शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी भ्रमणमा नेताका भिन्नभिन्नै आँखा : यी हुन् कसैले देखेका र कसैले नदेखेका मुद्दा

मङ्गलबार, ०१ जेठ २०७५, १३ : ३०
मङ्गलबार, ०१ जेठ २०७५

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे सवाल–जवाफ जारी छ । 

यो भ्रमणको पक्ष र विपक्षमा बहस जारी रहँदा राष्ट्रियताको मुद्दा थप पेचिलो बनाइएको छ । 

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई सत्तापक्षले सफलता ठानेको छ भने प्रतिपक्षले भ्रमणका बेला भएका गतिविधिमाथि प्रश्न उठाएको छ । 

जनस्तरदेखि जनताका प्रतिनिधिहरू समेतले मोदी भ्रमणबारे सवाल–जवाफ गरिरहेका छन् । विभाजित देखिएका छन् । 

सडकमा जनस्तरबाट गरिने सवालजवाफको त्यति महत्व नरहे पनि जनताका प्रतिनिधिहरूले जनताकै सर्वोच्च थलो मानिने संसदमा गर्ने सवाल–जवाफले भने धेरै महत्व राख्छ । 

तर, यस्ता राष्ट्रिय मुद्दामा जनताका प्रतिनिधिहरूको आँखा भने फरक–फरक भएको पाइएको छ । 

हुन त विगतदेखि नै जनप्रतिनिधिहरूले आ–आफ्नो सुविधा अनुसार राष्ट्रिय मुद्दालाई छोड्ने र उठाउने गरेका छन् । 

जनताले भरोसा गरेका उनीहरूमाथि नै प्रश्न गर्ने अवस्था सिर्जना पनि हुन्छ बेलाबेला । यसले उनीहरूको क्षमताप्रति पनि शंका गर्नुपर्ने अवस्था गराउने गरेको छ । 

प्रधानमन्त्री केपी ओलीले मोदीको नेपाल भ्रमणबारे आइतबारको संसद बैठकमा जानकारी गराएपछि सोमबार सांसदहरूले यसबारे धारणा राखे । तर, उनीहरू राष्ट्रिय मुद्दामै विभाजित भए । 

कसले के देखे, के देखेनन् ?

माओवादीले देख्यो– भारतीय सेना, २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्ति र भारतीय सांसद कीर्ति आजादको ट्विट । 

एमालेले देख्यो– मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्ति र कीर्ति आजादको ट्विट ।

एमालेले देखेन– मोदीसँग आएका भारतीय सुरक्षाकर्मी र मार्चपास ।

काँग्रेसले देख्यो– लालबाबुको अभिव्यक्ति, कीर्ति आजादको ट्विट, भारतीय सुरक्षाकर्मीको ताण्डव । 

मधेसी दलले देखे– भारती सेना । 

मधेसीले देखनन्– लालबाबु र कीर्ति आजादको ट्विट ।

किन लुकाइन्छ जनसरोकारका मुद्दा ?

सोमबारको संसद बैठकमा प्रायः सबै दलका सांसदहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेकोे दुईदिने नेपाल भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, कुराकानी, सहमति, अभिव्यक्ति, सुरक्षा प्रवन्ध र कूटनीतिक मर्यादाका बारेमा बहस चलाए । 

तर यो बहसमा सांसदहरूले स्वतन्त्र र निष्पक्ष भूमिका निभाएको पाइएन । 

सांसदहरूको बहस सुन्दा आफ्नो राजनीतिक दल, र दलीय स्वार्थबाट उनीहरू अलिकति पनि माथि उठ्न नसकेको आभास हुन्थ्यो । 

प्रसङ्ग हो, मोदीको जनकपुरमा अभिनन्दनका क्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति, भारतीय सांसद कीर्ति आजादको ट्विट र मोदी नेपाल आउँदा उनको सुरक्षाका नाममा ल्याएका भारतीय सुरक्षा कमान्डको हो । 

यी तीन विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलका सांसदहरू तीनतिरै विभाजित भएका हुन् ।

एमालेले किन देखेन भारतीय सुरक्षा फौज ?

संसद बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली, उपाध्यक्ष भीम रावल, परराष्ट्र मन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली, रावल र ज्ञवालीले मोदी भ्रमणका क्रममा उठेका सवालहरूको जोडतोडले प्रश्न गरे ।

तर उनीहरूले मोदी भ्रमणका क्रममा भारतबाट आएका २ सयभन्दा बढी सुरक्षाकर्मीको कुनै चर्चा गर्न आवाश्यक ठानेनन् । 

मुख्यमन्त्री राउत र भातीय सांसद कीर्ति आजादका अभिव्यक्तिको चर्को विरोध गरेका उनीहरूले राउत र आजादलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन चेतावनी नै दिन भ्याए ।

तर, मोदीको नेपाल भ्रमणकै क्रममा जोडिएको भारतीय सुरक्षाकर्मी नेपाल आउनुको कारणबारे भनै कुनै उच्चारण नै गर्न जरुरी ठानेनन् । जसले जनताको सरोकार र राष्ट्रिय सुरक्षामा उठेका प्रश्नप्रति एमाले मौन बस्नुलाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन् । 

बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल राष्ट्रिय मुद्दामा दलहरू विभाजित हुनु देशका लागि दुर्भाग्य ठान्छन् उनी भन्छन्– ‘यो अज्ञानताको परिणाम हो । दलले जे भनेको छ त्यही मात्रै गर्ने र बोल्ने चलन छ ।’

पत्रकार दाहालले  अरुण ३ को उदाहरण दिँदै भने– ‘अरुण ३ मा एमालेले पहिला चर्को विरोध ग¥यो । आज त्यही अरुण ३ मा भारतको लगानी भएपछि राष्ट्रवाद भयो र नेपाल भारतका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्न पुगे । योभन्दा अचम्म के हुन सक्छ ?’ 

सांसद र पार्टी कार्यकर्तामा विवेक प्रयोग नै हुन छाडेपछि राजनीति नै ट्र्याक बाहिर जानसक्ने पत्रकार दाहालको आशङ्का छ । 
मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षा फौजले ड्रेस, हतियार र मार्चपास गर्नु सरकारका लागि लज्जाको विषय भए पनि यसमा ऊ मौन बसेर नजरअन्दाज गरेको दाहालले बताए । 

कुनै पनि देशका सरकार प्रमुख अरू देशमा जाँदा सुरक्षाकर्मी लान पाउने अन्तर्राष्ट्रिय मान्यता भए पनि ती सुरक्षाकर्मीले डे«स र हतियार देखाउन तथा मार्चपास गर्न मिल्दैन तर जनकपुरमा मोदीसँग आएका सुरक्षा फौजले मार्चपास नै गरे ।’ 

दाहालका अनुसार जनकपुरमा भएको भारतीय सुरक्षा फौजको उक्त कार्य अन्तर्राष्ट्रिय सुरक्षा कूटनीतिक सिद्धान्त विपरीत छ ।

माओवादीले देख्यो तीनै विषय 

हाल माओवादी केन्द्र पनि सत्तारुढ छ । तर यो पार्टीले मोदी भ्रमणको प्रसङ्गमा उठेका तीनवटै सवाललाई संसदमा उठायो । 

माओवादी प्रवक्ता समेत रहेका सांसद पम्फा भुसालले मोदी भ्रमणका क्रममा परराष्ट्र मन्त्रालयको भूमिका अत्यन्त कमजोर रहेको भन्दै परराष्ट्र मन्त्रालयको भूमिका सन्तोषजन नरहेको बताइन् । 

सत्तारुढ दलबाटै आएको यस्तो अभिव्यक्ति अर्थपूर्ण मात्रै छैन, यसले हाम्रो सुरक्षा अवस्था बारेमा पनि प्रश्न गर्न बाध्य तुल्याएको छ । 

सामान्यतया कुनै पनि देशमा फरक फरक सिद्धान्त बोकेका दलहरूको उपस्थिति हुने गरे पनि राष्ट्रिय मुद्दामा एकमत हुन्छ । 
तर नेपालको हकमा भने यो नीति कहिल्यै लागू भएको पाइँदैन । सांसद भुसालले मोदीको भ्रमणका क्रममा ३०० भन्दा बढी भारतीय सुरक्षा कमाडांै ल्याइएकोमा आपत्ति जनाइन् । 

‘विगतमा पनि विदेशी विशिष्ट पाहुना आउँदा हामीले सुरक्षा दिएका उदाहरण दिँदै यस पटक भने मोदीको सुरक्षाका लागि पहिलो सुरक्षा घेरामा उनीहरूलाई खटाउँदा हाम्रो सुरक्षा र नेपाली सेनालाई न्यूनीकरण गर्न खोजिएको त हैन ?’ भनेर प्रश्न गरिन् । ‘यो राम्रो कुरा होइन, यसबारे जनस्तरमा पनि ठूलो आलोचना भएको छ । यदि नेपालमा आउने पाहुनाको सुरक्षा दिन सक्दैनाँै भने किन बोलाउने ? सभामुखमार्फत गम्भीर ढङ्गले सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ 

त्यस्तै २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्ति र भारतीय सांसद कीर्ति आजादको ट्विट प्रकरणको पनि विरोध जनाइन् । उनले राउतको अभिव्यक्तिप्रति सङ्केत गर्दै भनिन्– ‘नागरिक अभिनन्दनका क्रममा आएका अभिव्यक्ति आन्तरिक विषय र समस्या भएकाले त्यसलाई आन्तरिक ढङ्गबाटै समाधान गर्नुपर्छ ।’  त्यस्तै उनले सीमासमस्या लगायतका समस्या समाधानमा भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला समाधान गर्न नसकेकोमा पनि आपत्ति जनाएकी थिइन्् ।

काँग्रेस भन्छ– सरकार लम्पसारवादी

मोदी भ्रमणका क्रममा जोडिएका तीन मुद्दामा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि संसदमा मुख्यमन्त्री लालबाबु राउत र भारतीय सांसद कीति आजादको ट्विटलाई उठाउने प्रयास ग¥यो ।
युवा नेतासमेत रहेका सांसद गगन थापाले मोदी भ्रमणका क्रममा जोडिएका विषय मुख्यमन्त्री लालबाबु राउत र कीर्ति आजादबाट आएका टिप्पणी दुवैलाई गलत भनेर टिप्पणी गरे पनि भारतीय सुरक्षा कमान्डो नेपाल आएको विषयबारे सरकारसँग जावफ मागे ।

काँग्रेसका सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकारले देखाएको व्यवहारप्रति गम्भीर प्रश्न मात्रै उठाएनन्, हिजो अरूलाई लम्पसारवादी भन्ने प्रधानमन्त्री केपी शर्मा ओली आज ‘महालम्पसारवादी’ बनेको बताए । 

‘हिजो दुई प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्न जाँदा सिङ्गडा बेच्न गएको भनियो, घुँडा टेक्न गएको भनियो,’ थापाले भने, ‘आफूले गर्दा पुण्य अरूले गर्दा पाप ?’

हिजो भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा एमाले अध्यक्ष रहेका ओलीले ‘भ्रमण ठीक छ तर तामझाम हेर्दा लम्पसारवादी भन्न मन लागेको’ प्रसङ्ग उल्लेख गर्दै थापाले भने, ‘उहाँकै परिभाषामा उहाँको तामझाम हेर्दै गर्दा मैले महालम्पसरवादी भन्न पाउने कि नपाउने ?’  उनले सुशील कोइरालालाई लम्पसरवादी भन्नेले नेपालभित्र भारतीय सेना किन आयो भनेर जवाफ दिनुपर्ने पनि बताए । अर्को प्रसङ्मा सांसद थापाले प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको भनाइ आपत्तिजनक रहेको बताए । ‘नेपालको विदेश नीति प्रदेशले होइन केन्द्रले निर्धारण गर्ने हो, यसबारे मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्रीले प्रशिक्षण दिनुपर्छ ।’

मधेसी दल कता ?

ससंद बैठमा मधेसवादी दलका सांसदहरूले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र भारतका सांसद कीर्ति आजादका अभिव्यक्तिको बचाउ गरेका छन् । तर भारतीय प्रधानमन्त्रीको सुरक्षामा भारतीय सुरक्षा फौज आएको प्रसङ्गमा भने प्रश्न उठाए । सङ्घीय समाजवादी मोहम्द इस्तियाक राईले मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी आउनुका करण खोजे । अर्को मधेसवादी दल राजपाका सांसद भने मुख्यमन्त्री राउत र कीर्ति आजादको अभिव्यक्तिप्रति मौनता देखाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप