शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी दूतावास खोलिँदा भड्कियो हिंसा, बालकसहित ५५ को मृत्यु

मङ्गलबार, ०१ जेठ २०७५, ०७ : ५४
मङ्गलबार, ०१ जेठ २०७५

बीबीसी

संयुक्त राज्य अमेरिकाले आफ्नो दूतावास जेरुसेलम सार्ने केही घण्टाअघि इजरेली फौजले गाजामा १२ वर्षीय बालकसहित कम्तीमा ५५ प्रदर्शनकारीहरूलाई गोली हानी हत्या गरेको  प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।

प्यालेस्टानका अधिकारीका अनुसार उक्त हिंस्रक झडपमा कम्तीमा २ हजार ७ सय घाइते भएका छन् । जेरुसेलममा अमेरिकी दूतावासको उद्घाटनपूर्व उक्त हिंसा भएको हो । दूतावासको विषयमा प्यालेस्टिनी नागरिकले विरोध जनाइरहेका थिए ।

प्यालेस्टिनीहरुले यसलाई जेरुसेलममा इजरायली कब्जालाई अमेरिकी समर्थनको रुपमा हेरिरहेका छन् । प्यालेस्टिनीहरु जेरुसेलमको पूर्वी इलाका आफ्नो भएको दाबी गर्दछन् तर सो शहर कहिले विभाजित हुन नदिने इजराइलले बताउँछ ।  

सोमबार अमेरिकाले जेरुसेलममा आफ्नो दूतावास खोलेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं ज्यारेड कुस्नरसहित उच्च अमेरिकी अधिकारीहरु सो उद्घाटन कार्यक्रममा सहभागी भएका थिए  ।

दूतावास सार्ने अमेरिकी निर्णयको इजराइलले स्वागत गरेको छ तर त्यसले व्यापक अन्तर्राष्ट्रिय विरोध निम्त्याएको छ ।

जेरुसेलमलाई इजराइलको राजधानीको रुपमा अमेरिकाले दिएको मान्यतालाई प्यालेस्टिनीहरुले विरोध गर्दै आएका छन् ।

गत ६ हप्तादेखि भएका व्यापक प्रदर्शनहरुको नेतृत्व गाजाको इस्लामवादी शासक हमासले गरिरहेको छ ।

ट्रम्पले उनको राष्ट्रपतीय चुनावी अभियानका क्रममा तेल अभिभबाट अमेरिकी दूतावास जेरुसेलममा सार्ने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए ।

प्यालेस्टिनीहरुको नकबाः

सन् १९४८ मे १४ तारिखमा इजरायलको स्थापनाको समयमा विस्थापित भएका प्यालेस्टिनीहरुको सम्झनामा यहाँ हरेक वर्ष शोक मनाइन्छ जसलाई प्यालेस्टिनीहरुले नकबा भन्ने गर्दछन् ।

त्यसै सिलसिलामा प्यालेस्टिनीहरु हरेक हप्ता इजराइलीहरुको विरोधमा प्रदर्शन गरिरहेका थिए । जबदेखि यो विरोध प्रदर्शन सुरु भएको छ, थुप्रैको ज्यान गएको छ भने हज्जारौं घाइते छन् ।

हमासले विरोध प्रदर्शनको सिलसिला थप तीब्र बनाउने जानकारी दिएको छ ।

हाम्रा जनता आफ्नो पुख्यौली जमिनमा फर्कन पाउने अधिकारका लागि कस्तो संघर्षमा छन् भन्ने बारे संसारले थाहा पाउनेछ ।

गाजाका एक विज्ञान पढाउने शिक्षकले रोयटर्सलाई भने, ‘आज एउटा महत्वपूर्ण दिन भएको छ । आज हामीले सीमा पार गरेका छौं । हामीले इजराइल र संसारलाई यो बताउन सफल भएका छौं कि हामीमाथि यो कब्जा अब सधैंका लागि रहने छैन ।’

अमेरिकी दूतावासको मुद्दा यति विवादास्पद किन ?

जेरुसलेमको हैसियतसम्बन्धी विवादको सोझो सम्बन्ध इजराइल(प्यालेस्टिनी द्वन्द्वसँग जोडिएको छ।

इजराइल र प्यालेस्टाइन दुवैले उक्त भूमिलाई आफ्नो राजधानी बताउने गरेका छन्।

जेरुसेलम शहरलाई इसाई, मुसलमान र यहुदीहरुले पवित्रस्थलका रूपमा मान्ने गर्दछन् ।

जेरुसलेममाथिको इजरेली सार्वभौमिकताले अन्तर्राष्ट्रिय रूपमा मान्यता पाएको छैन र सन् १९९३ मा भएको इजराइल (प्यालेस्टाइन शान्ति सम्झौताअनुसार जेरुसेलमको अन्तिम हैसियत भने शान्ति वार्ताका पछिल्ला चरणहरूमा मात्र छलफल हुनेछन्।

सन् १९६७ मा भएको मध्यपूर्वी युद्धयता पूर्वी जेरुसेलम इजराइल को अधीनमा छ। सो क्षेत्रलाई उसले आफैँमा गाभेको छ तर ट्रम्पले सन् २०१७ को डिसेम्बरमा घोषणा नगरेसम्म कुनै पनि देशले जेरुसेलमलाई इजराइली भूमि भनेर मान्यता दिएका थिएनन्।

सन् १९६७ यता इजरेलले झण्डै २ लाख यहुदीहरूको निम्ति पूर्वी जेरुसलेममा दर्जनौँ बस्तीहरू निर्माण गरेको छ।

अन्तर्राष्ट्रिय कानुनअन्तर्गत ती बस्तीहरू गैरकानुनी मानिन्छन् तर इजरेलले त्यसलाई अस्वीकार गर्दै आएको छ।

जेरुसलेमलाई इजरेलको राजधानीका रूपमा मान्यता दिने निर्णय र दूतावास सार्ने अमेरिकी राष्ट्रपति ‍ट्रम्पको कदमलाई इजरेली यहुदीहरूले समर्थन गरेका छन्।

अमेरिकी कदमलाई ‘वास्तविकतालाई दिइएको मान्यता’ भनेर टिप्पणी गरेका इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुका लागि यो कूटनीतिक जीत हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप