शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अरुण तेस्रोको कन्यादान !

आइतबार, ३० वैशाख २०७५, १३ : १७
आइतबार, ३० वैशाख २०७५

एउटै लेखले एक अमेरिकीलाई ‘प्रशासनको पिता’ भनिएको छ । थोरै लेखेरै हाम्रा माधव घिमिरे ‘राष्ट्र कवि’ कहलिए । गुरुप्रसाद मैनाली एउटा कथा सङ्ग्रहले नेपालका अग्रज–महान कथाकार बनेका छन् ।

बालकृष्ण समले ‘चिसो चूल्हो’को भूमिकामा भनेका छन्, ‘धेरै थोरै भाग्यमानी कविले थोरै लेखेर पनि संसारमा प्रसिद्धि पाएका छन् । बरु धेरै अभागी कविले धेरै लेखेर पनि ख्याति प्राप्त गर्न सकेका छैनन् ।

थोरैबाट धेरै प्राप्ति गर्ने शक्ति दुर्लभ हुन्छ ।’ एउटा लेखमा, एउटै लेखमा त्यस्तो दुर्लभ शक्तिको छनक पाएर उफ्रिँदै छत फोडूँ कि भुइँ खोतलूँ भएर म उफ्रिएँ । २०७५ वैशाख २६ गतेको स्वार्णिम बिहानीले म असाध्यै उत्ताउलिएँ । प्रत्येक बिहानी नयाँ हुन्छ, पढे–सुनेकी र हल्का–हल्का बोध गरेकी हुँ । तर २६ गतेको बिहानी मेरा लागि विशेष भयो । बिहानको नित्य कर्मपछि ल्यापटप के खोलेँ, छातीभरि अमृत घोलियो । एउटा लेख चार पटक दोहो¥याएर पढेँ । खुशीले भुइँ न भाँडामा हुन थालेँ । मस्त निन्द्राकी छोरीको अनुहारभरि म्वाइँ छरिदिएँ । आमाको कोठामा गएर खुट्टा ढोगिदिएँ । 
‘बहुलाइस कि क्या हो ?’

आमाले भन्नुभयो, मैले कहिल्यै आमालाई ढोगेकी थिइनँ । 

‘एउटा लेख पढेर खुशी लाग्यो । तपाईं मिठाइ खानुहुन्न, एक पाउ कुखुराको मासु ल्याएर ख्वाउँछु !’

बा बाथरुमबाट निस्किएर तौलियाले मुख पुछ्दै खाटमा बसेर खोक्न थाल्नु भयो । 

‘एउटा लेख पढेर तपाईंकी छोरी चौपट खुशी भै अरे !’ आमाले सुनाउनु भो । 

बाले खोकी थाम्दै, छाती छाम्दै भन्नुभयो, ‘पैँतीस सालतिरको कुरा हो, काठमाण्डूको भोटाहिटीमा कमर शाह भन्ने साथीको प्रगतिशील पुस्तक पसल थियो । पस्दा गोर्कीको ‘आमा’ देखेर किनेँ । मलाई पनि साह्रै ठूलो खुशीले छोएको थियो । पर्वतमा मैले धेरै साथीलाई त्यो किताब पढाएँ ... छोरीले अहिले के पढेकी हौ ?’

मैले कोठामा गएर ल्यापटप ल्याएँ । खोलेर बालाई देखाउँदै भनेँ, ‘बा आफै पढ्नोस् र स्वाद लिनुहोस् ।’ 

बा सिरानीमुनिको चस्मा झिक्न थाल्नु भयो । आमा कराउनु भयो, ‘डाक्टरले नपढ्नु 

भनेको होइन बूढा ?’ 

बाको मोतीविन्दुको अपरेसन गर्ने कुरा छ । डाक्टरले नपढ्नु, चर्को उज्यालोमा नहेर्नु भनेको छ । 

‘छोरीले पढ न म सुन्छु । सुनेर तृप्त हुन्छु ।’

‘पूर्व हो घाम झुल्कने, पूर्व हो उज्यालो पस्कने 

हामी नेपाली छँदा–छँदै दिल्लीमा किन लस्कने 

प्रधानमन्त्रीज्यू अहिले एउटा घोषणा गरिदिनु होस् प्लिज ! 

अरुण–तेस्रो अब हामी आफैले बनाउने !’

‘मुक्तक हो ? कसले लेखेको ?’

‘एउटा महत्वपूर्ण आर्टिकलभित्रको मुक्तक !’

‘के शीर्षकको आर्टिकल, कसले लेखेको ?’

‘अरुण तेस्रो माथिल्लो कर्णालीपछिको नेपालको सबैभन्दा राम्रो र सस्तो आयोजना हो... । नेपालको लागि बरदान हुनुपर्ने अरुण–३ अहिले कन्यादानको शिकार भएको छ । सत्तासीन तथा प्रतिपक्ष सबै राजनीतिक पार्टी र सरकारका तर्फबाट अरुण तेस्रोको कन्यादान गरिँदैछ ...!’ मैले लेख भेट्याएँ । 

‘यो त मेरै नेताहरूले छोरी, उहिल्यै अन्माइसकेका हुन् । अहिले मोदी आउँदा जग्गेको विधि पूरा गर्ने अरे.... आफूलाई माइनस गरेर देशबारे सोँच्ने नेता देखिएनन् ...!’ बाले लामो सुस्केरा तान्नुभयो । आमा टुक्रुक्क खाटमा बस्नु भयो, ‘आफूले गर्न नसक्ने कुरामा धेरै टाउको दुखाउनु हुँदैन क्या छोरी ! कर्मण्ये वाधिका रास्ते, मा फलेसु कदाचन भन्छन् नि, कर्म गर्नु । फल प्राप्त हुन्छ, नहुन पनि सक्छ । काम गर्दै हामी नेपाली, हाम्रो नेपाल भन्दै बस्नु पर्छ ।’

‘मम्मीको कुरा ठीक !’ दिदी आजैको पत्रिका लिएर आई र युग पाठकको फेसबुक सुनाई–
‘हिटलरले केही गर्छन् भन्ने थियो एकथरिलाई उतिबेला । ज्ञानेन्द्रले पनि गर्छन् नै भन्थे एकथरि । ओलीले नि गर्छन् भन्छन् केही मित्रहरू । ब्यर्थै पछि रुन केको तयारी हो आजैदेखि ?’
मैले दिदीलाई चूपको सङ्केत गर्दै लेखको अरू केही अंश फेरि सुनाएँ, ‘प्रधानमन्त्री ओलीले अहिल्यै घोषणा गरिदिनु प¥यो कि अरुण–३ नेपालले आफै बनाउने छ । काठमाण्डू–निजगढ दूतमार्ग सरकार आफैले बनाउने घोषणा गरे झैँ !’
   

     इतिहासप्रति असचेत मान्छे वा राष्ट्र कहिल्यै अघि बढ्दैन । विकसित मुलुकहरू इतिहासको गौरवगाथा अँगालेरै समृद्धितिर लम्केका छन् । पहिलो संविधान सभाको दुखद अवसान, भूकम्प वा संविधान जारी गरिँदाको पीडापूर्ण नाकाबन्दीले हाम्रा नेताका चेत फिरेन । यसैले स्थानीय तहमा लखनाँैको लुट मच्चाउन खोजिँदैछ । हाल दलालहरूको चर्को बिगबिगी बढिरहेको बेला गोपाल चिन्तनको चिन्ता, चासो, आँट र अठोट अनुकरणीय छ । आँटको एउटा सबुत हेरौँ–
 

         ‘देशलाई आज यस अधोगतिमा पु¥याउने त्यस बेलाका शेरबहादुर देउवा, डा. रामशरण महत, पशुपति शमशेर, डा. प्रकाशचन्द्र लोहनी, सूर्यनारायण उपाध्याय, डा. विनायक, अजितनारायण सिंह, डा. जनकलाल कर्माचार्यहरूका कारण अरुण–३ खारेजीमा प¥यो ।’
          हो, आज इतिहास सर्लक्कै बिर्सिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मला न्यौपाने
निर्मला न्यौपाने
लेखकबाट थप