केन्द्रीय संस्करण

म आकाशको ‘राष्ट्रपति’

person access_timeबैशाख ३१, २०७५ chat_bubble_outline0

प्रकाश चाम्लिङ

‘मलाई ?’ उनले भने, ‘आकाशको राष्ट्रपति हुँ जस्तो लाग्छ ।’

आकाशको पनि राष्ट्रपति हुन्छ र ?

हुन्छ नि ।

कसरी ?

‘यात्रु बोकेर गन्तव्यतिर लाग्दा उडान भरिरहेको विमान मेरो कन्ट्रोलमा हुन्छ । सबैलाई गन्तव्यमा पुर्याउने जिम्मेवारी लिएर हिँडेको हुन्छु,’ उनले प्रस्ट्याए, ‘ग्राउन्डको राष्ट्रपतिले गल्ती गरे माफी पाउँछन् । मैले गरे माफी हुँदैन ।’ 

त्यसकारण आफ्नो जिम्मेवारी राष्ट्रपतिको भन्दा पनि ठूलो हुने उनको बुझाइ छ । ‘तसर्थ, मलाई सकेन्ड चान्स आउँदैन,’ उनले सुनाए, ‘फस्र्ट एन्ड लास्ट मिस्टेक भयो कि सकियो ।’ 

नेपालमा बेलाबेला जहाज दुर्घटनामा हुन्छ । त्यसलाई आधार मान्दा नेपाली आकाश असुरक्षित छ कि भन्ने शंका लाग्नु अस्वाभाविक होइन । ‘नेपाली आकाश असुरक्षित छैन,’ उनले थपे, ‘अन्य देशको तुलनामा नेपालमा जहाज दुर्घटना धेरै भएको पक्कै हो ।’ भौगोलिक बनावट, ‘एयरपोर्टको फेरिलिटी’ का कारण दुर्घटना बढिरहेका हुन् ।

नेपाली आकाश असुरक्षित मान्ने नै हो भने त्यसलाई सुरक्षित बनाउने उपाय थुप्रै छन् । सर्वप्रथम ‘एयरपोर्ट फेसिलेटेड’ हुनुपर्छ । आवश्वक ‘इक्वीपमेन्ट’ ठीकठाक हुनुपर्छ । सम्भावना भएका एयरपोर्टका ‘रनवे लेन्थ’ बढाउन सकिन्छ ।

पुराना जहाजले उडान भर्दै आएकाले दुर्घटना भएका हुन् भन्नेहरू पनि नभएका होइन् । तर, उनी मान्न तयार छैनन् । ‘जहाज पुरानो कहिल्यै हुँदैन । नेपाल ल्याइएका जहाज सबै पुराना हुँदै होइनन्,’ उनले प्रस्ट्याए, ‘त्यसको सर्टेन लाइफ टाइम हुन्छ । निश्चित घन्टा उडेपछि परिवर्तन गर्नुपर्छ । त्यसकारण त्यो चेन्ज भएकै हुन्छ ।’ नेपालमा मात्रै होइन, संसारभरि विमान दुर्घटना भएका छन् । हुन्छन् । ‘मेसिनरी’ चीज भएकाले कहिलेकाहीं पार्टपुर्जाले काम नगर्न सक्छ । 

नेपाल एयलायन्स र थाई एयरवेजले सँगै उडान सुरु गरेका हुन् । थाई एयरले संसारभरि उडान भरिरहेका छन् । नेपाल एयरलाइन्सले सोचेजस्तो उडान भर्न सकेको छैन । एनएसी नेतृत्व सक्षम नहुँदा त्यसो भएको हुन सक्छ । एनएसी नेतृत्व गर्ने प्राविधिक नै हुनुपर्छ । अप्राविधिकले नेतृत्व गरे एनएसीको सोचेजस्तो, चाहेजस्तो प्रगति हुँदैन । ‘एभीएसन’ सम्बन्धी ज्ञान नभएकाले नेतृत्व गर्दै जाने हो भने एनएसीको साख जोगाउन गाह्रो हुन्छ । त्यतिमात्रै होइन, राजनीतिक दबाब हुनुहुँदैन । त्यसो भयो भने तीनदेखि ६ महिनामा शुभसंकेत देख्न सकिन्छ । 

विविध कारणले नेपालले व्यावसायिक उडान भर्न सकेन । ‘त्यो स्टान्डर्डमा पुग्न स्पष्ट नीति ल्याउनुपर्छ भन्ने पाइलट उद्धव घिमिरेको बुझाइ छ । पाइटलट घिमिरेको सुझाव छ, ‘सरकारले विभिन्न विधामा छात्रवृत्ति दिएर पढ्ने व्यवस्था मिलाएको छ । त्यस्तो व्यवस्था मिलाइदिए पाइटल पढ्न गाउँगाउँका भाइबहिनी तयार छन् । म पनि गाउँकै मानिस हुँ ।’

खोटाङबाटै एसएलसी गरेका उनले पाइलट बन्छु भनेर कहिल्यै सोचेका थिएनन् । काठमाडौंबाट दस जोड दुई गरेपछि त्रि–चन्द्र क्याम्पसमा बीएस्सी भर्ना भएका थिए । त्यही समय पाइलट पढ्ने सोच बनाए । पाइलट पढ्न ३० हजार डलर चाहिन्थ्यो । ‘३० हजार डलर जम्मा गर्न त्यति सजिलो थिएन,’ उनले जोडे, ‘अभिभावकले घर–जग्गा बेचेर पाइलट पढाउनुभयो ।’ 

चिकित्सक बन्ने लक्ष्य बोकेका उनी पाइलट बने ।  सन् २०११ मा क्याप्टेन बनेका उनी २०१४ देखि एनएसी जोडिए । अग्नि, सिम्रिक एयरलाइन्स हुँदै एनएसी पुगेका थिए । निगम पुगेलगत्तै चीनमा ६५ दिनको तालिम लिए । स्वदेश फर्केर चीनमै बनेको वाई १२ जहाज ‘कोइली’ उडाउन थाले । कोइलीले काठमाडौंबाट पोखरा, भैरहवा र सिमरा उडान भर्दै आएको छ ।

एनएसीको इतिहासमा पहिलो स्वर्ण पदक प्राप्त क्याप्टेन उद्धव घिमिरेको पाइलट बन्ने योजना कसरी बन्यो होला ? एमबीबीएसको छात्रवृत्तिमा नाम निकाल्न नसकेपछि उनी पाइलट बन्न हौसिए । ‘पाइलट बन्ने धेरैको चाहना हुन्छ,’ उनको भनाइ छ, ‘तर, त्यति सहज छैन । त्यसमाथि गाउँको मान्छे । ठूलाबडाको छोराछोरीले मात्रै पाइलट पढ्न सक्छन् भन्ने लाग्थयो । तर, होइन रहेछ । इच्छा भए उपाय कति–कति ।’ 

पाइलट पनि सेलिब्रेटी नै हुन् । साढे तीन करोड नेपालीमध्ये तीन सयजना पाइटल छन् । त्यसकारण समाजले हेर्ने दृष्टिकोण इज्जतिलो छ । ‘यसैमा खुसी छु,’ उनले खुसी व्यक्त गरे, ‘चिकित्सक बनेको भए यत्तिको सफलता पाइँदैनथ्यो ।’ 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ