बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नरेन्द्र मोदीसँगै ८६ जना भारतीय ‘स्पेसल कमान्डो’ नेपालमा :  विज्ञ भन्छन्, ‘राष्ट्रिय लज्जाको विषय’

मङ्गलबार, ०१ जेठ २०७५, १२ : २६
मङ्गलबार, ०१ जेठ २०७५

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणमा भारतको स्पेसल प्रोटेक्सन ग्रुप (एसजीपी)का ८६ सुरक्षाकर्मी नेपाल आएको पाइएको छ । सुरक्षा स्रोतका अनुसार भारतीय वायुसेनाको विमानमा सवार २५ जना स्पेसल कमान्डोको समूह जनकपुर उत्रिएका थिए ।

दुईवटा हेलिकप्टर लिएर मुक्तिनाथ पुगेको १७ जना भारतीय सुरक्षाकर्मीको समूह सोमबार मात्र त्यहाँबाट हिँडेको बताइएको छ । उनीहरू जहाज बिग्रिएको बहाना बनाएर भारतीय प्रधानमन्त्री स्वदेश फर्केपछि पनि मुक्तिनाथ आसपासमा बसिरहेका थिए ।

त्यस्तै काठमाडौंमा एसपीजीका ४४ सुरक्षाकर्मी तैनाथ गरिएको थियो । नेपालका दसौं हजार सुरक्षाकर्मी नरेन्द्र मोदीको भ्रमण सुरक्षामा खटिए पनि भारतबाट हतियारसहित ठूलो सङ्ख्यामा किन स्पेसल प्रोटेक्सन ग्रुपका सुरक्षाकर्मी ल्याइयो भन्नेबारे प्रश्न उठेको छ । व्यवस्थापिका संसदको बैठकमा काँग्रेस नेता गगन थापा र माओवादी नेतृ पम्फा भुसालले हतियारसहित ठूलो सङ्ख्यामा भारतीय सुरक्षाकर्मी नेपाल आएकोबारे गम्भीर प्रश्न उठाएका छन् । 

सोमबारको संसद बैठकमा माओवादी नेतृ पम्फा भुसालले भारतीय सुरक्षाकर्मी आउँदा नेपालको सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न उठेको उल्लेख गर्दै भनिन्, ‘३ सयभन्दा बढी भारतीय कमान्डोलाई सुरक्षाको पहिलो घेरामा राखेर हाम्रो सुरक्षा व्यवस्थामा प्रश्न खडा गर्न खोजिएको हो कि ?’ 

विगतमा भएको नरेन्द्र मोदीको नेपाल भ्रमणभन्दा यस पटक सुरक्षाको दृष्टिले निकै तामझामपूर्ण देखिएको थियो । उत्तर कोरियाली नेता किम जोङ उनको स्टाइलमा आफ्नो बुलेटप्रुफ गाडी स्पेशल प्रोटेक्सन ग्रुपबाट कभर गराउँदै पशुपति पुगेका मोदीको भ्रमणले नेपाली सुरक्षा निकायको मनोबल पक्कै खस्काएको छ । यतिसम्म कि भारतीय  स्पेसल प्रोटेक्सन ग्रुपका सदस्यहरूले पहिलो सुरक्षा घेरामा रहनुपर्ने नेपाली सेनाका अधिकृतहरूलाई दोस्रो घेरामा हेरेर बस्न बाध्य बनाएका थिए । यद्यपि नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारी (एसजीपी) र नेपाल आर्मीले कोअर्डिनेसमा काम गरेको दाबी गर्दै भन्छन्, ‘भारतबाट आएको स्पेसल प्रोटेक्सन ग्रुप र हाम्रो बीचमा कोअर्डिनेसन फर्ममा काम भएको छ ।’ 

‘राजकीय भ्रमणमा भीभीआईपीसँग आफ्नै देशका सुरक्षाकर्मी क्लोज सुरक्षाका लागि आउनु नर्मल हो’, सैन्य प्रवक्ता भण्डारी भन्छन्, ‘भारतीय स्पेसल प्रोटेक्सन नेपाल सरकारको फुल अप्रुभल लिएर आएको हो, कोही पनि सरकारी स्वीकृति बिना हेलिकप्टर लिएर आउन सक्दैन ।’ 

तेस्रो पटक नेपाल भ्रमणमा आएका नरेन्द्र मोदी पहिलो र दोस्रो पटक आउँदा थोरै सङ्ख्यामा भारतीय सुरक्षकर्मी लिएर नेपाल आएका थिए । तर यस पटक भारतीय वायु सेवाको हेलिकप्टरमा ठूलो फौज उतार्नुलाई गम्भीर रूपमा हेरिएको छ । 

‘यो हाम्रा लागि राष्ट्रिय लज्जाकै विषय हो’, नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘सार्वभौम राष्ट्रसँग सुरक्षामा समन्वय हुनसक्छ, सूचना आदान प्रदान गर्ने कुरा पहिल्यै हुन्छ र सेना नै उतार्ने कुरा सार्वभौम राष्ट्रको मूल्यमान्यतासँग मेल खाँदैन ।’ 

मोदी भ्रमणमा भारतीय स्पेसल फोर्स नेपाल उतारेसँगै  अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश गएको बताउँछन् पूर्व एआईजी भण्डारी । उनी भन्छन्, ‘नेपालमा सुरक्षाको व्यवस्था हुन सक्दैन भीभीआईपी जाँदा यतैबाट सुरक्षाकर्मी लानुपर्छ भन्ने म्यासेज गएको छ ।’ 

यसरी नरेन्द्र मोदीले ठूलो सङ्ख्यामा विशेष फौज ल्याएर नेपालको सुरक्षा व्यवस्थालाई विश्वास नगरेको देखिन्छ । यसबाट नेपाली सेनाको शाख समेत गिरेको छ ।

सोमबारको संसद बैठकमा बोल्दै काँग्रेस नेता गगन थापाले भारतीय सुरक्षाकर्मी नेपालमा हतियारसहित आएकोमा आपत्ति जनाए । 

‘बीपी कोइरालाले भारतसँग न सङ्घर्ष न समर्पण भन्दा राजा महेन्द्रले बीपीलाई हटाउनका निम्ति भारतीय सरकारलाई चिठी लेख्नुभयो र कालापानीमा भारतीय सेना राख्नका लागि मौन स्वीकृति दिनुभयो’, काँग्रेस सांसद थापाले भने, ‘पाहुनाको भ्रमण सुरक्षाका लागि भारतीय सेना आएको भन्दै कालापानी दोहो¥याउन खोजिएको त हैन ?’ 

बुलेटप्रुफ कारसमेत भारतबाटै लिएर आएका नरेन्द्र मोदीको भ्रमणमा भारतीय सुरक्षाकर्मीको फौज आएको बारे विश्लेषक झलक सुवेदी प्रश्न गर्दै भन्छन्, ‘मोदीलाई त्यत्रो सुरक्षा चुनौती के थियो, जसले गर्दा भारतीय सेना नै आउनु प¥यो ? के हाम्रो सुरक्षा संयन्त्रमा घुसपैठ छ भन्ने भारतले निष्कर्ष निकालेको हो ? कि नेपाल सरकारले हामीले सुरक्षा दिन सक्दैनौँ आफ्नो सुरक्षा आफै गर्नु भनेको हो ? खासमा कुरा के हो भने भारतले नेपालमा आफ्नो सैन्य उपस्थिति देखाएर यो मुलुक हाम्रो पूर्ण प्रभावमा छ भनेर देखाउन खोजेको हो । यो सवाल सुरक्षा थ्रेटसँग जोडिएको सवाल नै होइन ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप