बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सेवाको गुणस्तर अभिवृद्धि गर्न एनसेलको १२ अर्ब लगानी थप

बुधबार, ०२ जेठ २०७५, २० : ११
बुधबार, ०२ जेठ २०७५

काठमाडौं । निजी क्षेत्रको मोवाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले सन् २०१७ मा १२ अर्ब रुपैयाँ थप लगानी गरेको छ । कम्पनीको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को एकीकृत वार्षिक प्रतिवेदनका अनुसार एनसेलले नेटवर्क विस्तार तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न सन् २०१७ मा रु १२ अर्ब लगानी गरेको हो ।

कम्पनीले २०१७ मा प्रविधि तटस्थताको अनुमति प्राप्त गरेसँगै कम्पनीले फोरजी सेवा सञ्चालन, थ्रिजी नेटवर्क विस्तारलगायत अन्य आधुनिकिकरणको कार्यमा नयाँ लगानी गरेको हो । 

प्रविधि तटस्थताको अनुमति पाएसँगै कम्पनीले २०१७ भित्र १५ प्रतिशत जनसंख्यामा फोरजी सेवा पुर्याउने र ९०० मेगाहर्जमार्फत ग्रामिण र दुरदराजका भेगमा दु्रतगतिको मोबाइल डाटा सेवाका लागि थ्रिजी सेवाको विस्तार गर्ने बताएको थियो ।

घोषणा गरेझैं एनसेलले २०१७ मा आफ्नो फोरजी सेवा २१ शहरमा विस्तार गरेको र यसले १५.५ प्रतिशत जनसंख्यालाई फोरजीको पहुँचमा पुर्याएको आजियाटाले आफ्नो वार्षिक प्रतिवेदनमा जनाएको छ । साथै एनसेलले थ्रिजी सेवा कुल जनसंख्याको ५४ प्रतिशत जनसंख्याको पहुँचमा पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।

‘एनसेलको थ्रिजी सेवा कभरेज ५३.९ जनसंख्यामा पुगेको छ,’ उक्त वार्षिक प्रतिवेदनमा भनिएको छ । एनसेलले सन् २०१७ को अन्त्य सम्ममा २,६९९ थ्रिजी साइटहरु जडान गरी सेवा संचालन गर्दै आएको छ र सेवा विस्तारसँगै थ्रिजी दुर दराजमा गाँउहरुमा पुगेको छ ।

प्रतिवेदन अनुसार, एनसेलले फोरजी र थ्रिजीको विस्तारका कारण एनसेलको डाटा ग्राहक संख्या र इन्टनेटबाट हुने आम्दानी पनि बढेको छ । कुल आयमा इन्टरनेटबाट हुने आयको १९ प्रतिशत योगदान रहेको र इन्टरनेटबाट मात्र हुने कम्पनीको आम्दानी १७.८ प्रतिशतले बढेको र साथै इन्टरनेट खपतको भोल्युम पनि १३१ प्रतिशतले वृद्घि भएको सो प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले सन् २०१७ मा कुल रु ५८.१ अर्ब आय गरेको थियो । प्रतिवेदन अनुसार एनसेलका कुल १ करोड ६४ लाख ग्राहक छन् र ७१ लाख ग्राहकले मोवाइल इन्टरनेट सेवा लिएका छन् । 

दु्रत गतिको मोबाइल इन्टरनेट सेवाको पहुँचबाट ग्राहकहरुले विभिन्न फाइदाहरु लिन सक्छन् । विश्व बैंकले गरको एक अध्ययनका अनुसार, मोबाइल ब्रोडब्याण्डमा पहुँचले तत्काल आर्थिक वृद्धिदर बढाउन मद्दत गर्दछ । ब्रोडब्याण्ड जनघनत्वमा १० प्रतिशत विन्दुले वृद्धि हुँदा देशको आर्थिक वृद्धिदर १.३८ प्रतिशत विन्दुले बढ्ने उक्त अध्ययनले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप