,’ उनले भने, ‘संघर्ष, रुपान्तरण एकता भएर एकता गरेका हौँ ।’

मदन भण्डारीबारे चर्चा गर्दै उनले भण्डारी नेपाली जनताले जन्माएको पात्र भएको र उनी वर्गप्रति इमान्दार रहेको जिकिर गरे ।

उनले इतिहासका निर्माता जनता भएको कुरामा जोड दिएका थिए ।

प्रचण्डले छोटो मन्तव्य दिएपछि प्रधानमन्त्री ओलीले प्रचण्डको भाषण सुन्न आज सभागृह आउन सबैलाई आमन्त्रण गरेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप