केन्द्रीय संस्करण

आँखा स्वास्थ्यमा नेपाल सार्क राष्ट्रमै सफल

person access_timeजेठ २, २०७५ chat_bubble_outline0

काठमाडौँ । नेपालको पुरानो आँखा अस्पतालमा आँखा उपचारको सेवा लिनेको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । 

वीरबाट छुट्टिए र छुट्टै आँखा अस्पतालको रूपमा सञ्चालनमा आएको पनि ४४ वर्ष भयो । नेपालको आँखाको स्वास्थ्य क्षेत्रमा यो अवधिमा धेरै परिवर्तन आएको छ । अन्य स्वास्थ्यभन्दा आँखा स्वास्थ्यमा एसियामा नै राम्रो रहेको छ नेपाल । एसियामै राम्रो भए पनि आँखा अस्पतालमा सेवाग्राहीहरूको गुनासो भने उस्तै रहेको छ ।    

एक व्यक्ति हस्याङ्फस्याङर्दै आँखा अस्पताल त्रिपुरेश्वर अस्पताल प्रमुख प्रशाकीय अधिकृत रमेसप्रसाद अधिकारीको टेबुलमा कागज फाल्दै भने खै डाक्टर ?  १ बजे डाक्टर आउने भने पनि साढे १ बजेसम्म डाक्टर नआउँदा ती व्यक्ति प्रशासक प्रमुख भएकै ठाउँमा डाक्टर खोज्दै आइपुगे । यता अधिकृत अधिकारीले भने पठाइदिन्छौँ भन्दै फर्काइदिए । 

अस्पतालमा आँखाको जाँच गराउन आउने अन्य व्यक्तिले पनि समयमा चिकित्सक नआएको गुनासो सुनाएका थिए । प्रशासनले आफ्नो गल्ती ढाकछोप गर्न खोजे पनि ढाक्न सकेन । 
यता प्रशासन प्रमुखले भने बिहान ८ देखि १२ः३० सम्म बिरामीको निकै भीड हुने भएका कारण सेवाग्राहीबाट कहिलेकाहीँ यस्तो गुनासो आउने गरेको बताए । 

यसरी गुनासोसँगै अस्पतालमा सेवा लिन आउनेको सङ्ख्या दैनिक ५ देखि ६ सयको हाराहारीमा हुन्छ । आ.व. २०७३÷०७४ मा ७२ हजार नयाँ र पुराना २८ हजार, मेन र माइनर सर्जरीमा ४५ सय, ७ हजारले बाङ्गो टिङ्गो आँखा जाँच, विशेष क्लिनिकमा साढे १० हजारले आँखा परीक्षण गराएका थिए । यसरी प्रत्येक वर्ष ५ देखि १० प्रतिशत बिरामीको सङ्ख्या बढ्दै गइरहेको अस्पतालले जनाएको छ ।       
 

मोतिबिन्दु पहिलो नम्बरमा  
प्रमुख प्रशासक अधिकारीले जनाएअुनसार आँखा परीक्षण गरेकामा सबैभन्दा धेरै मातिबिन्दु बिरामीहरू आउने गरेका छन् । त्यसपछि क्रमशः आँखामा चस्माको प्रयोग गर्नुपर्ने रोग, रेटिना र गुल्कोमा पनि बढी मात्रमा देखिँदै आइरहेको छ ।  महिला र पुरुषको आधारमा कुरा गर्ने नै हो भने महिला र पुरुषको सङ्ख्या बराबरजस्तै देखिने अस्पतालले भनाइ छ ।


गत वर्ष आँखा अस्पतालका लागि ३ करोड २५ लाख रकम विनियोजन गरिएको थियो । सेवा लिनेको सङ्ख्या अनुसार  सरकारको बजेट आँखा अस्पतालका लागि भने अपर्याप्त भएको अस्पतालको भनाइ छ । आँखाको क्षेत्रमा सरकारले पर्याप्त चासो नदेखाए पनि आँखा स्वास्थ्य सार्क राष्ट्रमा नै नेपाल अघिल्लो स्थानमा रहेको प्रशासक अधिकारीले बताए । हाल नेपालमा १८, १९ वटा आँखा अस्पताल देशभरी सञ्चालन भइरहेका छन् ।

बालबालिकाको आँखामा लेजी आईको समस्या 
प्रत्येक वर्ष आँखा अस्पताल र नेपाल सरकारको सहकार्यमा ४० देखि ५० वटा शिविरहरू सम्पन्न हँुदै आइरहेको छ । शिविरमा बालबालिकाको आँखा परीक्षणको लागि स्कुलस्क्रिनिङ क्याम्पमार्फत ३५ सय बालबालिकाको आँखा परीक्षण गरिँदै आइरहेको छ । शिविरबाट बालबालिकामा लेजीआईको समस्या देखिएको छ । लेजीआई अर्थात बालबालिकाले आँखा देखेको जस्तो गर्ने तर नदेख्ने समस्या धेरैमा देखिएको शिविरबाट आएको रिर्पाेटले देखाएको छ । लेजीआई रोग भएको बालबालिकाले आँखा हेरेजस्तो गरे पनि अक्षर नदेख्ने यस्तो समस्या अविभावकले पनि थाहा नपाउने हुँदा परीक्षणबाट नै थाहा हुने गर्दछ । यस्तै परीक्षणबाट बालकालिकाको आँखामा देखिने अधिकांश समस्या चस्मा प्रयोगबाट निको भइरहेको अधिकारीले बताए । शिविर सरकारको पनि सहभागिता भएका कारण आँखा अस्प्तालले शिविरमार्फत पनि नागरिकको आँखा परीक्षण गराउँदै आइरहेको छ । शिविरबाट हरेक वर्ष १७ हजार नागरिकले निःशुल्क सेवा पाएका छन् ।  


शिविरमा औषधिको प्रयोग गर्नुपर्ने बिरामी भएको खण्डमा निःशुल्क औषधि वितरण गर्ने यदि आँखाको अप्रेसन गर्नुपरेको खण्डमा अस्पतालमा ल्याएर निःशुल्क अप्रेसन पनि गर्ने गरिएको अस्पतालको भनाइ छ । सरकारको सहकार्यमा सञ्चालन भएको शिविर रसुवा, नुवाकोट उपत्यका आसपासका जिल्लाहरूमा शिविर केन्द्रित हँुदै आइरहेको छ । प्रमुख अधिकारी भन्छन्, पहिला देशभरकै बिरामी धान्ने एक मात्र आँखा अस्पताल थियो । सुरुवातको समयमा अप्रेसन गर्नका लागि ३ देखि ४ महिना कुर्नुपथ्र्याे । अहिले विभिन्न ठाउँमा अस्पताल सञ्चालन भएपछि अलि होलो भयो । आँखा अस्पताल सञ्चालन गर्ने अधिकांश नेत्रविशेषज्ञहरू आँखा अस्पतालमा नै अध्ययन गर्नेहरू छन् । दैनिक आँखा परीक्षणका लागि ५ सय आउँछन्, विभिन्न डिपार्टको गर्दा हजार पुग्ने अधिकारीको भनाइ छ ।

नियमित जाँच गराउने निकै कम
नेपालमा आँखाको पनि नियमित परीक्षण गर्नुपर्छ भन्ने सोचको विकास निकै कम नागरिकमा मात्रै रहेको छ । आँखा अस्पतालमा उपचार गर्न आउनेमध्ये ५ देखि १० प्रतिशत मात्रै नियमित परीक्षणका लागि आउँछन् । नत्र अरू बिरामी भने दैनिक कामकाजमा समस्या भएपछि मात्रै उपचारका लागि अस्पताल आउँछन् । अस्पतालको अनुसार सकेमा ६ महिना नत्र एक वर्षमा आँखाको नियमित परीक्षण गर्नुपर्ने हुन्छ । आँखाको अप्रेसनको केसको कुरा गर्ने हो भने झनै ढिला गर्छन्, अप्रेसन नै गर्नुपर्ने अवस्थामा पनि देखिराखेकै छ । 

यसकारण दिन्छौँ प्रभावकारी सेवा 
प्रशासन प्रमुख अधिकारी भन्छन्– ‘नेपालको आँखा अस्पतालको भारतको आँखा अस्पतालसँग प्रतक्ष सहकार्य रहेको हुँदा आँखा स्वास्थ्यमा सहज भइहेको छ ।’ आँखा अस्पताल हुने विभिन्न तालिम, सेमिनार गोष्ठीमा, आँखाको बारेमा जानकारी दिनका लागि उतैबाट नेत्र विशेषज्ञहरू आउने गरेका छन् ।’ अस्पतालमा सुधार गर्नुपर्ने कुराहरू धेरै गरेका छौँ, कतै चुकेको जस्तो लाग्दैन । यदि भेटिएको खण्डमा सुधार गर्दै जाने छाँै ।’ हाल आँखा अस्पतालले दैनिक २० देखि २५ जनाको आँखा अप्रेशन गर्दै आइरहेको छ । आउने, अप्रेसन गरेर घर फर्किने धेरै भएको हुँदा बेड राख्ने चलन छैन । तर उपत्यका बाहिरका बिरामी र कुनै अस्पतालमा नै बस्नै पर्नेहरूको लागि ९९ बेड राखेको अस्पतालले जनाएको छ ।

गरिब र मध्यम परिवारको रोजाइ 
यस आँखा अस्पतालमा सेवा लिनेमा धेरै गरिब र मध्यम वर्गका परिवारहरू रहेका छन् ।  धनी वर्ग केही सङ्ख्यामा मात्रै आउने गरेका छन् । प्रशासन प्रमुख अधिकारी भन्छन् उच्च धनी वर्ग कसैले पनि यो अस्पतालमा उपचार गराएका छैनन् । ‘हाम्रो अस्पतालमा आउने भनेको गरिब वर्गहरू नै छन् । हामी कहाँ साढे ८ देखि साढे १२ सम्म टिकट काउन्टर खुला हुन्छ, आएका बिरामी फिर्ता जानुपर्दैन । मेजर र माइनर  दुईथरीका अप्रेशन हुन्छन् । माइनरमा १५ सयदेखि २ हजारसम्म शुल्कमा अप्रेसन हुन्छ भने मेजर अर्थात मोतिबिन्दुको अप्रेसनलाई ८ हजार ५ सय पर्छ । 

४ ठाउँमा भिजन सेन्टर 
अब अस्पतालले उपत्यकको विभिन्न ठाउँमा भिजन सेन्टर सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । उपत्यकाको टोखा, थानकोट, कोखना र साँखुमा भिजन सेन्टर सञ्चालन गरिने छ । यता काठमाडौँ महानगपालिकाको टोखामा भिजन सेन्टर सञ्चालनमा आएको ७ महिना भइसकेको छ ।  सो भिजन सेन्टरबाट नागरिकले सेवा पाइरहेको छन् । यता थानकोटमा पनि जेठमा नै भिजन सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ । अन्य २ ठाउँमा आउने असोज महिनासम्ममा सम्पन्न हुने अस्पतालले जनाएको छ ।  एउटा भिजन सेन्टर सञ्चालनका लागि १८ देखि २० लाख खर्च लाग्ने अस्पताल प्रशासनले जनाएको छ । 
 

अञ्जु तामाङ

अञ्जु तामाङ रातोपाटीकी संवाददाता हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ