बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनुप स्मृति गोल्ड कपको उपाधि नेर्पालाई

मङ्गलबार, ०१ जेठ २०७५, ०८ : ३०
मङ्गलबार, ०१ जेठ २०७५

खोटाङ - अनुप स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाले उचालेको छ । 

दिक्तेलस्थित माटिकोरे खेल मैदानमा भएको फाइनल खेलमा बुइपा सेवा समाज बुइपालाई टाइबे्रकरमा हराउँदै नेर्पाले गोल्ड कपको उपाधि उचालेको हो । 

निर्धारित समयमा बराबरी २–२ गोल भएपछि भएको टाइबे्रकरमा बुइपालाई ६–५ गोल अन्तरले पछि पार्दै दिक्तेलले उपाधि चुमेको निर्णायक मण्डलले जनाएको छ । प्रतियोगितामा विजेता बनेको नेर्पाले नगद एक लाख ५१ हजार १११ र उपविजेता बनेको बुइपा सेवा समाजले नगद ७५ हजार ५५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगिताका दुई सेमीफाइनलिस्ट भोजपुर नगरपालिका र फ्रेण्डसीप यातायात सेवालाई नगद २५÷२५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । २०६९ साल जेठ १ गते ट्र्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा दिक्तेल फुटबल क्लब र माउण्ट एभरेष्ट बोर्डिङ स्कूलले वैशाख २६ गतेदेखि गोल्डकपको दोस्रो संस्करणको आयोजना गरेको हो । 

प्रतियोगिता अवधिभरमा नेर्पाका सुनिल तामाङ म्यान अफ दि म्याच घोषित भएका छन् । आयोजक दिक्तेल फुटबल क्लबका वर्तमान राईले सर्वाधिक गोलकर्ता, नेर्पाका विकेश श्रेष्ठले उत्कृष्ट गोलकिपर, नेर्पाकै अर्जुन रोकाले उत्कृष्ट डिफेण्डर, बुइपाका तेज राईले उत्कृष्ट स्ट्राइकर र बुइपाका सुजल श्रेष्ठले उत्कृष्ट मिडफिल्डर, आयोजक डिएफसीले अनुशासित टोली र नेर्पाका शरद राईले उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन् । 

उनीहरुलाई जनही पाँच हजारका दरले पुरस्कार प्रदान गरिएको प्रतियोगिताका संयोजक एवं माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका प्रिन्सिपल सागर जोशीले बताए । विजेता टोलीलाई प्रदेशसभाका सांसद रामकुमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राईलगायतले पुरस्कार प्रदान गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप