बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलमा सडकका बेसहारा तथा मनोरोगीहरुको पुनःस्थापना अभियान सुरु

शनिबार, २९ वैशाख २०७५, १७ : ४८
शनिबार, २९ वैशाख २०७५

तेजेन्द्र के .सी

बुटवल । बुटवलका सडकमा जीवन जिउन बाध्य भएका बेसहारा तथा मनोरोगीहरुलाई पुनःस्थापना गर्ने अभियान शुरु भएको छ । 

आगामी साउन महिनासम्ममा बुटवललाई ‘सडकमानवरहित’ घोषणा गर्नेगरी अभियान सुरु भएको हो । 

बुटवल उपमहानगरपालिकाको सहकार्यमा मानव सेवा आश्रमले शनिबारदेखि यस्तो अभियान सुरु गरेको छ । बुटवल उपमहानगरपालिकासँग हालै सम्झौता गर्दै उक्त संस्थाले शनिबार देखिनै अभियान शुरु गरेको छ । 

आश्रमका लागि उपमहानगरपालिकाले बुटवल–१३ जितगढीमा अर्को व्यवस्था नहुञ्जेलका लागि शनिबार नै भवनसमेत उपलब्ध गराएको छ । सोही स्थानमा आश्रम सञ्चालन हुने छ । तीन महिना भित्रमा बुटवलमा सडकमा जीवन बिताउन बाध्य भएकाहरुलाई औषधोपचारसहित आश्रममा लगेर स्याहार सुस्याहार गरिने अभियन्ता रामजी अधिकारीले जानकारी दिए । बुटवलमा सुरु भएको यो आश्रम दशौँ शाखा हो । 

एक समारोहबीच आश्रमको अभियान शुभारम्भ गर्दै नगर प्रमुख सुवेदीले मानवताको सहरका रुपमा बुटवलको विकास गरिने बताए । मानवीय सेवाका काममा नगरबासीहरुलाई पनि सहकार्य गर्न आग्रह गर्दै प्रमुख सुवेदीले सडकमानवमुक्त अभियानले बुटवलबासी सबैको गरिमा बढ्ने उल्लेख गरे ।

त्यसअवसरमा आश्रमका केन्द्रीय प्रमुख संरक्षक तथा वरिष्ठ अभियन्ता डाक्टर गोविन्द टण्डनले सेवाभावको उद्देश्यले देशैभरी यस्तो अभियान सञ्चालन गरिएको बताए । उनले आउँदो १० वर्षसम्ममा नेपाललाई नै सडकमानवमुक्त बनाउने गरी आफूहरु अभियानमा जुटेको बताए । देशभरका १० स्थानमा आश्रमहरु सञ्चालन गरी यहीँ अभियानलाई विस्तार गरिएको उनले जानकारी दिए । 

सो अवसरमा प्रदेश सभा–५ का सदस्य भोजप्रसाद श्रेष्ठ, उपप्रमुख गुमादेवी आचार्य, मानव सेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारी, प्रदेश सभाका सचिव डाक्टर मानबहादुर विके, वडा नं. १३ का अध्यक्ष नारायणप्रसाद पुन, बुटवल उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनाल, समाजसेवी एजाज आलमलगायतले बोल्दै मानव सेवा आश्रमको अभियानको सफलताको कामना गरेका थिए । कार्यक्रमका सहभागीहरुले आफूहरु पनि मानवसेवाका लागि सहयोग र सहकार्य गर्ने बताएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप