बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

मोदीको नेपाल भ्रमणको सेरोफेरोमा

शुक्रबार, २८ वैशाख २०७५, १० : ३६
शुक्रबार, २८ वैशाख २०७५

नेपाली उखान ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेजस्तै छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको नेपाल भ्रमण । उनको यस पटकको भ्रमणलाई ‘धार्मिक’ भनिएको छ । उनी यस पटक जानकी मन्दिर र मुक्तिनाथ मन्दिरमा पूजापाठबाट आफ्नो दुई दिने नेपाल भ्रमण सुरु गर्दैछन् । तर सिद्राको व्यापारीका निम्ति पशुपतिको जात्रा निहुँ भएजस्तै मोदीको धार्मिक भ्रमण पनि राजनीति गर्ने निहुँ नै हो भन्ने कुरा उनको बाँकी कार्यक्रमबाट सहजै बुझ्न सकिन्छ । 

पूजाको कार्यक्रम सकिएपछि उनी राष्ट्रपति र प्रधानमन्त्रीदेखि विविध पार्टीका राजनेताहरूसँग भेटघाट गर्नेछन् । नेपाली प्रधानमन्त्री केपी ओलीसँग मिलेर अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्तरूपमा उद्घाटन गर्नेछन् । भ्याइयो भने पोखरामा गोरखा रेजिमेन्टका  पेन्सनरहरूसँग भेटने छन्् । यस पटक कुनै नयाँ सम्झौता हुँदैन भनेर गृहमन्त्री रामबहादुर थापाले यसलाई विशुद्धरूपमा धार्मिक भन्न खोजे पनि निश्चितरूपमा यो राजनीति नै हो । 

अतः भारतीय प्रम मोदीको यो भ्र्रमण विशुद्ध धार्मिक नभई धार्मिक राजनीतिक भन्नु उचित हुने देखिन्छ । त्यसो त उनको राजनीतिक विकास हेर्दा उनको राजनीति धार्मिकतामाथि नै टिकेको स्पष्ट छ । भारतीय राजनीतिमा दक्षिणपन्थी विचारको सशक्त अनुहारका रूपमा मोदी उदाएका छन् । जसले भारतको बुर्जुआ लोकतन्त्रको उदार विशिष्टतालाई हनुमन्ते सैफ्रन (केसरिया, भगवा) रङमा रङ्गिँदै छन् । भारतमा हिन्दु दक्षिणपन्थको राजनीतिक वैचारिक सङ्गठन राष्ट्रिय स्वयम्सेवक सङ्घद्वारा योजनाबद्ध रूपमा प्रक्षेपित मोदी, उनीहरूको सर्वाधिक सही हतियार सावित हुँदैछन् । 

विश्व राजनीतिमा त्याज्य जस्तै रहने दक्षिणपन्थी इजरायल भारतको निकटतम् मित्रमा फेरिएको छ भने आफ्नो पितृभूमिको निम्ति सङ्घर्षरत प्यालेस्टाइन औपचारिक मित्र मात्रमा फेरिएको छ । देशभित्रै महात्मा गान्धीको हत्यारा नाथुराम गोड्से खलनायकबाट नायक हुने प्रक्रियामा छन् भने गान्धीलाई वैचारिकताबाट कटाएर वातावरणीय स्वच्छता अभियानको प्रतीकमा सीमित गराइएको छ । मोदी सत्तामा आएदेखि मानौँ भारतीय सत्ताको वैचारिक चक्का उल्टो दिशामा घुम्न थालेको छ । 

नेहरूको समाजवादी लोकतन्त्रको वैचारिक चक्का उल्टो दिशामा फर्केर हिन्दु धार्मिक कट्टरवादमा परिणत हुँदैछ । भारतीय राजनीतिमा उदारवादी खेमाका भारतीय काँग्रेसका जवाहरलाल नेहरू, भारतीय समाजवादी विचारधाराका डा. राममनोहर लोहिया, जयप्रकार नारायण आदि क्यानभासबाट किनाराकृत गराइएका छन् भने उपेक्षा गर्न नसक्ने महात्मा गान्धी, डा. भीमराव अम्बेडकर, सरदार बल्लभभाइ पटेल आदिको भगवानकरण सुरु भएको छ । 
अर्थतन्त्रको दृष्टिले बिरला र टाटा जस्ता पारम्परिक राष्ट्रिय औद्यौगिक पुँजीपतिहरू मोदी शासनकालमा सकस महसुस गर्दैछन् भने वित्तीय र आइँटी पुँजी तथा वैदेशिक लगानीको बलमा बीसौँ शताब्दीको उत्तराद्र्धमा उदाएका अम्बानी, मित्तल जस्ता आधुनिक पुँजीपतिहरू आर्थिक जगतमा हालीमुहाली चलाउँदै छन् । सर्वव्यापी आक्रामक अमेरिकन प्रचार शैली अपनाएको मोदी नेतृत्वको (अध्यक्ष अमित शाह भए पनि निर्णायक मोदी नै भएकाले) सत्तारुढ भारतीय जनता पार्टीले भारतीय राजनीतिलाई चौतर्फी भगवा (सैफ्रनी) करण गर्दैछ । 

अब गान्धीको चस्मा राजनीतिक स्वच्छताको होइन, वातावरणीय स्वच्छताको प्रतीक हो । त्यसैगरी समाजवादी लेनिनका अनुयायी सहिद ए आजम भगतसिंह समाजवादी भारतको क्रान्तिकारी स्वप्नद्रष्टा होइनन् । उनलाई मात्र अङ्ग्रेजी साम्राज्यविरुद्ध सङ्घर्ष गर्ने र फाँसी चढ्ने व्यक्तिका रूपमा सीमित गराउने प्रयास गरिँदैछ । दक्षिणपन्थ गैरवैचारिकतामा हुर्कन्छ । विगतको दुई शताब्दी यस्तै गैरवैचारिकता विरुद्धको सङ्घर्ष र विजयको शताब्दी थियो । तर यो एक्काइसौँ शताब्दीमा गैरवैचारिकता र दक्षिणपन्थ एकपटक फेरि तीव्रतासाथ हनहनिँदै घोडामा सवार भएर हाम्रै घर आँगनमा ‘नागरिक अभिनन्दन’ गाउन आइपुगेको छ ।

अमेरिका, ब्रिटेन, फ्रान्स, टर्की आदिमा यसको रूप देख्न सकिन्छ । भारतमा मोदी यसका आकर्षक अनुहार हुन् । हनुमन्ते केसरिया भाग्यवादी विचार जसले नायकहरूमा अलौकिक देव देख्छ, मोदी यस्तै विचारका नायक हुन् । नेपालको जनकपुरमा र मुक्तिनाथमा पूजाको माध्यमबाट मोदी नेपालमा पनि यस्तै धार्मिक कूटनीतिको माध्यमबाट पकड बनाउन चाहन्छन् । 

नेपाली राजनीतिमा भारतीय वर्चस्व एउटा पारम्परिक सत्य हो । पहिला यो निरुद्देश्य र पारम्परिक निर्वाह नै थियो भने ब्रिटिसकालदेखि यो सउद्देश्य र योजनाबद्ध हो । स्वतन्त्र भारतले पनि यसलाई ब्रिटिस शैलीमा निरन्तरता दिएको देखिन्छ । यसलाई हामी स्वतन्त्र भारतको पहिलो निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको नेपालबारे अभिव्यक्तिबाट बुझ्न सक्दछौं । ६ डिसेम्बर १९५० मा नेहरूले भारतको लोकसभामा भने–
‘...तर कुनै पनि केटाकेटीहरूलाई थाहा छ— तपाईं भारतमा नपसी नेपाल जान सक्नुहुन्न । यस कारण हाम्रो सम्बन्ध र अरू राष्ट्रहरूको नेपालसँगको सम्बन्ध उत्तिकै घनिष्ट हुन सक्दैन । प्रत्येक राष्ट्रले भारत र नेपाल बीचको यो भौगोलिक, संस्कृतिक र अरू सम्बन्ध बारे अनुभव गर्नु र बुझ्नु पर्छ... हाम्रो सीमाको पल्लो पट्टिको, प्रष्ट शब्दमा विशेष गरी तिब्बत र चीनभित्रका घटनाक्रमहरूले गर्दा नेपालको आन्तरिक अवस्थाप्रति हाम्रो चाख अझ तीक्ष्ण र व्यक्तिगत भएको छ । ...यस कारण हामी नेपालको स्वतन्त्रताको जति सराहना गर्छौं त्यतिकै रूपमा सीमा पार हुनसक्ने या हाम्रो सीमा क्षेत्रलाई कमजोर बनाउन सक्ने खालका कुनै पनि गलत काम नेपालमा सम्भव हुन दिई हामी आफ्नै सुरक्षालाई जोखिममा पार्न सक्दैनौँ ।’ (ए.एस.भसिन, डकुमेन्ट्स अन नेपाल्स रिलेसन्स् विथ इन्डिया एन्ड चाइना ः १९४९–६६) 
त्यसै वर्ष १७ मार्चमा उनले भारतको राज्यसभामा भने– ‘...कतैबाट पनि नेपालमाथिको आक्रमणलाई सहनु भारतका लागि सम्भव छैन । ...यस भारतीय उप–महाद्विपको कुनै भागमा कुनै पनि विदेशी आक्रमण सहन सक्दैनौँ र नेपालको कुनै पनि सम्भावित आक्रमणले अपरिहार्यरूपबाट भारतको सुरक्षालाई समावेश गराउँछ ।’ नेपाली राजनीतिमा नेहरू डक्ट्रिनका रूपमा परिचित यी भनाइहरूमा हाम्रो छिमेकी भारतले नेपाललाई हेर्ने दृष्टिकोणको गुदी कुरा अभिव्यक्त गर्दछ । 

नेपाल–भारतको सम्बन्धलाई ‘बडेभाइ–छोटेभाइ’का रूपमा स्नेहशील अभिभावकत्वको रूपमा र संस्कृतिक रूपमा रोटी–बेटी आदिको भावमा व्याख्या गरिरहँदा नेहरूका यी धारणाहरू ठोस कूटनीतिक धरातलको रूपमा काम गरिरहेको हुन्छ । भारतमा सरकार जुनसुकै पार्टीको भए पनि नेपालबारे उनीहरूको धारणा यस कूटनीतिक वैचारिकतालाई नाघेको देखिँदैन । मोदी सत्तामा आएदेखि उनको अभिव्यक्ति र कार्यशैलीलाई विश्लेषण गर्दा उनी पनि यसै कूटनीतिक दृष्टिको निरन्तरतामा छन् भन्ने स्पष्ट हुन्छ । 

बरु उनको पालामा त दुई देशबीचको कूटनीतिक सम्बन्धमा हार्दिकताभन्दा पनि प्राविधिक पक्षहरू बढी समेटिए जस्तो लाग्छ । त्यसका कारण सायद नेपालमा भइरहेको तीव्र राजनीतिक परिवर्तन जसमा कैयौँ भारतीय सत्ता र विशेषगरी मोदी नेटवर्कले नरुचाएका राजनीतिक परिघटनाहरू छन् । विशेष गरेर संसदीय नै भए पनि नेपाली राजनीतिमा वामपन्थीहरूको वर्चस्व बढ्ददै जानु र चिनियाँ निकटता उसको निम्ति अनिच्छित विषयहरू हुन् । 

हुन पनि नेपाली राजनीतिमा भारतीय शासक वर्गको राजनीतिक वर्चस्वको समग्र प्रयत्नका पछाडि नेपाली राजनीतिमा विगतमा मौन रहँदै आएको चिनियाँ कूटनीति मुखर हुँदै जानु पनि हो । करिब–करिब एकै समयमा साम्राज्यवादी औपनिवेशिकताबाट मुक्त भएको भारत र चीनको सम्बन्ध स्वतन्त्रताको प्रारम्भिक कालदेखि नै प्रतिस्पर्धी र कटु रहँदै आएको छ । विश्वका यी दुई ठूला देशहरूबीच युद्ध पनि भइसकेको छ । जहाँसम्म यी दुई देशको नेपालप्रति अपेक्षाको प्रश्न छ, दक्षिणी छिमेकी मित्र नेपालप्रति हमेसा प्रत्यक्ष र आक्रामक रहँदै आएको छ भने उत्तरी मित्र मौन कूटनीतिक छवीमा छ । 

सन् १९५९ मा तिब्बत सङ्कटको बेलाको सन्दर्भ कोट्याउँदै नेपाली काँग्रेससँग सम्बद्ध बौद्धिक यज्ञप्रसाद अधिकारीले  ‘विगत नेपाली काँग्रेसको सन्दर्भ विदेश नीतिको’ नामक पुस्तकमा यस्तो लेख्छन्– ‘१९५९ को तिब्बत सङ्कटबाट उत्पन्न भारत–चीनको खिचातानीको जो पछि सीमा समस्याका रूपमा आयो, जसको कारणले दुई विशाल छिमेकी भारत र चीन वैमनस्यता र शत्रुताको अवस्थामा आए, त्यसले नेपालको अवस्था र स्थितिलाई गम्भीर रूपमा प्रभाव पा¥यो । भारत चाहन्थ्यो– नेपाल प्रष्ट रूपमा भारतको पक्षमा लागोस् । चीन चाहन्थ्यो– तटस्थ रहोस् ।’ 

मोदी नेहरू डक्ट्रिनको नयाँ संस्करण हुन् । नेपाललाई हेर्ने दृष्टिकोण उही भए पनि नेपालमा रहेका पार्टीहरूको प्राथमिकता र देशभित्र उत्पन्न परिस्थितिलाई हेर्ने र प्रयोग गर्ने स्थितिमा परिवर्तन आएको देखिन्छ । फरक के छ भने पहिला नेपाली राजनीतिमा उत्पन्न परिस्थितिको आधारमा भारतीय कूटनीति चल्ने गर्दथ्यो भने मोदी डिप्लोमेसी आफू अनुकूलको परिस्थिति निर्माण गर्ने र त्यस अनुकूल नेपाली राजनीतिको पात्रहरूलाई उपयोग गर्ने नीति अवलम्बन गरेको बुझिन्छ । 

मधेस आन्दोलनमा आन्दोलनकारी राजनीतिक पार्टीहरूसँगको निकटता र दूरी, नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रलगायत राष्ट्रिय राजनीतिका पार्टीहरूसँग निकटता र दूरी र उपयोग तथा छेउ लगाउने नीतिलाई हेर्दा मोदी डिप्लोमेसीलाई सहजै बुझ्न सकिन्छ । नेपालमा संविधान निर्माणका बेला मधेसी आन्दोलनको पक्ष र संविधान संशोधनको निहुँमा असन्तुष्टि व्यक्त, संविधानको विरोध गरिरहेको मधेसी आन्दोलनमाथि निर्मम सरकारी दमन र भारतीय सत्ताको अपेक्षा विपरीत संविधान आएकोमा सुषमा स्वराजको भारतीय संसदमा व्यक्त आक्रोश आदि हेर्दा लाग्छ भारत पक्ष, विपक्ष सबैतिर उत्तिकै प्रभावकारी रूपमा रहन खेल्छ ।

वर्तमान अवस्थामा मोदी डिप्लोमेसीले नेपालमा ‘फतेह’ गरेजस्तो देखिन्छ । उनको इच्छा विपरीत नेपालमा संसदीय निर्वाचनबाट गठित केपी ओली नेतृत्वको वाम गठबन्धनको सरकार पुनः अपेक्षा अनुसारको ट्र्याकमा आइपुगेको देखिन्छ । मधेस आन्दोलनको र नाकाबन्दीका बेला आन्दोलन र भारतीय सत्ताप्रति कटु अभिव्यक्तिको कारण मधेसमा अलोकप्रिय र पारम्परिक राष्ट्रवादी छवि बनाएको र करिब–करिब खुलेरै चिनियाँ कूटनीति नजिक देखिएका ओलीले प्रधानमन्त्री बनेपछि भारत भ्रमणबाट सुरु गरेको कूटनीतिले नेपाली शासनतन्त्र पुनः पारम्परिक ट्र्याकमै फर्केको बुभ्mन गारो छैन । त्यसलाई अहिलेको उनको राजनीतिक चालले पनि स्पष्ट र खुला गरिदिएको छ । 

त्यसैगरी जसोतसो दुई नम्बर प्रदेशमा सरकार बनाउन सफल मधेस केन्द्रित दलहरू फेरि एक पटक भारतीय कूटनीतिका निरिह पात्रका रूपमा सतहमा देखा परेका छन् । उनीहरूले आन्दोलनमा जबर्जस्तरूपमा उठाएको संविधान संशोधनको मुद्दा अन्यौलमै छ । यस्तो अवस्थामा दिल्लीमा ओलीको भव्य स्वागत र ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाली राजनीतिमा हास्यास्पद अवस्थामा पुगेका मधेसकेन्द्रित पार्टीहरू र संवेदनाहीन भारतीय कूटनीति दुवैलाई उजागर गरिदिएको छ । 

त्यसो त मधेस केन्द्रित दलहरूको छियाछिया भएको मनलाई भरथेग गर्न र आफ्नो सौहाद्र्रता प्रकट गर्न मोदीले जनकपुरबाटै आफ्नो भ्रमण सुरु गरेका होलान् । बाहिरबाट हेर्दा जनकपुर मोदीमय हुँदैछ । जनकपुरमा जता गए पनि मोदीको चर्चा चुरोमा छ । मिडिया मोदीमय छ । मोदीको आगमन नजिकिँदै जाँदा वातावरण यति विघ्न धुमिल भएको छ कि देशभित्रका अन्य गतिविधिहरू ओझेलमा पर्दैछन् । यो अवस्था मोदीको आगमनको २०१४ लाई विर्साउन लायकको छ । 

उनले आफूसँग ल्याएका अनेकौँ तामझामले नेपालमा धार्मिक राजनीतिक, सामरिक प्रदर्शन र वर्चस्वको कूटनीतिलाई एकैसाथ अभिव्यक्त गरिरहेको छ । संसदीय धारामा रहेका वामपार्टीहरू मात्रै होइन, नेपाली सत्ताका प्रायः सबै पक्ष मोदी स्वागतमा प्रतिक्षारत रहनु नेपाली राजनीतिको विघटिन मूल्यका द्योतक हो । जुन मोदीले पनि देखाउन खोजेको कुरा हो । मोदी कूटनीतिक प्रयत्न देख्दा उनी नेपालको सिक्किमीकरण होइन कि भूटानीकरण गर्न चाहन्छन् भन्ने देखिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन जनकपुरी
रोशन जनकपुरी

रोशन जनकपुरी साहित्यमा कलम चलाउँछन् ।

लेखकबाट थप