शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेटमा सन्दीपको छलाङ, विश्व–११ टोलीबाट लर्डसमा खेल्न छानिए

बुधबार, ०२ जेठ २०७५, १७ : ०८
बुधबार, ०२ जेठ २०७५

काठमाडौं– नेपाली क्रिकेटर सन्दीप लामिछाने विश्व–११ टोलीबाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसी विश्व ११ र वेस्ट इन्डिजबीच ट्वान्टी खेल मे ३१ मा इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ ।

यो खेलका लागि सन्दीप विश्व ११ को टोलीमा परेको विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले जनाएको छ ।

सन्दीप पहिलो पटक नेपाली खेलाडीका रुपमा विश्व ११ को टोलीमा परेका हुन् । 

उनी हाल इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको टोलीमा छन् ।

उनले सन् २०१६ को जुलाईमा नेपाली राष्ट्रिय टोलीबाट लर्डसमा खेल्दै मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध १ विकेट लिएका थिए ।

 सन्दीपसँगै विश्व–११ टोलीमा इयोन मोर्गन (कप्तान), शाहीद अफ्रिदी, तमिम इकबाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेगन, शोहेब मलिक, हार्दिक पाण्डेया, थिसारा परेरा र लुक रोन्ची रहेका छन् ।

यसबारे प्रतिक्रिया दिँदै सन्दीपले विश्व ११ टोलीमा छनौट हुन पाएकोमा निकै गर्वान्वित महसुस गरिरहेको बताएका छन् । ‘यो नेपाल र नेपाली क्रिकेट प्रेमीका लागि सम्मानको विषय हो,’ उनले भने, ‘यो अन्तर्राष्ट्रिय क्रिकेटमा हामीले छाप छाड्न थालेको संकेत पनि हो ।’

टिभीमा हेर्दा आएका खेलाडीहरुसँग सँगै ड्रेसिङ रुम सेयर गर्न र उनीहरुसँग प्रशिक्षण गर्न आफ्नो लागि धेरै कुरा सिक्ने आफ्नो खेल सुधार गर्ने ठूलो अवसर भएको सन्दीपले बताएका छन् ।

‘लर्डस, यो क्रिकेटको घर हो । सन् २०१६ मा त्यहाँ खेल्न पाउँदा अविस्मरणीय क्षण थियो । अब फेरि त्यहाँ खेल्नका लागि उत्सुक छु । यसले मेरो खेल मात्र होइन, विश्व क्रिकेटको नक्सामा मेरो देशको स्थान सुदृढ बनाउन पनि मद्दत गर्नेछ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप