शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्याप्टेन किरण भट्टराई : दुईवटा दुर्घटनामा भाग्यले बाँचे, तर अहिले...

बुधबार, ०२ जेठ २०७५, १३ : ०९
बुधबार, ०२ जेठ २०७५

मिति : २०७० जेठ १८ गते शनिवार
उडान : नेपालगञ्ज टु सिमिकोट

किरण भट्टराई अनुभवी पाइलट हुन् । नेपालको ग्रामिण भूभागहरुमा उडान भर्नमा उनी माहिर थिए । हूम्ला, जुम्ला, डोल्पा, सुर्खेत, बाजुरा लगायतका स्थानमा सेवा दिनु उनको पहिलो प्राथमिकतामा पथ्र्यो । 

सन् २०१३ को जुन १ अर्थात् २०७० सालको जेठ १८ मा उनी नेपालगञ्जबाट हुम्लाको सिमिकोटमा उडान भर्दै थिए । तत्कालिन समयमा उनी सीता एअरलाइन्सका कार्यरत थिए र सीता एअरको नाइन एन एनएचबी कलसाइनको विमानमा ५ जना यात्रु बोकेर उनी सिमिकोट जाँदै थिए । उनको साथमा कोपाइलट दिपक शाहसमेत थिए । 

तर, जब बिहानको ७ बजेर १० मिनेट जाँदा विमान सिमिकोटमा अवतरण गराउन खोजियो, विमानले सन्तुलन कायम राख्न सकेन र बायाँ पङ्खाले धावनमार्गमा छायो । बायाँ पङ्खाले धावनमार्गमा छोएलगत्तै विमान पूरै अनियन्त्रित भयो र त्यसपछि दायाँ पङ्खाले समेत भुईँ छोयो र विमानको अन्य भागमासमेत क्षति पुग्यो । 

उक्त दुर्घटना धावनमार्गमै भएको कारणले तत्कालै उद्धार भयो र आगलागी हुन पाएन । जसका कारण चालकदलका दुई सदस्यसहित सबै यात्रुहरु सकुशल रहे ।  

मिति : २६, चैत्र २०७४
उडान : सिमिकोट टु सुर्खेत

आजभन्दा ठीक ३५ दिन अगाडि अर्थात् २०७४ चैत २६ (९ अप्रिल २०१८) गते पनि क्याप्टेन किरण भट्टराई अर्को ठूलै दुर्घटनाबाट जोगिएका थिए । 

मकालु एअरको नाइन एन एजेजी कलसाइनको विमान हुम्लाको सिमिकोटबाट सुर्खेतमा उडान भर्दै थिए । विमान स्टार्ट गरेर सिमिकोटको रनवेमा गुडाउन थालिसकेका थिए र विमान १५ मिटर अगाडि बढिसकेको थियो । विमानमा चालकदलका दुई सदस्यसहित १० जना यात्रु गरी १२ जना सवार हुँदै थिए । 

तर, जब विमान रनवेमा गुड्न थाल्यो, क्याप्टेन किरण भट्टराईले विमानको हाइड्रोलिकमा समस्या भएको पत्ता लगाए र टेक अफ गर्ने लागेको बेला अकस्मात् विमान रोके र इञ्जिन बन्द गरे । त्यतिबेला पनि यदि उनले समस्या पत्ता लगाउन नसकेको भए त्यतिबेलै ठूलो दुर्घटना हुन सक्दथ्यो । यद्यपि त्यतिबेला उनको चलाखीले आफूसहित अन्य ११ जनाको ज्यान जोगाए । 

मिति : २०७५ जेठ २ गते 
उडान : सुर्खेत टु हुम्ला

दुईपटक भाग्यले बाँचेका क्याप्टेन किरण भट्टराई यसपटक भने बाँच्न सकेनन् । बुधबार बिहान ६ः१० बजे सुर्खेतबाट हुम्लाको लागि उडेको कार्गो विमान लिएर उनी उडान भर्दै थिए । तर उनी गन्तब्यमा पुग्नै पाएनन् । उडान भरेको केही समयपछि राडारको सम्पर्कभन्दा बाहिर रहेका उक्त विमान हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक्लबुजखर्कमा स्थानमा दुर्घटना भयो । 

दुर्घटनामा विमानका क्याप्टेन किरण भट्टराईसहित कोपाइलट आदित्यनाथ नेपालीले पनि आफ्नो ज्यान गुमाए । 

कोपाइलट नेपाली मकालु एयरका सञ्चालक फिजोनाथ नेपालीका छोरा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप