मोदी तीर्थाटनको राजनीति
१८१६ को इस्ट इन्डिया कम्पनीसँगको सुगौली सन्धिबाट प्रवर्तित र १९५० को नेपाल–भारत मैत्री सन्धिबाट उध्र्वगामित नेपाल–भारत सम्बन्धमा समानता, मित्रता र सार्वभौमिकता हावी नभई औपनिवेशिकता, असमझदारी र अन्यायपूर्ण परिस्थिति विद्यमान छ । सार्क राष्ट्रका विपन्नतम् मुलुकहरूले घेरिएको भारतका लागि चीन र पाकिस्तान अत्यन्त चासोका विषय हुन् भने नेपाल, भुटान, बङ्गालदेश नजरअन्दाज गर्न नमिल्ने छिमेकी हुन् । भारतीय काँग्रेसको सत्ता बर्हिगमन र भाजपाको उदयसँगै १७ वर्षसम्म नेपालमा नभएको भारतीय उच्च स्तरीय भ्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ब्रेक’ गरेपछि यो तेस्रो पटकको भ्रमण हो । प्रधानमन्त्री मोदीका तीन भ्रमणले ‘राजनीतिक, धार्मिक र विकासे भाइब्रेसन’ जुन कोणबाट पैदा गरेका छन् । ती कुनै न कुनै रूपमा नेपाली राजनीतिमा भारतीय वर्चस्वकै नैरन्तर्य हुन् ।
पहिलो पटक मोदीले नेपाल भ्रमणमा ‘र’ का प्रतिनिधिमार्फत् सञ्चालित नेपाल भारत कूटनीतिको सीमारेखा तोड्दै नेपालको संविधानसभामा धार्मिक, सांस्कृतिक र पर्यावरणीय आवरणमा भारतीय इन्ट्रेस्ट अभिव्यक्त गरेका थिए । एक विलियन सहयोगको घोषणाले सारा इन्ट्रेस्टलाई छोपे पनि संविधान ऋषि मनले लेखियोस् र फुलस्टप, कमाका माध्यमबाट वृषवृक्ष नहुर्कियोस् भन्ने सम्बोधन धर्मनिरपेक्षता, नागरिकता र प्रतिनिधित्वको सवालमा खस अहंकारवाद नै भन्नुहोस् अपितु भारतीय चाहना विपरीत सङ्घीय गणतन्त्र नेपालको संविधान २०७२ को घोषणा भएपछि मधेस आन्दोलन हुँदै नाकाबन्दीमा त्यो ऋषिमन राक्षसीकरण भयो र नेपालमा उदारवादी पुँजीवादको नयाँ संस्करण देखा प¥यो । त्यो डिजास्टर पुँजीवादको नकारात्मक प्रभाव के भयो भने नेपालमा ओली राष्ट्रवादको कायाकल्प भयो । सत्ताका किर्नाहरूले नाकाबन्दीलाई नाकाबन्दी हो भन्न नसके पनि नेपाली सर्वसाधारण जनताले दुःखलाई आत्मसाता गर्दै नेपालको राजनीतिलाई नयाँ कोर्समा लैजान प्रेरित गरे । पेट्रोलियम पदार्थको हाहाकारले चीनसँग पारवहन सम्झौताको मार्ग प्रशस्त ग¥यो । अघोषित नाकाबन्दीको घोषित सामनाले नेपालमा भारतविरोधी भावनाको पुनर्जागरण भयो र मोदी कूटनीति असफलसिद्ध भयो ।
अब भारतमा भाजपा र नरेन्द्र मोदीको बहुमत कार्यकालको परीक्षा सकिने घडी नजिकिएको छ । सुरुवातमै सुधार्न खोजिएको नेपाल भारत सम्बन्धमा बढेको तिक्तता घटाउने विकल्पहरू खोजी भएका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणपश्चात तेस्रो पटक नेपालमा जनकपुर हुँदै मुक्तिनाथसम्म नरेन्द्र मोदीको भ्रमण तय भएको छ । यो भ्रमण झट्ट हेर्दा धार्मिक पर्यटनजस्तो देखिए पनि राजनीतिक र सांस्कृतिक प्रभावका अनेकौँ आयामहरू छन् ।
मोदीले संविधानसभाको सम्बोधनमै के सार्क सम्मेलनमा आउँदा ‘राजा जनक र बुद्धभूमिमा जाने’ घोषणा गरेका थिए । तर सार्क सम्मेलनमा आउँदा तत्कालीन गृहमन्त्रीले सत्तारुढ काँग्रेसको चाहना विपरीत अभिनन्दन र साइकल, कापी, कलमरूपी अभिषेक गलत हुने घोषणा गरेपछि जनकपुर यात्रा रोकिएको थियो । अहिले जनकपुरमा काठमाडौँमार्गी कूटनीतिलाई चुनौती दिँदै सीधैँ प्रधानमन्त्री मोदी जाने भएपछि प्रदेश नम्बर दुईको जनकपुरलाई एक्काइसाँै शताब्दीको पानडोरा बक्स त्यहीँबाट खुल्न थाले जसरी सजाइँदैछ र लाखौँ जनतालाई नागरिक अभिनन्दनका लागि अपिल गरिएको छ । सार्वजनिक बिदा घोषित भएका छन् । यसले मुलुकमा नयाँ तरङ्ग पैदा गरेको छ ।
मोदी नेपालमा नागरिक अभिनन्दनका लागि साँच्चिकैका हकदार हुन् वा यो अभिनन्दनकै उपहास हो ? यो यक्षप्रश्न मिडिया, कूटनीतिको मामिला मात्र नभई खास गरी अभिनन्दनमाथि भूकम्पको त्रासदीमा नाकाबन्दीको आतङ्क बेहोरेका नागरिकले उब्जाएका हुन् । अपितु वामगठबन्धनको सङ्घीय सरकार र प्रदेश दुईको सरकारका लागि नाकाबन्दी प्रातस्मरणीय विषय होइन । किनकि सरकार अभिनन्दन घोषणा गर्छ, नागरिक ब्ल्याक आउट घोषणा गर्छन् । सरकार सुरक्षाका लागि भारतीय विशेष कमान्डोलाई अनुमति दिन्छ, जनता नेपाली सेना र प्रहरीको दक्षतामाथि प्रश्न उठाउँछन् । सरकार आतिथ्यताको स्वागत गर्छ, नागरिक आत्मालोचनाको अपेक्षा गर्छन् । सरकार पहिलो भ्रमण भारत गर्छ । जनता राष्ट्रवाद हुँदै लम्पसारवादको अनावरण देख्छन् । यो मूल्याङ्कनको परिस्थितिले वामगठबन्धन सरकार चाँडै नै नरेन्द्र मोदीले पहिलो भ्रमणमा नेपाललाई दिएको ‘हिट’ विकासे सूत्रझैँ थोत्रो हुने देखिन्छ ।
कुनै पनि राजनीतिक पद्धतिलाई व्यक्तिको चमत्कारिताले निर्धारण गर्दैन, अपितु व्यक्ति स्वयम्लाई सत्ता राजनीतिका नीतिहरूले नियन्त्रित, निर्देशित र प्रेरित गर्छ । काँग्रेस आईको ठाउँमा भाजपाको पदार्पणले भारतको नेपाल नीतिमा कुनै नयाँ परिवर्तन हुने आशाहरू वस्तुगत थिएनन् । सामान्यतया जसरी सामन्तको शोषणको तरिका र सुदखोर पुँजीजीवीको शोषणको तरिका फेरिए पनि शोषणको निरन्तरतामा नवीनताबाट प्रफुल्लित हुनु कुनै जरुरी छैन, ठीक त्यसरी काँग्रेस आईको होस् वा भाजपाको होस्, नेपाललाई विशाल भारतकोे एक अङ्गका रूपमा हेर्ने, सिक्किमीकरण, भुटानीकरण र फिजीकरणको अभ्यास गरिरहने, नेपालको सुरक्षा प्रणाली भारतीय छाताअन्र्तगत राख्ने, नेपालका नदीहरूबाट बिजुली होइन पानी र बाढी केन्द्रित रणनीति अवलम्बन गर्ने, नेपालको वित्तीय, श्रम र सेवाजस्ता सबैखाले बजारहरू कब्जा गर्ने, नेपालको राजनीतिलाई आफ्नो बाहुपासबाट फुत्कन नदिने, चीन, पाकिस्तानसँगको नेपाल सम्बन्धलाई वक्रदृष्टि राख्ने मामिलामा कुनै भिन्नताहरू आएनन् ।
बरु मोदीका शेषनागरूपी जिब्राहरूको कुनै ठेगान भएन । बुद्धभूमि नेपाल भनेर संविधानसभामा सम्बोधन गर्ने तर जापानतिर गएपछि भारत बुद्धिभूमि भन्दै कुर्लिने, सार्वभौम राष्ट्र नेपालभन्ने तर आफू अनुकूल संविधान नबनेपछि नाकाबन्दी गर्ने, भूकम्पपीडित नागरिकहरूलाई राहत दिने नाममा उत्तरी सीमानामा जासुसी गर्ने, नोटबन्दीमा नेपाललाई सहुलियत होइन, करोडौँ घाटा दिने, पुनःनिर्माण प्राधिकरणलाई घोषित सहयोग होइन, राजदूतावासबाट पैसा बाँड्ने, अघोषित नाकाबन्दी गर्ने जस्ता द्विअर्थी वचन र व्यवहार नेपालले बेहोरिसकेको छ ।
नरेन्द्र मोदीले अति प्राथमिकतामा प्रदेश दुईबाट भ्रमण गर्नुले कतै प्रान्तीय राजनीतिलाई भारतले उत्तेजित त पार्दैन ? तराईमा वाणिज्य कार्यालय राखेर मधेस राजनीतिमा संलग्न भारतका लागि यो अनपेक्षित प्रश्न भने होइन । त्यस्तै मोदीको सन्न्यासी जीवनबाट भारतीय राजनीतिमा कायाकल्प अति चरमपन्थी हिन्दू सङ्गठन राष्ट्रिय स्वम्यसेवक दलबाट भएको सर्वविदितै छ । नेपाल र भारतमा हिन्दू अतिवादलाई पुनः जागृत गर्ने, धार्मिक राष्ट्रवादका नाममा फासीवादलाई प्रश्रय दिने कार्यमा राज्यनियन्त्रित धार्मिक अभियानको एक हिस्साका रूपमा जनकपुर र मुक्तिनाथको यात्रा तय भएको छ । मुक्तिनाथ मोदीको सन्न्यासीकालको साधना स्थल हो भने जनकपुर राम सर्किटको एक हिस्सा हो । यो धार्मिक पर्यटनको उद्देश्य भारतीय आसन्न चुनावकेन्द्रित पनि छ । वामगठबन्धनको सरकार पनि प्रकारान्तरले हिन्दु अतिवादको अभिलक्षण बोकेर हिँडिरहेको छ । पुस्तौँदेखि गाईको मासु खाने तामाङहरूलाई जेल सडाएर बहादुरी प्रकट गरिरहेकै छ । त्यस्तै भारतीय सुरक्षा कमान्डो फोर्ससहितको तीर्थाटनले नेपालको सुरक्षा प्रणालीको अवमूल्यन, अन्तर्राष्ट्रिय विमानस्थलको एयर मार्सल, ठूला आयोजनाहरूको सुरक्षा, सुपुर्दगी सन्धि आदि प्रसङ्गहरूलाई पुनः स्मरण मात्र गराउँदैन, यो नेपालमाथिको स्वीकृत भारतीय सैनिक परेड हो । यो सार्वभौमिकताका लागि सधैँ बिझिरहने छ ।
अर्कोतिर मोदीले अरूण तेस्रो आयोजनाको उद्घाटन गर्ने भनिएको छ । यो आयोजना राष्ट्रघाती आयोजना हो । अरूण तेस्रो चरम कर छुट, निकासी परक र नेपाल विरोधी आयोजना हो । मोदीले पहिलो भ्रमणमा के भनेका थिए भने नेपालबाट हामी बिजुली किन्न चाहन्छौँ । यो बेकार र फजुल प्रमाणित भइसक्यो कि भारतीय ५१ प्रतिशत लगानीविनाका आयोजनाबाट विद्युत नकिन्ने विद्युत खरिद निर्देशिका सार्वजनिक भइसकेको छ । यसले भारत नेपालबाट बिजुली होइन बरु पानीका स्रोतहरू कब्जा गर्न चाहन्छ । अरूण तेस्रोको उद्घाटन प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला गर्ने भनिए पनि त्यो वामगठबन्धन सरकारको राष्ट्रघात हुने चौतर्फी नेपाली जनताले चुनौती दिएपछि रोकिएको थियो । भारतमा गरियोस् वा नेपालबाटै उद्घाटन भएमा यो वामगठबन्धनको सरकारले गर्ने अरूण तेस्रोको राष्ट्रघात कार्यान्वयनकोे नयाँ पाना हुनेछ ।
यी तमाम तथ्य र यथार्थहरूको मार्गचित्र के हो भने नेपाल भारतपरस्तताबाट जसरी प्रताडित छ, त्योबाट मुक्त हुन भारतसँग समानता, सार्वभौमिकता र पारस्परिकतामा आधारित सम्बन्धकोे खाँचो छ । हिन्दू धार्मिक अतिवादीहरूका लागि नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथको तीर्थाटन ऐतिहासिक, शानदार र भव्य भए पनि त्यसले नेपाली समाजमा उल्लेख्य कुनै योगदान पु¥याउने छैन । यो तीर्थाटन नरेन्द्र मोदी स्वयम्लाई भने नाकाबन्दी, नोटबन्दी र घेराबन्दीजस्ता ‘पापहरूबाट मोक्ष’ प्राप्तिको उपाय हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ
-
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
-
ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने
-
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
-
नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु