बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले मुलुक टुक्रिने आधार बनेको भन्दै आयो कडा विज्ञप्ति

बिहीबार, २७ वैशाख २०७५, १८ : २२
बिहीबार, २७ वैशाख २०७५

काठमाडौं– मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले मुलुकलाई गम्भीर खतरा पुग्ने जनाएको छ । प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउनु पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै सो पार्टीले मोदीको भ्रमणबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितमा गम्भीर खतरा पुग्ने चेतावनी दिएको हो ।

पार्टी महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा मोेदीको सुरक्षाको नाममा भारतीय सैनिकहरु खुलेआम नेपाल भित्रिनु र प्रदेश नम्बर २ मा अस्वभाविक रुपमा भैरहेको स्वागतले उल्टै भारतीय विस्तारवादी रणनीतिलाई सहयोग गर्ने दाबी गरिएको छ । विज्ञप्तिमा भनिएको छ– वास्तवमा भारतले तराईका सबै जिल्लालाई पहाडी भूभागबाट अलग गरेर बेग्लै प्रदेशहरू बनाउन खोजेको थियो । अन्यत्र ता त्यो योजना सफल हुन सकेन । तर २ नं। प्रदेशको निर्माण त्यसरी नै गरिएको थियो । हाम्रो पार्टीले संविधानको निर्माणको क्रममा पनि २ नंं. प्रदेशको निर्माणको विरोध गरेको थियो र त्यस प्रकारको प्रावधानका विरुद्ध संशोधन प्रस्ताव राखेको थियो । अब व्यवहारबाट नै त्यो प्रदेशको निर्माण नेपालको राष्ट्रिय हितका पक्षमा नभएको कुरा प्रष्ट छ ।

विज्ञप्तिमा थप भनिएको छः भारतले तराईका बाँकी जिल्लाहरूलाई पनि पहाडी भू–भागबाट अलग गरेर बेग्लै प्रदेशहरूको निर्माण गर्न चाहन्छ । त्यसका लागिनै मधेशवादीहरूले संविधानमा संशोधनको कुरा उठाइरहेका छन् । अहिले मोदीको जसरी अस्वभाविक तरिकाले स्वागतको तयारी भइरहेको छ, त्यसले तराईमा बेग्लै प्रदेशहरू बनाउनुको उद्देश्य भारतीय विस्तारवादी रणनीतिलाई पूरा गराउनु थियो भन्ने कुरा बुझ्न गाह्रो पर्दैन ।

त्यस्तै विज्ञप्तिमा मोदीको नेपाल भ्रमणका बेलामा अरूण तेस्रोको शिलान्यास गर्ने कार्यक्रमलाई पनि भारतीय विस्तारवादको अर्को हस्तक्षेप भएको दाबी गरिएको छ । विज्ञिप्तिमा भनिएको छः यो नेपालको जलसम्पादमाथि भारतीय विस्तारवादले बढाउँदै लगिरहेको अतिक्रमणको एउटा उदाहरण हो । त्यसैले हाम्रो पार्टीले त्यो शिलान्यासलाई पनि राष्ट्रघाती कार्य ठान्दछ र विरोध गर्दछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप