बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जब रोनाल्डोका कारण इटालीको संसदमा कुटाकुट नै भयो

मङ्गलबार, ०१ जेठ २०७५, १० : ०७
मङ्गलबार, ०१ जेठ २०७५

एजेन्सी । गत वर्ष नेयमारले बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेनसँग अनुबन्ध हुँदा बार्सिलोनाको निर्देशकहरुको चर्को आलोचना भएको थियो ।

बार्सिलोनाजस्तो क्लबले आफ्नो स्टार खेलाडी गुमाउनुलाई उनीहरुको कमजोरीको रुपमा अथ्र्याइएको थियो । तर, क्याटालान क्लबले ब्राजिलियन सुपरस्टारलाई गुमाएको यो पहिलो अवसर भने थिएन ।

सन् १९९६–९७ सिजनमा रोनाल्डो लुइस नाजारियो डे लिमाले बार्साका लागि ५१ खेलमा ४७ गोल गरेका थिए । जसमध्ये धेरै उनको एकल प्रयासमा भएको थियो । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो युग शुरु हुनुअघि प्रत्येक दुई खेलमा एक गोल गर्नुलाई कुनै पनि स्ट्राइकरको लागि सफलता मानिन्थ्यो ।

२० वर्षको उमेरमा रोनाल्डोले बार्सिलोनालाई कोपा डेल रे र युरोपियन कपको उपाधि दिलाए । त्यतिबेला उनलाई अन्य खेलाडीको तुलनामा ‘सुपरम्यान’ भनिन्थ्यो ।

‘एक पागल व्यक्तिको कल्पना’

रोनाल्डो र बार्सिलोनाको जोडी स्वर्गमा नै बनेको जस्तो देखिन्थ्यो । तर, उत्तरी इटालीमा एक व्यक्ति रोनाल्डोको खेलसँग मोहित बनेका थिए । उनी थिए, इन्टर मिलानका अध्यक्ष मासिमिरो मोराटी । उनी रोनाल्डोलाई निलो र कालो धर्के जर्सीमा खेलाउने चाहन्थे । उनको सपना पूरा पनि भयो ।

पीएसभी इन्डहोभेनमा हुँदा देखि नै मोराटीले रोनाल्डोको खेललाई नियाली रहेका थिए । सन् १९९७–९८ सिजनमा उनले ‘ठूलो’ स्ट्राइकर किन्न चाहे । उनका सल्लाहकारले ग्याब्रियल बाटिस्टुटाको नाम सुझाए, तर, उनी ‘रोनी’ चाहन्थे । उनको यो इच्छा ‘एक पागल व्यक्तिको कल्पना’ जस्तो थियो किनभने बार्सिलोना आफ्नो नयाँ सुपरस्टारको वरीपरी नयाँ टोलीको निर्माण गर्न चाहन्थ्यो ।

तर, मोराटीलाई थाहा थियो, क्याटालोनियामा समस्या शुरु हुँदैछ । सन् १९९७ मा नयाँ करारबारे छलफल गर्दा बार्सिलोनाले रोनाल्डोलाई केही ‘आर्थिक वाचा’ गरेको थियो । तर, केही महिनापछि करार दस्तावेज प्रस्तुत गर्दा ती वाचाहरु समेटिएका थिएनन् ।

रोनाल्डोले यसलाई आफूसँग धोका भएको ठाने र क्लब छाड्ने निधो गरे । रोनाल्डोलाई कसैले किन्न नसोकस् भनेर क्याटालान क्लबले रोनाल्डोको बाई आउट क्लजमा २.१ करोड पाउण्ड रकम राख्यो ।

त्यतिबेला विश्व किर्तिमानी रकम भनेको न्युक्यासलले ब्लाकबर्नका स्ट्राइकर एलान शिएररका लागि खर्चिएको १.५ करोड पाउण्ड थियो । यसअघि सोही वर्ष बार्सिलोनाले पीएसभीबाट रोनाल्डोलाई भित्र्याउन १.३२ करोड पाउण्ड खर्च गरेको थियो ।

तर, मोराटीले रोनाल्डोलाई अनुबन्ध गरे । ब्राजिलियन स्ट्राइकरको स्पेनमा पहिलो सिजनको दुःखद अन्त्य भयो ।

यता, ‘ओ फेनोमेनो’ – द फेनोमेनन भनेर चिनिने रोनाल्डोलाई भित्र्याउँदा इटाली उत्साहित थियो । यसअघि उनी जुन टिममा आबद्ध भए पनि उत्कृष्ट खेल प्रदर्शन गरिरहेका थिए भने सन् १९९७ मा कोपा अमेरिकामा ब्राजिलका लागि चम्किएका थिए । सिरिए ‘ए’ का लागि यो एउटा ‘कू’ नै थियो । साथै, ला लिगामा जस्तै इटालीको डिफेन्सलाई आच्छुआच्छु पार्न रोनाल्डोले सक्छन् कि सक्दैनन् भन्ने उत्सुकता पनि थियो ।

उनी यो परीक्षामा सोचेभन्दा सफल निस्किए । १० नम्बर जर्सीमा उनले गति, शक्ति र सीपको उत्कृष्ट नमूना पेस गरे । जब उनी गोल गरिरहेका हुँदैन थिए, आफ्नो समकक्षीका लागि गोलको अवसर पनि सृजना गरिरहेका थिए । उनलाई रोक्न विपक्षी टिमले दुई–तीन जना खेलाडी खटाउने गर्थे । जसले गर्दा उनका अन्य समकक्षीका लागि खुला ठाउँ निस्किन्थ्यो । विशेष गरेर युरी जोरकायफका लागि ।

इटालियन डिफेन्डरहरुलाई रोनाल्डोलाई रोक्न धौधौ हुन्थ्यो । आफ्नै टोली इन्टरका खेलाडीहरु पनि रोनाल्डोको ‘कहर’ बाट बच्न सकेनन् । रोनाल्डोको आत्मकथा ‘पाउरा डेल बियो’ (फियर अफ द डार्क) का लेखक तथा खेलपत्रकार एन्जो पालाडिनीका अनुसार तत्कालिन इन्टरका प्रशिक्षक लुइजी सिमोनीले प्रशिक्षणका दौरान रोनाल्डोको विपक्षमा तीनदेखि चार जना खेलाडीहरु खटाउँथे । तैपनि उनीहरु रोनाल्डोबाट बल खोस्न सक्दैन थिए ।

झण्डै बालोन डि’ओर हराए

मैदानमा आफ्नो खेलप्रति जति रोनाल्डोको लगाव थियो, मैदानबाहिर रमाइलो गर्न र पार्टी गर्न उनी त्यति नै रुचाउँथे । सन् १९९८ मा बालोन डि’ओरको उपाधि जित्दाको एउटा रोचक प्रशंग छ । 

घरेलु मैदानमा युभेन्टसविरुद्धको खेलअघि उनलाई बालोन डि’ओर हस्तान्तरण गरिएको थियो । रोनाल्डोको उत्कृष्ट पासमा जोरकायफले गोल गरेपछि इन्टर उक्त खेलमा विजयी बनेको थियो ।

खेलपछि रोनाल्डोले बिना कुनै अन्तर्वार्ता स्टेडियम हतारमा छाडे किनभने उनको ब्राजिलका साथीहरुसँग रमाइलो गर्न जाने योजना थियो । उनी यति हतारमा थिए कि उनले आफूले जितेको १२ केजी सुनले बनेको ११ हजार पाउण्ड मूल्य बराबरको बालोन डि’ओर लाई ड्रेसिङ रुमा नै भुलेका थिए ।

इन्टर मिलानका पूर्व प्रेस प्रमुख सान्ड्रो सबाटिनी उक्त घटना सम्झँदै भन्छन्, ‘रोनीले मलाई फोन गरेर ड्रेसिङरुममा आफूले बालोन डि’ओर भुलेको बताए । जब हामी ड्रेसिङ रुममा पुग्यौँ, त्यहाँ सफाई गर्नेहरुले त्यसलाई ठूलो झोलामा हालेर फोहोर कपडाहरु माझ लुकाएका रहेछन् । हामीले पत्ता लगायौँ ।’

अर्को दिन सो बालोन डि’ओर रोनाल्डोलाई हस्तान्तरण गरिएको थियो ।

जब संसदमा भयो कुटाकुट

रोनाल्डोले ३२ लिग खेलमा २५ गोल गरे । तर, त्यो लिग जित्न काफी थिएन । इन्टरको टोलीमा ह्याभिर जनेटी, डिएगो सिमिओनी, इभान जामोरानो, टारिबो वेस्टजस्ता खेलाडीहरु समावेश भए पनि युभेन्टसले दुई खेलमात्र हारेपछि पाँच अंकले लिगमाथि कब्जा जमायो । 

सिजन सकिन चार खेल बाँकी छँदा दुई टोलीबीचको दोस्रो भिडन्त निकै विवादीत बन्यो । यसको केन्द्रविन्दुमा रोनाल्डो थिए ।

इन्टर सो खेलमा जानअघि युभेन्टसभन्दा एक अंकले पछि रहेको थियो । खेल गोलरहित बराबरी स्थितिमा रहेको बेला ७० औँ मिनेटमा युभेन्टसका खेलाडी मार्क लुलियानोले डि एरियामा रोनाल्डोमाथि फल हाने । तर, रेफ्री पिएरो सिसेरानीले फल दिएनन् । खेल अन्ततः युभेन्टसले १–० ले आफ्नो पक्षमा पार्यो ।

खेल सकयो तर लुलियानो–रोनाल्डो बहस जारी रह्यो । केही दिनपछि यो विषयले इटालीको संसदमा हात हालाहालको स्थिति नै पैदा गर्यो । आज पनि उक्त निर्णयबारे विवाद आज पनि कायम छ ।

युरोपमा सफलता

घरेलु लिगमा असफल रहे पनि सन् १९९७–९८ सिजनमा इन्टर युरोपमा सफल रह्यो । युरोपियन कपको उपाधि हात पार्ने क्रममा रोनाल्डोले दुई सम्झनयोग्य प्रदर्शन गरे । पहिलो रसियामा भएको स्पार्टाक

मस्कोविरुद्ध सेमिफाइनलको दोस्रो लेगमा जहाँ उनले घरेलु टोलीका डिफेन्डरहरुलाई छलाउँदै गोल गरे ।

त्यसपछि पेरिसमा भएको फाइनलमा लाजियोविरुद्ध उनले आफ्नो स्टेप ओभर टेक्निकको उद्भुत नमूना प्रस्तुत गर्दै गोल गरे ।

इन्टरले २–१ ले खेल आफ्नो पक्षमा पार्यो । लाजियोका लागि उनी उक्त खेलभरि टाउको दुखाई बने विशेष गरेर अलेसान्ड्रो नेस्टाका लागि । बार्सिलोनासँग उपाधि जितेको एक वर्षपछि उनले इन्टरलाई पनि उपाधि दिलाए ।

दबाब र चोट

अर्को सिजन रोनाल्डोमाथि झन् दबाब बढ्यो । उनले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने अपेक्षा थियो । तर, उनी लामो समय गम्भिर चोटले ग्रस्त बने ।

सन् १९९९ को अगस्त र मे २००२ को बीचमा रोनाल्डोले घुँडाको चोटका कारण मात्र २४ खेल खेले । आफ्नो डेब्यु सिजनको खेल उनले पुनः दोहोराउन सकेनन् ।

प्रशिक्षक हेक्टर कुपरसँग विवाद हुँदा अध्यक्ष मोराटीले रोनाल्डोको साटो प्रशिक्षकको पक्ष लिए पछि सन् २००२ मा उनले इन्टर छाडे ।

ब्राजिललाई विश्वकप दिलाएपछि उनी रियल म्याड्रिडसँग आबद्ध भए । उता, इटालीमा भने समर्थकहरुले रोनाल्डोले धोका दिएको ठाने । 

तर, अन्ततः समयसँगै मानिसहरुले सो कुरा भुले । आज पनि रोनाल्डोलाई एउटै नामले विश्वभर चिनिन्छन्, –  ओ फेनोमेनो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप