बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूरानै कोट र टोपीको आदर्शता: ‘६ महिना नटिकेको एउटा खुसी’

बुधबार, ०२ जेठ २०७५, १८ : ५१
बुधबार, ०२ जेठ २०७५

हेमराज ढकाल 
काठमाडौं– आफ्नै पार्टीभित्र मात्र होइन अन्य पार्टीका नेता र कार्यकर्ता माझपनि लोकप्रिय व्यक्तिको निधनले भक्तपुर जिल्लाका धेरैको मन दुःखी तुल्याएको छ ।  उही पूरानै कोट र ढाका टोपीमा चिनिएका  हरि शरण लामिछाने एक आर्दश व्यक्तिको रुपमा परिचित थिए ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ तेलकोटमा वि.सं. २०२४ साल फागुन ११ गते पिता हरिप्रसाद र माता देवमाया लामिछानेको कोखबाट जन्मेका लामछिाने भक्तपुरको बामपन्थी आन्दोलनका एक हस्ती हुन् । 

लामो राजनीतिक यात्रामा लाभको पद प्राप्त नगरेका हरिगुरु २०७४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र १ बाट एमालेका तर्फबाट निर्वाचित थिए ।  तर, उनको यो सांसद पद ६ महिनाको समयपनि कटेन । त्यागी ३६ बर्षे उनको राजनीतिक जीवनले विश्राम पायो । जीवनमा धेरै त्याग र समर्पण गरेका मध्येमा पर्ने उनी जब राज्यको महत्वपूर्ण पदमा पुग्न सफल भए, तब परिवार र वरिपरि खुसीहरु नफुल्ने कुरा भएन । तर, उनीहरुको त्यो खुशी पनि धेरै समय टिक्न सकेन ।

सबैका आदर, सम्मान र मायाकै कारण उनले सबैमाझ ‘हरिगुरु’ को उपमा पाएका  थिए । अचानक देखिएको मस्तिष्कघात नै उनको जीवनको अन्तिम समय बनेर आयो ।  यसअघि कुनै रोग र स्वास्थ्य समस्याका कारण कहिल्यै अस्पताल पुग्नु परेन तर, गत आइतबार एकाएक घरमै छटपटिएर लडेका प्रदेश नम्बर ३ का सांसद लामिछाने अब कहिल्यै फर्केर नआउने गरि बिदा भए ।

सामान्य परिवारमा जन्मिएका लामिछानेले राजनीतिमै आफ्नो जीवन अर्पण गरे । त्यहीकारण उनको आर्थिक अवस्था राम्रो हुन सकेन ।  सांसद बनेपनि सांसदको सुविधा लिन पाएनन् हरिगुरुले । अहिले उनको निधनले भक्तपुर र उनका सुभेच्छुक मर्माहत बनेका छन् । 

परिवारमा अभिभावक गुमाउँदाको पीडा त छदैछ चुनावमा गरेको खर्च र छोरीको विवाहमा भएको खर्चको आर्थिक भार पनि परिवारमा थपिएको छ ।  घर व्यवहार पूर्ण रुपमा जिवनसंगिनी निर्मलाले कृषि कार्यबाटै धानेको भएपनि अब श्रीमानले निर्वाचनमा खर्च गरेको खर्चको भार पनि निर्मलाकै काँधमा आएको छ । 

झौखेलकी निर्मलासँग वि.सं. २०४० सालमा लगनगाँठो कसेका हरिशरणले जीवनमा घरपरिवारलाई भन्दा पनि समाजसेवा र राजनितिक जीवनलाई नै महत्व दिए ।  राजनीतिसँगै पुख्र्यौली जमिनमा श्रीमती निर्मलाले धानेको कृषि कर्ममा कहिलेकाँही सक्रिय बने । कृषिकार्यबाट नै परिवारको सामान्य जीवनशैली अगाडी बढ्यो । 

श्रीमती, एक छोरा, तीन छोरीसहित ६ जनाको परिवारको दैनिकी, पढाई खर्च जेनतेन चल्ने अवस्था बन्यो । दुई छोरीको विवाह सम्पन्न भयो ऋण काटेर, चुनाव खर्च पनि ऋण लिएरै गरे उनले । उनको र परिवारको जीवनशैली पीडामै गुज्रियो ।

 वि.सं. २०७२ बैशाखको भूकम्पले भएको एउटा घर पनि भत्काइदियो । त्यसयता उनको दैनिकी टहरामा बितिरहेको थियो । उनी भत्किएको घरको पिँढीमा रहेको खाटमा नै सुत्ने गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप