बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यसरी बढ्दैछ २ नम्बरका मुख्यमन्त्री राउतमाथि दबाब

सोमबार, ३१ वैशाख २०७५, १४ : ३२
सोमबार, ३१ वैशाख २०७५

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भएको दुई दिन भैसकेको छ ।

तर, मोदी भ्रमण सकेर स्वदेश फर्के पनि उनको भ्रमणका बेलामा भएका दुईवटा प्रसङ्ग र विषयको बहस कायमै छ । 

बहसका पात्र हुन्– दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र भारतका सांसद कीर्ति आजाद ।

मुख्यमन्त्री राउत ‘संविधानविरुद्ध सङ्घर्ष’ गरिरहनु परेको अभिव्यक्ति दिएर विवादमा तानिए भने आजाद ‘जनकपुर भारतमा फर्काउनुपर्छ’ भनेर ।

यी दुवै विषय अनुपयुक्त बेलामा भएकाले यसको विरोध बढेको हो ।

राउत र आजादकोे अभिव्यक्तिलाई लिएर सर्वत्र विरोध र आलोचनापछि दुवैका अभिवयक्ति फिर्ता लिन दबाब बढेको छ । 

मुख्यमन्त्री राउतले दिएको अभिव्यक्ति सच्याउनुपर्ने भन्दै केन्द्रीय सरकारको नेतृत्वकर्ता दल एमालेले सङ्घीय संसदमै आवाज उठाएको छ ।

१. यसो भनेका थिए राउतले– ‘यो प्रदेश आर्थिक रूपमा अत्यन्त पिछडिएको हो । राज्यद्वारा मधेसीमाथि जारी विभेदकारी नीति र पूर्वाग्रह एवम् विद्वेषपूर्ण मानसिकताको कारणले नै मधेसका जनता तुलनात्मक रूपले अत्याधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शाषित एवम् उत्पीडित जीवन जिउनका लागि बाध्य छन् । मधेस विकासको मामलामा निकै पछाडी परेको हो । हाम्रो सङ्घर्ष आज पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि जारी छ । हामी नेपालको अभिन्न अङ्ग हौँ, तर हामी के चाहन्छौँ भने हाम्रो देशमा पनि बिना भेदभावपूर्ण, कुनै पनि जाति, वर्ग र समुदायको व्यक्ति राज्यको हरेक तह, तप्का र निकायमा उसको क्षमता र योग्यताले समावेशका लागि सहज अवसर प्राप्त होस् । जस्तो कि महामहीम तपाईं एक समान्य परिवारको हुँदाहुँदै पनि भारतको सर्वोच्च कार्यकारी पद आसिन हुनुहुन्छ ।’

२. कीर्ति आजादले  सामाजिक सञ्जाल ट्विटरमा  लेखेका थिए– ‘आदरणीय नरेन्द्र मोदीजी, जनकपुरधाम मिथिलाको राजधानीमा यहाँलाई स्वागत छ, दुई सय साल पहिले अङ्ग्रेज र नेपालका बीचमा भएको सन्धि जसले मिथिलाको भाग नेपालमा दिएको थियो, समाप्त भएको छ । मिथिलाको यस भागलाई फिर्ता लिएर सीताआमाको आदर गर्दै मिथिला राज्य घोषणा होस् ।’
बहस तताउने र विवाद बढाउने यिनै दुई विषय हुन् । 

सोमबारको संसद बैठकमा एमाले उपाध्यक्ष समेत रहेका भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र कीर्ति आजादले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मुख्यमन्त्री राउतसँग सो अभिव्यक्ति तत्काल सच्याउन संसदको गम्भीर ध्यानाकर्षण गराए । ‘मुख्यमन्त्री राउतको अभिव्यक्ति कूटनीतिक मर्यादा उलङ्घन हुनेगरी आएकाले तत्काल सच्याउन माग गर्दछु’, रावलले संसद बैठकको ध्यानाकर्षण गराए । 

रावलले राउतले दिएको अभिव्यक्तिको मात्रै विरोध गरेनन्, उनले मोदी भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्ति पनि निन्दनीय भएको भन्दै आपत्ति जनाए । रावलले आफ्नो अभिव्यक्ति फिर्ता लिन सांसद आजादको गम्भीर ध्यानाकर्षण गराए । 

मोदी नेपाल भ्रमणमा आएका बेला भारतीय सांसद आजादले ‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भनेर ट्विट गरेका थिए । आजादको सो टिप्पणी नेपालको स्वाभिमानविरुद्ध भएको उपाध्यक्ष रावलको ठहर छ । ‘नेपालको अस्मितामाथि नै प्रश्न उठाउने गरी आएको आजादको सो भनाइ कुनै पनि नेपालीलाई सैह्य हुन सक्दैन’, रावलले बैठकमा भनेका छन् ।

उपाध्यक्ष रावलले मात्रै होइन, प्रधानमन्त्री केपी ओलीले समेत राउत र आजादको अभिव्यक्तिको विषयप्रति असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबारको सङ्घीय संसद बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र भ्रमणका क्रममा भएका सहमतिबारे जानकारी गराउँदै जनकपुरमा मोदीको अभिनन्दनका क्रममा मुख्य मन्त्री राउतले कूटनीतिक मूल्य र मान्यता विपरीत अभिव्यक्ति दिएको भन्दै साङ्केतिक असन्तुष्टि जनाएका थिए । 

प्रमुख प्रतिपक्ष पनि आक्रोशित
उता प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि मुख्यमन्त्री राउत र भारतका सांसद कीर्ति आजादको अभिव्यक्तिको विरोध गरेको छ । संसदमा बोल्दै काँग्रेस सांसद गगन थापाले लालबाबु राउतको भनाइ आपत्तिजनक रहेको भन्दै मुख्यमन्त्रीलाई विदेश नीतिबारे प्रशिक्षण दिनुपर्ने बताए । ‘नेपालको विदेश नीति प्रदेशले होइन केन्द्रले निर्धारण गर्छ ।’ सांसद थापाको भनाइ छ । 

त्यस्तै प्रवक्ता विश्वप्रकाश शर्माले पनि राउतको अभिव्यक्ति गलत समयमा आएको रातोपाटीलाई बताए ।

‘कुन विषय कहाँ राख्ने र कसरी राख्ने वा नराख्ने भन्नेमा परिपक्वता देखाउनुपर्छ, चाहे त्यो प्रधानमन्त्रीले होस् वा मुख्यमन्त्रीले नै किन नहोस्’ प्रवक्ता शर्माले भने, ‘देशको आन्तरिक मामिलामा परिपक्वता देखाउन सक्नुपर्छ ।’ 

मधेसी दल मौन 
राउतको अभिव्यक्तिबारे मधेसबादी दल भने अहिलेसम्म मौनजस्तै छन् । सङ्घीय समाजवादी फोरमका तर्फबाट मुख्यमन्त्री भएका राउतले दिएको अभिव्यक्तिको फोरमका अध्यक्ष उपेन्द्र यादव र उनको पार्टीले अहिलेसम्म कुनै प्रतिकृया जनाएको छैन । त्यस्तै अर्को दल राजपा पनि यी अभिव्यक्तिबारे मौन जस्तै छ ।  

प्रदेशको तयारी 

उता, राउतको अभिव्यक्तिको विरोधमा नेपाली काँग्रेसले २ नम्बर प्रदेश संसदमै कुरा उठाउने तयारी गरेको छ । काँग्रेसका धनुषा जिल्ला सभापति सरोज यादवले मुख्यमन्त्री राउतले मोदी अभिनन्दनका बेला त्यस्तो अभिव्यक्ति दिएर केटाकेटीपन देखाएको टिप्पणी गरेका छन् । ‘मुख्यमन्त्रीजीले जुन कुरा उठाउनुभएको छ, त्यो हाम्रो आन्तरिक कुरा हो । यसलाई हामी आन्तरिक रूपमा मिलाउन सक्छौँ । अर्का देशका प्रधानमन्त्री समक्ष त्यस्तो कुरा राख्नु भनेको कूटनीतिक मार्यादा विपरीत कार्य हो ।’

परराष्ट्र मन्त्रीको चेतावनी

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ भारतीय जनता पार्टीका सांसद आजादको अभिव्यक्ति निन्दनीय र भत्सर्नायोग्य रहेको भन्दै आपत्ति जनाएका हुन् ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले भारतीय सांसद आजादले ‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भनेर ट्वीट गरेकोमा आपत्ति जनाएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सो सम्बन्धमा भारत सरकारको गम्भिर ध्यानाकर्षण गराउने जानकारी समेत गराए ।

 उनले नेपाल–भारत सम्बन्ध बिगार्नेगरी सांसद आजादले गलत मनसाय राखेको आरोप पनि लगाए ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा नागरिक अभिनन्दन गर्नेक्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति संविधान र कूटनीतिक मर्यादा विपरित भएको स्विकार गर्दै आईन्दा त्यस्तो गल्ती हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पारे । 

उनले संघीय सरकारले परराष्ट्र सम्बन्धलाई हेर्ने काम गर्छ भन्ने हेक्का राख्न पनि मुख्यमन्त्री राउतलाई सचेत गराए । मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन गर्ने क्रममा ‘संविधानविरुद्ध संघर्ष गरिरहनु परेको’ सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप