बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अब गति लेला एमाले–माओवादी एकता ? : नेताहरु भन्छन्, ‘नलिने कुरै छैन’

सोमबार, ३१ वैशाख २०७५, १४ : ५३
सोमबार, ३१ वैशाख २०७५

काठमाडौं– एमाले–माओवादी पार्टी एकता प्रकृया अन्तिममा पुगेर सुस्ताएको छ । तर, नेताहरु भने एकता प्रकृया नसुस्ताएको र पार्टी एकता भएरै छाड्ने दावी गर्छन् ।

यसअघि पार्टी एकता घोषणाका लागि सम्भावित मिति नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, कालमाक्र्स जयन्ती र मे दिवसको चर्चा भएको थियो । तर, यी तीनवटै मिति गुजारीसकेका दुई दलले अव सम्भावित नयाँ मितिबारे चर्चा नै गर्न छाडेका छन् । 

‘मिति घोषणा नगर्ने नीति अनुसार नै नगरिएको हो तर, एकता नहुने भन्ने छैन’ एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले रातोपाटीसँग भने, ‘एकता घोषणा गर्न दुई नेताबीच अनौपचारिक छलफल भइरहेको छ । उहाँहरुलाई निश्कर्षमा पुग्न समय लाग्दा मात्रै केहि ढिला हुन गएको हो ।’ 

पार्टी एकताका लागि गठिन राजनीतिक कार्यदलका सदस्य समेत रहेका नेता नेम्वाङले दुई दल एकता प्रकृयामा कुनै विवाद बाँकी नरहेको पनि दावी गरे । उनले विवाद नरहेपनि के कारणले ढिलाई भइरहेको छ भन्नेमा भने अनविज्ञता प्रकट गरे ।

‘समय अभावले पनि हुनसक्छ । सैद्धान्तिक विषयहरु टुगिइसकेका छन्,त्यसैले पार्टी एकता रोकिनुपर्ने कुनै कारण छैन,’ नेम्वाङको भनाई छ । 

उनले यति धेरै ठुला पार्टीको जिल्लादेखि केन्द्रसम्मका पार्टी संरचना अध्ययन गर्न नेतृत्वहरुलाई समय लाग्दा केही ढिला हुन गएको आफ्नो बुझाइ रहेको बताए । यसअघि सरकार सञ्चालन प्रक्रिया र बजेटका प्राथमिकता निर्धारण गर्दासमेत प्रधानमन्त्रीले एकलौटी निर्णय गरेको भन्दै माओवादीले असन्तुष्टि जनाएपछि एकता प्रकृया थप अलमलमा परेको थियो ।  

तर, एमाले नेता नेम्वाङ ति विषयभन्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एकताको विषयमा नेताहरुले ध्यान दिन नपाएकोले त्यस्तो देखिएको बताउँछन् । 

माओवादी नेता नारायकाजी श्रेष्ठ पनि पार्टी एकताका लागि बैचारिक, राजनीतिक र सांगाठानिक विषयमा कुनै विवाद नरहेको दावी गर्छन् ।  

नेता श्रेष्ठ भन्छन्– ‘दुई अध्यक्षबीच एकता प्रकृयाबारे आपसी कुराकानी भइरहेको छ, आवाश्यक्ता र समय मिलाएर उहाँहरुवीच केही कुरामा अझ मजबुत र एकअर्कामा विश्वाशिलो बाताबरण बनाउने काम भइरहेको छ, ताकि एकतापछि पार्टी एकढिक्का हुन सकोस् ।’ 

पार्टी एकताबारे दुई दलबीच विवाद नरहेको पनि उनले बताए । ‘कुनैपनि विवाद छैन, बाहिर विवाद भनिएको छ त्यसमा कुनै सत्यता छैन सवै कुरा मिलिसकेका छन्’ नेता श्रेष्ठले पार्टी एकता गर्दा मिति घोषणा गरेरै हुने पनि बताए । 

उनले भने ‘एकता एक्लै गर्ने होइन, नेता कार्यकर्तालाई थाहा दिनुपर्यो, एकताका लागि कार्यक्रम र स्थान पनि तय गर्नुनै पर्यो, यति भएपछि थाहा नहुने भन्ने नै हुँदैन ।’ 

नेता श्रेष्ठले आफु र दुवै पार्टीका नेता कार्यकर्ताको भावना एकता चाडै होस भन्ने रहेको पनि बताए । ‘म त भन्छु जतिसक्दो चाँडो एकता गर्नुपर्छ, दुवैतर्फका नेता कार्यकर्ताको पनि यहि माग छ ।’ 
कहिलेसम्म एकता भइसक्छ त भन्ने प्रश्नमा श्रेष्ठको जवाफ थियो, ‘मेरो धारणा चाही जेठ १५ भित्रै हुनुपर्छ भन्ने हो ।’ 

तर, नीति तथा कार्यक्रम, वजेट अनि प्रधानमन्त्रीको चीन भ्रमण लगायतका विषयले पनि श्रेष्ठले भनेजस्तो जेठ १५ भित्र एकता घोषणा हुने सम्भावना अत्यन्त कम रहेको कतिपयको भनाई छ ।  

पछिल्लो पटक पार्टी एकताका लागि दुवै दल सम्मिलित कार्यदलले बुझाएको प्रतिवेदनमा पार्टी विधानको प्रस्तावनामा जनयुद्ध शव्द राख्ने कि नराख्ने, एकीकृत पार्टीको झण्डा सुर्य वा सुर्यभित्र हसिया हथौडा राख्ने र एकीकृत संगठनमा रहने नेता कुन पार्टीबाट कति रहने भन्नेमा सहमति जुटाएको थिएन । 

यि तीन विषयमा सहमति जुटाउने जिम्मेवारी दुवै दलका अध्यक्षलाई कार्यदलले दिएपछि दुई नेताबीच पटक पटक वान टु वान हुदै आएका छन् । तर,दुई नेताबीचको वान टु वानमा उनीहरुबीच के सहमति भयो भन्ने बाहिर आएका छैनन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप