शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कसको सल्लाहमा तयार पारेका थिए दुई नम्बर प्रदेशका मुख्यमन्त्री राउतले विवादित भाषण ?

बुधबार, ०२ जेठ २०७५, ११ : ११
बुधबार, ०२ जेठ २०७५

काठमाडौं– २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा गरेको सम्बोधन भाषण आफैले तयार पारेको दाबी गरेका छन् । 
आफू उक्त प्रदेशको मुख्यमन्त्री भएको हैसियतले आफ्नो प्रदेशमा भएको कार्यक्रममा आफूले गर्ने सम्बोधनबारे अरूसँग सल्लाह गर्नुपर्ने आवाश्यक्ता नदेखेकाले सो सम्बोधन आफैले तयार पारेको मुख्यमन्त्री राउतले दाबी गरे । 

मुख्यमन्त्री राउतले मोदीको अभिनन्दनका क्रममा गरेको सम्बोधनको केही अंशप्रति मुख्य राजनीतिक दल तथा तिनका नेता, केन्द्र सरकार र प्रदेश सांसदहरूले समेत आपत्ति जनाइरहेका वेला राउतले भने आफ्नो अभिव्यक्ति स्थानीय जनताको प्रतिनिधित्व गरेर नै आएको दाबीसमेत गरे । 

रातोपाटीसँग बुधबार बिहानको टेलिफोन सम्पर्कमा मुख्यमन्त्री राउतले भने, ‘मैले त्यो कार्यक्रममा दिएको अभिव्यक्ति र सम्बोधनका अंश सही छन् । सम्बोधन पनि म आफैले तयार पारेको हो । म आफै उक्त प्रदेशको मुख्यमन्त्री भएको हैसियतले सम्बोधनबारे अरू कसैसँग छलफल र परामर्श गर्न जरुरी ठानिनँ ।’

के  भनेका थिए मुख्यमन्त्री राउतले ?
‘राज्यद्वारा मधेसीमाथि जारी विभेदकारी नीति र पूर्वाग्रह एवम् विद्वेषपूर्ण मानसिकताको कारणले नै मधेसका जनता तुलनात्मक रूपले अत्यधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शासित एवम् उत्पीडित जीवन जिउनका लागि बाध्य छन् । मधेस विकासको मामलामा निकै पछाडि परेको हो । हाम्रो सङ्घर्ष आज पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि जारी छ । हामी नेपालको अभिन्न अङ्ग हौँ तर हामी के चाहन्छौँ भने हाम्रो देशमा पनि बिना भेदभावपूर्ण, कुनै पनि जाति, वर्ग र समुदायको व्यक्ति राज्यको हरेक तह, तप्का र निकायमा उसको क्षमता र योग्यताले समावेशका लागि सहज अवसर प्राप्त होस् । जस्तो कि महामहीम तपाईं एक समान्य परिवारको हुँदाहुँदै पनि भारतको सर्वोच्च कार्यकारी पद आसिन हुनुहुन्छ ।’

कुनै हालतमा फिर्ता नलिने दाबी
मुख्यमन्त्री राउतले दिएको अभिव्यक्तिप्रति केन्द्र सरकारले समेत आपत्ति जनाइसकेको छ । केन्द्र सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबारको संसद बैठकमा उक्त अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएकाले मुख्यमन्त्री राउतले फिर्ता लिनुपर्ने बताएका थिए । तर, मुख्यमन्त्री राउतले आफू उक्त अभिव्यक्ति कुनै हालतमा फिर्ता नलिने अडानमा छन् । उनले भने, ‘तपाईंहरू मेरापछि, सम्बोधनका पछि कति लाग्नुहुन्छ ? त्यो अभिव्यक्ति मधेसका जनताको माग हो, भावना हो । सही कुरा गर्दा मधेसी जनता खुशी भएका छन् । तालिले स्वागत पनि गरेका छन् । अब कसैले भन्दैमा मैले मेरो अभिव्यक्ति फिर्ता लिनुपर्ने कुनै कारण छैन र म लिन्न पनि ।’

सम्बोधनबारे किन गरेनन् राउतले छलफल ? 
मुख्यमन्त्री राउत सङ्घीय समाजवादी फोरमबाट २ नम्बर प्रदेशको मुख्यमन्त्री बनेका हुन् । सङ्घीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका उपेन्द्र यादव हुन् । पार्टी अध्यक्ष र पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादवसँग पनि राउतले सम्बोधनबारे छलफल गर्नसक्ने विकल्प थियो । तर उनीहरूसँग कुनै छलफल नगरेको राउतको भनाइबाटै पुष्टि हुन्छ । यद्यपि, मोदीको जनकपुर भ्रमणका बेला अध्यक्ष यादवसहित राजपा नेता राजेन्द्र महत्तो समेत जनकपुरमै रहेका थिए । यो प्रदेशमा फोरमसँगै राजपा नेपालको सत्तासहयात्रा पनि छ । तर, राउतले आफ्नो प्रदेशमा आउने विशिष्ट पाहुनाको उपस्थितिमा गर्ने सम्बोधनबारे सत्ता सहयात्री दल राजपासँग समेत कुनै छलफल गर्न जरुरी ठानेनन् । त्यति मात्रै होइन, मुलुकमा सङ्घीयता लागू भए पनि मुलुकको परराष्ट्र नीति केन्द्र सरकारको मातहतमा हुने भन्ने प्रष्ट प्रावधान छ । त्यसो भएकाले मुख्यमन्त्री राउतले उक्त सम्बोधन तयार गर्दा परराष्ट्रका अधिकारीसँग समेत परामर्श गर्न सक्थे । जनकारहरूका अनुसार यसरी छलफल भएको भए उनको सम्बोधन विवादित नहुन सक्थ्यो । 

सडकदेखि सदनसम्मै विरोध
मुख्यमन्त्री राउतले आफ्नो आन्तरिक समस्यामा देशभित्रैबाट समाधान खोज्नुपर्नेमा विदेशीलाई सुनाएर चाकडी गरेको भन्दै सडकदेखि सदनसम्म नै त्यसको विरोध भइरहेको छ । केन्द्र सरकारले त उनलाई अभिव्यक्ति फिर्ता लिन नै निर्देशन दिइसकेको छ भने सङ्घीय संसदमा सबैजसो दलहरूले उनको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको बताएका छन् । त्यस्तै राउतले स्थानीय जनताको भावना सम्बोधनमा समेटेर खुशी भएको दाबी गरे पनि २ नम्बर प्रदेशकै एमाले, माओवादी र काँग्रेसका सांसदहरूले मङ्गलबारको प्रदेशसभा बैठकमा चर्को आपत्ति जनाए । यसका साथै सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा समेत राउतको अभिव्यक्तिको विरोध भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप