बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीलाई उपराष्ट्रपति पुनको आग्रहः ‘मुस्ताङको चिया जसरी पनि पिउनुहोला है’

शुक्रबार, २८ वैशाख २०७५, १८ : ४८
शुक्रबार, २८ वैशाख २०७५

काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेका छन् । केहीबेरअघि प्रधानमन्त्री मोदीले उपराष्ट्रपति निवास बहादुर भवनमा पुगेर उपराष्ट्रपति पुनसँग भेटवार्ता गरेका हुन् । त्यसअघि प्रधानमन्त्री मोदीलाई सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरिएको थियो ।

गार्ड अफ अनर लिएलगत्तै प्रधानमन्त्री मोदी उपराष्ट्रपति पुनसँगको शिष्टाचार भेटवार्ताका लागि बहादुर भवनतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री मोदीले उपराष्ट्रपतिसँग करिब पौने एक घण्टा शिष्टाचार भेट गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

उपराष्ट्रपतिले भारतीय प्रधानमन्त्रीसँगको भेटमा परापूर्वकालदेखिको नेपाल–भारतबीचको सौहार्द र सहयोगात्मक सम्बन्ध भारतीय प्रधानमन्त्रीको कार्यकालको तेस्रो पटकको नेपाल भ्रमणले अझै बलियो र प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले दुई देशबीचको उच्चस्तरीय निरन्तर भ्रमणले सम्बन्धमा उच्च विकास र भावनात्मक रुपमा निकटता ल्याउने गरेको बताए । 

उनले नेपालको विभिन्न क्षेत्रमा भारतको ठूलो लगानीको नेपालले अपेक्षा गरेको उल्लेख गर्नुहुँदै सिमा क्षेत्रमा हुने डुवान, आवाजत जावतमा देखा पर्ने समस्याहरु हल हुँदै जाने अपेक्षा व्यक्त गरे । उनले विगतमा दुई देशबीच भएको सहमति, सम्झौताहरु कार्यान्वयनका लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्ने, विगत सम्झौता र सन्धिहरु दुवै देशको पारस्परिक हित अनुकूल र समय अनुकुल हुने गरी पुनरावलोकन हुने विश्वास समेत व्यक्त गरे । 

भेटमा उपराष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण सफल रहेकोमा धन्यवाद दिनुहुँदै मुक्तिनाथ भ्रमण सफलताको शुभकामना समेत दिएका थिए । उनले मुक्तिनाथ धार्मिक आस्थाको केन्द्रमात्रै नभइ सुन्दर पर्यटकीय क्षेत्र रहेको उल्लेख गर्नुहुँदै त्यहाँको आनन्द लिन आग्रह गरेका थिए । उनले मुस्ताङको चिया अत्यन्त स्वादिलो रहेको जानकारी गराउँदै त्यहाँको चिया पिउन समेत आग्रह गरेका थिए । 

उपराष्ट्रपतिसँगको भेटमा भारतीय प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न भारत सधै तयार रहेको बताए । उनले पर्यटन, जलविद्युत, कृषिलगायतका क्षेत्र नेपालको समृद्धिको आधार भएको आफूले पाएको उल्लेख गर्दै त्यस क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्न भारत तयार रहेको बताए । 
उनले दुई देशबीचको सहकार्यलाई अझै फराकिलो बनाउनुपर्ने बताउँदै भारत र नेपालबीच सहकार्य भए जस्तो सुकै काम पनि गर्न सकिने बताएका थिए । प्रधानमन्त्री मोदीले आजै राष्ट्रपति विद्या भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् ।

उनी आजै जनकपुर हुँदै काठमाडौं आइपुगेका हुन् । मोदी शनिबार बिहान मुक्तिनाथ दर्शनका लागि त्यसतर्फ जाने कार्यतालिका रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप