केन्द्रीय संस्करण

मोदी, नाकाबन्दी र गान्धीवाद

person explore access_timeबैशाख ३१, २०७५ chat_bubble_outline0

    आफ्नै कार्यकालमा तीन पटक नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका सफताका बारेमा चर्चा भए । नेपालका प्रधानमन्त्रीले राजकीय भ्रमण गरेलगत्तै मोदी नेपाल आए । रेल, पानी जहाज, जलस्रोत लगायतका विषयमा भारतमा सहयोगका कुरा भए भने नेपाली धर्तीमा तिनै विषयका साथमा सीमाका समस्यामा ध्यान दिने विषय चर्चामा आए । अर्को पक्ष यसअघिकै पशुपतिको भाकल पूरा नगरेका मोदीको चर्चालाई सामाजिक सञ्जालले सक्दो प्रयोग गरिरहँदा दुवै देशले विकासमा सहकार्य गर्ने कुरा, असल छिमेकी बनेर सहकार्य गर्ने विषय पक्कै सह्रानीय पक्ष हुन् । नाकाबन्दीको चोटलाई एकछिन पन्छाएर अतिथि देवो भवः हाम्रो देशको स्वाभिमान मात्र होइन छिमेकीसँग प्रेमको पोकोलाई खोल्न कन्जुस्याइँ नगर्ने प्रमाण त हाम्रा प्रधानमन्त्रीले पुष्टि गरेका हुन् भन्न सकिन्छ । अर्कोतिर ताजै छ हाम्रो मनमस्तिष्कमा– भूकम्पको प्रताडनाको लगत्तै भारतले नेपालीमाथि गरेको अन्याय र तात्कालीन वेदनाले मन पिरोलिएको छ । फलस्वरूप महँगी र बाध्यता चुलियो । रोडपति र करोडपति बन्ने जुहारी चल्यो । कालोबजारी फस्टायो । कसैलाई नाकाबन्दी अभिशाप बन्यो त कसैलाई वरदान पनि । 

    यसअघि नेपालले छिमेकी देशका प्रधानमन्त्रीका रूपमा मोदीलाई स्वागत गर्दा देश, विदेश, सामाजिक सञ्जाल प्रेमिल आवाजमा सुसज्जित बन्यो । नेपाली भाषाबाट गरिएको संसद सम्बोधनको चर्चा सडक गल्लीमा पुग्दै पानी र जवानीका भाषण, बुद्धभूमि र पशुपतिनाथसम्मको भाषणले नेपालीको दिल चो¥यो । हाम्रा नेताजीहरूले सम्भावनाका रेखालाई दिमागभरि टम्म सजाएर पर्यटन विकास, जङ्गल, जलविद्युत, जनशक्ति विकासदेखि जडीबुटीसम्म सोच्न भ्याए । मानौँ आँखाको पट्टी खोलियो । तब लामै समयसम्म मुक्तकण्ठले प्रशंसा भइरहे । यस्तो पनि लाग्थ्यो– हाम्रा नेताजीले सोच्नै नसकेको स्थानसम्म पुगेर सबै थोकले पूर्ण रहेको नेपाल बनाइदियो । सायद यसैको परीक्षण गर्न उक्त भ्रमणको १३ महिनाको अन्तरालमा भूकम्पीय चोटले थिल्थिल्याएको घाउमा राम्ररी पोल्ने गरी मुक भाषाको नाकाबन्दी गरिदिए । कृत्रिम अभावको जलनमा त्रिपालमुनि बास बसेका नेपालीको मनको भित्री मर्ममा प्रहार भयो । दया, करुणा या त गीताको, विवेकानन्दको भावमा एकाएक गलपासो लगाइयो । तब त उही मोदीको प्रशंसा गर्ने ओठले दिल खोलेर विरोध प्रदर्शन गर्नुप¥यो । यसमा असल व्यवहारका पक्षपाती गान्धीवाद अनुत्तीर्ण बन्यो । आदर्शताभन्दा रहस्यात्मक गान्धी मर्म एकाएक मुकशैलीमा कठोर बन्यो । त्यो संसदको मोहनी ओली वाणी फोस्रो लागेकै हो । 
 

   यस पटकको मोदीको भ्रमणले भने अलिकति सम्बन्ध सुधारको अपेक्षा ग¥यो भन्न सकिन्छ । ओलीकै सरकार रहँदाको समयमा भएको यस्तो कार्य हुनु र वाम सरकारको यस घडीमा आलोपालो जस्तै गरी दुई देशका प्रधानमन्त्रीले राजकीय भ्रमण गर्नुले सुधारात्मक पाटोलाई बोध गराएकै छ । हुन त भारतले नेपालको समावेशी संविधानलाई खुलेर सम्मान गर्न नचाहँदा नाकाबन्दी गरिएको हो भनी अड्कलबाजी गर्नुपरेकै थियो । राजनीतिको आँखा हुँदैन भन्छन् तर जनतामा अलिकति आशा त पलाएकै छ, भारतले नेपालसँग सहसम्बन्ध राख्न चाहेकै हो । नेपाल त भारत र चीन छिमेकी राष्ट्रसँग निःस्वार्थ मित्रता पस्कन कन्जुस बनेको छैन र बन्दैन पनि । भारतले पनि नाकाबन्दीको कठोरता पस्कँदा मोदीसँगको विश्वास र आशाको त्यो सुन्दर मोहनी वाणी एकाएक कर्कस लाग्न थालेको हो । यसरी हेर्दा त सीमामा भएका ज्यादति, गोविन्द गौतम मारिएका घटना, वर्षामा डुबान पार्ने तर हिउँदमा नेपालका नहरमा कमिला, भारतमा सिंचाइ गरिने एकलौटी तानाशाही आचरणले विशेष गरेर सीमा क्षेत्रका नेपालीलाई पीडाको पहाड छ । भारतीय एसएसपीको दादागिरी र लाञ्छित बन्नुपरेका पीडामा नेपाली मन प्रताडित छ । त्यहाँ न राम आदर्शता बाँकी रहन्छ न गान्धीको मानवता नै । 

    यसमा नेपाल र नेपालीले कारणको पुन्तुरो खोज्ने र भेट्टाउने चाहना राख्नुभन्दा बढी आत्मनिर्भरतालाई सोचेका हुन् । तर, आजको सामाजिक सञ्जालमा तेस्रो पटकमा मोदीको स्वागतमा नेपाली मनले पहिलाभैmँ सकारात्मक भएर प्रशंसा गर्न चाहेकै छैनन् । एकातिर अघोषित नाकाबन्दीले रूष्ट नेपाली मन छ अर्कातिर सन्धि सम्झौताका सांसदका माग र प्रतिबन्धित ५०० र १००० का भारु सटहीको प्रक्रियाको असहजताका एजेन्डामा नेपाली मनले चासो राखेकै हो । सार्क शिखर सम्मेलनसमेत् गरेर मोदीको तेस्रो पटकको नेपाल भ्रमणमा आउँदा एकै पटक दुईवटा नागरिक अभिनन्दनको विषयलाई लिएर नेपाली जनमानसमा चासो र विरोधको भाव जागृत उत्पन्न भयो । हिजोको धङ्धङे अनि निर्ममता अर्थात् १३५ दिनको अघोषित उसको परीक्षा र नियतमाथि प्रश्न भइरहेकै छन् । त्यसअघि सन् १९९० को नाकाबन्दीको यादमा नेपाली मनले पहिलो पटक यहाँ आउँदा सम्झने चेष्टै गरेन । भनौँ बिर्सेकै हो । मोदीको पहिलो नेपाल भ्रमणपश्चात् औषधिमूलो समेत ठप्प हुनुले त्यसअघिको नाकाबन्दीको इतिहासलाई पनि घच्घच्यायो । अतिथिलाई स्वागत गर्न पाउँदा प्रफुल्लित हुनुपर्ने त्यो सहृदयी मनले आज कसरी चित्त बुझाओस् जतिखेर राजनीतिगत सङ्क्रमण अर्थात् मधेसवादी आन्दोलन र भूकम्पीय प्रताडना एकै साथ थियो । पोलेको घाउमा नुन च¥याउने कर्म अवश्य भयो । भनौँ, अमानवीय सोचको उत्कर्षता झल्कियो ।

    आज नेपाली मनले विगत मात्रै होइन, ताजा जटिलतालाई सम्झँदै छ । अलिअलि शङ्कामा अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सेको हो भनौँ या त स्वच्छता उपहास गर्नेप्रतिको आक्रोससँग नेपाली मन त्यसै कुँडिएको लाग्छ । नाकाबन्दीको मर्म प्रहार जति देखेको आधारमा रह्यो त्यति मनोवैज्ञानिक कुटनीतिगत भित्री रहस्यमा घुसेर मूल्याङ्कनको प्रयोगशालामा भित्रिन पुग्यो । किनकि त्यो समयमा नेपालमा संविधान निर्माणका विषयमा आएका आन्तरिक विवादले चुलिएको जटिलता थियो । समावेशी स्वरलाई सायद भारतले लामै समय स्वीकारेन । तर, संविधान नेपालले नेपालीका लागि लेखेका हुन् भन्ने भावमा एक हिसाबको अँठ्याइलो सोचले जकड्यो । केही हाम्रा नेताले देशको स्वाभिमानको विपरीत स्वार्थपूर्ण नीति बोकेको प्रतीत नभएको होइन । हुन त आज पनि राष्ट्रवाद र लम्पसारवादका चर्चामा अन्तरमन चुलिएकै छ । यद्यपि परिस्थितिको त्यो घडी र व्यवहारको कालो धब्बाबाट देशको आन्तरिक फुटमा आगोमा घिउ थपिने भय रहेको अनुमान धेरैले गरेकै हुन् । वास्तवमा त्यो नाकाबन्दीको अप्ठ्यारो बढेपछि जनताले तत्कालीन ओली नेतृत्वको सरकारलाई विरोध गर्छन् र आन्तरिक द्वन्द्व चर्कियोस् अनि भारतीय इतिहासका पानाको साम्राज्य शासनसत्ताको दाउमा दाउ लाग्छ भन्ने थियो कि भन्ने अनुमान एक कान दुई कान मैदान बन्दै सनसनी पैmलिन पुग्यो । सत्यता सबै गुप्त रहस्यमा रह्यो । रहिरह्यो । तर त्यसको विपरीत जनतामा एक भएर स्वावलम्बी बन्ने सोच बढ्यो । भाग्यवश जनताको बुद्धिमा देशको पीडाबोध सकारात्मक ढङ्गबाट प्रस्फुरित भयो । विद्वानका टेबल गफमा यी र यस्ता विषयले रगत तताउँथे भने राष्ट्रवादी बनेर सङ्घर्ष गर्नतिर ढाडस दिने तात्कालीन प्रधानमन्त्री ओलीको विचार र अडानको परिणाम नै वाम विजयको उपहार बन्न पुग्यो भन्न सकिन्छ । 

    जेहोस् यी विचारलाई सोच्न विवस बनाउने कारक हिजोको व्यवहारको समीक्षात्मक सोच मात्रै हुन् । नेपाल दुई विशाल देशका बीचमा रहनुलाई दुर्भाग्य भन्दा सौभाग्य बढी बनाउने विषयमा प्रगाढता चाहिन्छ । चीन र भारतको समदूरीमा नेपालले कदम उठाएका विषय पक्कै सह्राहनीय छन् । आखिर भारत र नेपालमा सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पराताŒिवक, सामाजिक, भाषिक विषयमा समानता रहनुले दुवै देशले आपसमा आलोपालो राजकीय भ्रमण गर्नु, विचार माझ्नु, विगतका तीता कुरामा सुधार गर्नु उत्तिकै आवश्यकीय पक्ष हुन् । यसको अर्थ नेपालले खुला सीमानाको ज्यादतिमा यतिकै चित्त बुझाउन सक्दैन । प्रेमिल मन हो भने लोभ लालचको कालो सोच पनि त बदलिनुपर्छ । नेपाली सीमामा दैनिक ठगिने यात्रु, खुला सीमाको एकातर्फीको न्याय झोलीमा मानवताको गाँठो पक्कै कसिलो लाग्दैन । भन्सार शुल्क, ठगी, भारतीयले नेपालीमाथि पटक पटक गर्ने अनैतिक दादागिरीप्रति मानवताको नाताले शान्तिको सास फेर्ने अवसर पाउनुपर्दैन र ! अर्थात् सोझा नेपालीलाई जेल हाल्ने धम्की दिँदै घुस खाने भारतीय सुरक्षा गार्डको राक्षसी आदतको छानबिन गर्न सकोस् तब नेपाली दिलले विश्वास गर्ला । नेपाली मनको घाउसम्म पुगेर मलम लगाउने कर्ममा पक्कै गान्धीको आदर्शता होला । विवेकानन्दको मानवता झल्केला । सीमाका ज्यादति र लालची धमिलो विचारमा पक्कै भगवान् रामको आदर्शता चम्कन सक्दैन । तब राम र सीततको माइती ससुरालीको सहसम्बन्ध व्यावहारिक बन्न सक्ला । नेपाली मनले छल कपट गर्ने सोचलाई होइन प्रेमको सौगात पस्कने पाहुनालाई स्वागत गर्न जानेका छन् । निर्दोष नेपाली मनमा निःस्वार्थता भाव भएकैले राजा महाराजाकै जस्तै गरी आज छिमेकी मुलुकका प्रधानमन्त्रीको आदर सत्कारमा नेपाली मन जुट्यो । संसदको सभाको वचनलाई बिर्सेको पनि त छैन, “बुद्धभूमिबाट समस्त नेपाली दाजुभाइहरूलाई म सत्सत् नमन गर्दछु ।” आखिर नेपाली मन यति कोमल छ भने स्वागत गर्दै पुष्पगुच्छा लिएर सडकमा बसेको भीडको श्रद्धा कमजोर छैन । 
  

 असल मित्रताको गाँठो कस्ने नेपाली मनमा गोविन्द गौतम जस्ता सहिदको दुःखद् निधनका वेदना भने अमिट बनिरहेकै छन् । सीमामा भारतीय सुरक्षाकर्मीको अत्याचारी कुप्रवृत्तिको नाङ्गो रवाफ र मपाइँत्वमा कमी आउन नसक्नुले यी मोहनी भाषणलाई औचित्यहीन तुल्याइदिँदो रहेछ । सीमा स्तम्भ सार्ने, नेपाली भूमिमा अतिक्रमण गरी विस्तारवादी कूनीतिको लिसो बोकेर लाञ्छनीय व्यवहार देखाउने अर्थात् एउटा असल छिमेकीको आदर्शतालाई केवल भाषणमा अटाउन नसक्ने तीता वास्तविकता आजकै हुन् । सीमानाकाका अमानवीय ठगी, जलस्रोतको एकलौटी प्रयोगशैलीका आचरणले हैरान भएका नेपालीका वेदनामा कमसेकम आदर्शता देखिए नेपाली मन किन खिन्न बन्थ्यो र ! असल छिमेकीको भूमिका निर्वाह गर्न जान्ने अनि सङ्कटमा एक बन्ने नेपाली मनलाई पक्कै अब छिमेकी मुलुक भारतले प्रेमिल कर्ममा हात बढाउला भन्ने आशा छ । तसर्थ सीमा विवादका विषयमा दुवै देशले गहन विश्लेषण र व्यवस्थापनका बारेमा कदम चाल्न सक्नुपर्छ । पूmल उपहार दिने छिमेकीलाई पत्थर प्रहार गर्ने छिमेकीसँग केवल प्रेमकै सौगात पस्किरहँदा कमसेकम पुनः प्रेमकै सौगात पस्केकै हो भन्न सकिन्छ । यद्यपि नेपाली मनलाई रेल, तेल या नेपाली ध्वजाबाहक पानी जहाज जे दिइयोस् तर वास्तविकतामा चाहिएको स्वाभिमानमा हस्तक्षेप कुनै तबरबाट नहोस् भन्नेमै गएर ठोकिन्छ । 

    खुकुरीले ताकेर दिएको चौरासी व्यञ्जनलाई भन्दा प्रेमले दिएको गुन्द्रुक भात मन पराउने नेपाली अस्मितामा न्यानो सम्बन्धको अभिलाषा पक्कै मर्दैन । नेपाल भारतसँग कैयौँ अत्यावश्यकीय साधनमा निर्भर छ । तर, भावनात्मक एकतामा नेपाल जति सकारात्मक छ त्यति भारत पनि सुविचारी बनोस् भन्ने निर्दोष मनलाई बोध गर्नु आवश्यक छ । नेपाली मनमा बुझेर मलम लगाउन चाहेका अतिथिलाई सामाजिक सञ्जालमा सम्मानभन्दा धेरै नाकाबन्दीकै गाली छन् । युवाको खुलेर प्रशंसा गर्न रुचाउने मोहनी वाणीका पारखी मोदीका वचनसँग नेपाली युवामनले यसपटक भने उस्तो विश्वास गर्न सक्दैन भन्ने पूर्वानुमान गर्न सकिन्छ ।

यसमा उही आक्रोसको झलक छ । यसअघि शुष्मा स्वराजको रहस्यात्मक आगमनमा नेपाली मनलाई तहल्का मच्चायो । फेसबुकका पानाहरूभरि यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणमा बिदा दिने विषयलाई लिएर व्यापक विरोध भयो । सामाजिक सञ्जालले आलो घाउभैmँ बल्झिएर उसैगरी तात्ने कोसिस गरे पनि नेपाली मनले तीर्थयात्रीका रूपमा आउने अतिथिलाई सत्कार गर्नुपर्छ भन्ने कुरामा बोध गरेकै छ । भारतसँगका नाका खुला छन्, संस्कार र परम्परा खुला छन्, संस्कृति खुला छन् तर अब विदेशी नीतिमा भारतीय प्रधानमन्त्रीले विश्वासको बाटोलाई खुला राख्न सके दुवै देशको भलाइ होला । बरु नेपाली मनको भारत विरोधी सोचलाई धुन मोहनी भाषणभन्दा बढी विश्वासको माहोल तयार होओस् । नाकाबन्दीको नेपाली माथिको अन्यायलाई वास्तविकताको कसीमा तौलेर नेपाली मनको विषादलाई चिर्ने सुकर्म होस् । यद्यपि आन्तरिक विषयमा होइन, दुई देशका विवादित विषयमा न्यायपूर्ण आदर्श गान्धीवाद झल्किन सक्नुपर्छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...