शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लम्पसारवाद र साम्प्रदायिक राष्ट्रवाद

शुक्रबार, २८ वैशाख २०७५, ११ : १६
शुक्रबार, २८ वैशाख २०७५

नेपाली राजनीतिक शब्द बजारमा लम्पसारवाद आजकाल धेरै प्रचलित शब्द हो । नेपाल र नेपाली जनताको स्वाभिमान र सार्वभौम सत्ताका विपरीत आफ्नो निहित स्वार्थका लागि विदेशी प्रभुहरूसँग घुँडा टेक्ने प्रवृत्तिलाई लम्पसारवाद भनियो र धेरै नेपालीले त्यसलाई मन पराए । लम्पसारवादी को–को हुन् भनेर लामो बहस भयो । यसको ठीक विपरीत राष्ट्रवाद आयो । सयभन्दा बढी जात जाति भएको मुलुकमा एक भाषा, एक भेष, एकल जातीय हैकम भएको राष्ट्रवाद आयो साम्प्रदायिक रूपमा । धेरैलाई भ्रम प¥यो यही नै पो सही हो कि ? खासमा लम्पसारवाद र साम्प्रदायिक राष्ट्रवाद विपरीत प्रवृत्ति नभएर एउटै सिक्काका दुई पाटा थिए भनेर बुझ्न अब कठिनाइ नहोला ।

लम्पसारवादले देखिने गरी विदेशी शासकहरूसँग कुर्सीको मोलमोलाई गरिरहेको हुन्छ भने साम्प्रदायिक राष्ट्रवादले आन्तरिक एकतालाई सुदृढ हुन नदिएर प्रकारान्तरले विदेशी चलखेललाई नै मद्दत गरिरहेको हुन्छ । विदेशी पाहुनालाई स्वागत गर्नु र तलुवा चाट्नु फरक फरक कुरा हुन् । स्वागत परस्परहितमा हुन्छ भने तलुवा चाट्नु उसकै सेवामा समर्पित हुन्छ । गतिशील राष्ट्रवादले, स्वाभिमानी राष्ट्रवादले शिर ठाडो पारेर, आँखा जुधाएर ढुक्कसँग आफ्नो कुरा राख्छ । आज नेपाललाई भारतको एक प्रान्तको जस्तो व्यवहार गर्न जो खोजिँदैछ यो लज्जा सरनमको विषय हो ।

हुन त नेपाल कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश भएन तर आधुनिक नेपाल बने यता पूर्ण रूपमा स्वाधीन पनि बनेन् । बन्न दिइएन । उहीले विदेशी राजदूतहरू मन्त्रिपरिषद् वैठकमै सहभागी हुन्थे, गराइन्थ्यो रे त्यो पनि देश बनाउने नाममै । अहिले कर्मचारीतन्त्र, सुरक्षा निकाय र राजनीतिक पार्टीका महाधिवेशनमा समेत उतैको लिस्ट भोटरहरूको बीचमा वितरण गरिन्छ रे । हामीले भोगिरहेको अवस्था नवऔपनिवेशिक हो । प्रत्यक्ष हेर्दा स्वाधीन, व्यवहारमा पराधीन । यही हो नवऔपनिवेशिकको मुख्य विशेषता ।

आधुनिक वा पुरातन जे नामले पुकारे पनि हामीले ढुक्कसँग भन्न सक्नुपर्छ, हाम्रो देश स्वाधीन र सार्वभौम सत्ता सम्पन्न देश हो, यहाँको शासन हामीले गर्न पाउनुपर्छ । थाइल्यान्ड, बैङ्कक, सिङ्गापुर वा अन्यत्र उपचार गर्न वा घुम्न जे नामले सम्बोधन गरे पनि अँध्यारो कोठामा कुर्सीको मोलमोलाई गर्ने प्रवृत्तिको अन्त्य नगरी देश बन्दै बन्दैन । देखिने लम्पसारवाद भन्दा लुकेर गरिने लम्पसारवाद बढी खतरनाक हुन्छ ।

आजको दिनमा भारतका तीन मुख्य सरोकार
 

पहिलो– नेपालमा कम्युनिस्ट एकता हुन नदिने
नेपालमा स्थिरता भयो भने समृद्धि हुन्छ र बलियो हुन्छ खेल्न पाइँदैन तसर्थ अस्थिरता, पराधीन र मगन्ते कमजोर नेपाल बनाइराख्ने उसको चाल हो । जुनसुकै मूल्यमा पनि पार्टी एकता हुन नदिने भारतको चाल हो गोटीको बन्छन् हेर्न बाँकी छ । माओवादीसँग गएर भन्दैछन् एमालेसँग किन मिल्न प¥यो पाँच वर्षलाई ढुक्क सरकारको व्यवस्था हामी गरिदिन्छौँ भन्ने उता एमालेसँग गएर माओवादीलाई धेरै भाउ किन दिन प¥यो हामी बहुमत जुटाई दिन्छौं भन्ने । अब बखेडा झिक्ने एजेन्डा पनि अगाडि सारिँदैछ, जसले एकतालाई बाधा गर्छ ।

दोस्रो, चिनियाँ रेल रोक्ने ।

संसारका विशाल  जनसङ्ख्या भएका दुई मुलुकको बीचमा रहनु नेपालका लागि अवसर चुनौती दुवै हो । हामी भूपरिवेष्ठित भए पनि एक देशमा मात्रै निर्भर रहने अवस्थाले हाम्रो बार्गेङ पावर कमजोर हुन्छ भएकै छ । अतः हामीले उत्तरको नाका खोल्नै पर्छ सबैकोणबाट यो नेपालको हितमा छ र कसैको अहितमा छैन । आजको प्रश्न हो, उत्तरको रेल के हुन्छ ?

तेस्रो सवाल हो पानी कब्जा ।
हामीलाई पानीजहाज चाहिएकै छैन । मामाको घोडा मेरो हीः हीः किन गर्नुप¥यो ? भारतको नदी जडान कार्यक्रमलाई हामीले सहयोग गरेको मात्रै ठहर्छ, हाम्रो पानीजहाजले । खोलामा त पानीजहाज नचल्ला त्यसका लागि नेपालका सबै ठूला नदीहरू जोड्नुुुुुपर्ला जो हामी समृद्धिको कुरा गर्दैछौँ । तर समृद्धि कसको, हाम्रो कि विदेशीको ? उनको सरोकार पहाडमा नटिक्ने पानीमाथि छ, जवानी त भारतमै अरबौं छन् ।
   आजका तीन मुख्य सरोकार यिनै हुन्ः पार्टी एकता गर्ने, चिनियाँ रेल नरोक्ने र नेपालको पानीमाथिको अधिकार आफूसँग सुरक्षित राख्ने । अरू धेरै गर्नुपर्दैन, सरकार लम्पसार नपरिदिए पुग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामदीप आचार्य
रामदीप आचार्य

लेखक माओवादी केन्द्रका युवा नेता हुन् ।

लेखकबाट थप