बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिनाथको मन्दिरमा बिताए मोदीले ४८ मिनेट, गरे विशेष पूजा

शनिबार, २९ वैशाख २०७५, १२ : ४५
शनिबार, २९ वैशाख २०७५

काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान  पशुपतिनाथमा विशेष पूजापाठ गरेका छन् ।  शनिबार बिहान मुक्तिनाथको दर्शन गरेर  काठमाडौं फर्किएसँगै मोदी पशुपतिनाथको दर्शन गर्न पुगेका थिए ।  

विशेष पूजा गर्ने  क्रममा मोदीले पशुपतिनाथमा ४८ मिनेट बिताएका थिए । 
मोदी पशुपतिनाथको दर्शनका लागि पुग्दा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित कोषका पदाधिकारीहरुले स्वागत गरेका थिए । 
 विशेष पूजापछि मोदी बसिरहेको होटल ह्यायात तर्फ लागेका छन् । 

मोदीले यसअघि पनि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि भारतीय रुपैयाँ २५ करोड, सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गरेका थिए । 
तर, त्यसबेलाको घोषणाको सहयोग मन्त्रालयले दिनुपर्ने अनुमतिको प्रक्रिया पूरा नभएकाले रोकिएको छ । सहयोगसम्बन्धी त्यो प्रस्ताव अहिले पनि अर्थ मन्त्रालयमा रोकिएको कोषले जनाएको छ । 

चार वर्षअघिको भारतीय प्रधानमन्त्री मोदीको पशुपतिनाथ मन्दिरमा भएको पूजाका अवसरमा १२ वर्ष अघिदेखि रोकिएको नेपाल–भारत मैत्री धर्मशाला निर्माणको बाटो खुला भयो । धर्मशाला निर्माण हाल अन्तिम चरणमा पुगेको छ । कोषले उपलब्ध गराएको १६ रोपनी जग्गामा भारत सरकारले तीन तारे होटलस्तरको धर्मशाला निर्माण गरिरहेको छ । 

धर्मशालामा ४०० जनाको क्षमता छ । धर्मशालाको निर्माणपछि पशुपतिमा विश्वका धार्मिक पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप