शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशको स्थायी राजधानी र नामाकरण जेठ महिनाभित्रः मुख्यमन्त्री राई

आइतबार, ३० वैशाख २०७५, २० : ०७
आइतबार, ३० वैशाख २०७५

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र यसको नाम आगामी जेठ महिनाभित्रै सहमतिमै कायम हुने बताएका छन् । 

नेपाल पत्रकार महासंघ प्रदेश नं १ निर्वाचन समितिद्वारा आज यहाँ आयोजित प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै राईले सो कुरा बताएका हुन् । 

मुख्यमन्त्री राईले अनलाइन र सामाजिक सञ्जाललाई व्यवस्थित गर्न महासंघको भूमिका आवश्यक रहेको भन्दै प्रेस स्वतन्त्रतालाई कुनै पनि किसिमको अंकुश नलगाउने कुरामा जोड दिए । 

उनले समाजलाई नकारात्मक असर पर्ने कुनै पनि किसिमको प्रायोजित समाचार वा सूचना सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गर्दै सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक दिलाउन आफ्नो भूमिका सकारात्मक रहने बताए । 

प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले मुलुकलाई छिट्टै विकास गर्न संघीय संरचनाले धेरै ठूलो भूमिका निर्वाह गर्ने बताइन् । 

प्रदेशसभा सदस्य केदार कार्की र जयराम यादवले समाजको ऐनाका रुपमा काम गर्ने सञ्चारकर्मी लोभ र लालचमा पर्न नहुने बताए । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यावसायिक एवं मर्यादित पत्रकारिता आजको आवश्यकता भएकाले यसमा सञ्चारकर्मीले विशेष ध्यान दिनुपर्ने बताए । 

महासंघका महासचिव रमेश विष्टले सञ्चारकर्मीले जहिले पनि सत्य, तथ्य समाचार सम्प्रेषण गर्नमा क्रियाशील रहनुपर्ने र यही आधारभूत आधारबाट आचारसंहिता कायम रहने उल्लेख गरे । 

यही वैशाख २२ गते सम्पन्न निर्वाचनमा महासंघका प्रदेश नं १ अध्यक्ष विक्रम लुईंटेल, उपाध्यक्ष सोमनाथ सुसेली र स्मीता निरौला, महासचिव विवेक गौतम, सचिवद्वय हरिकृष्ण राई र बुद्धवीर राई, कोषाध्यक्ष अम्बिका भण्डारीलगायत २१ पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन गराइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप