बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ग्राउण्ड : मोदीकाे मुस्ताङ भ्रमणको यस्तो छ तयारी (फोटो फिचरसहित)

बिहीबार, २७ वैशाख २०७५, १६ : १७
बिहीबार, २७ वैशाख २०७५

मुस्ताङ– मुस्ताङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि भव्य तयारी गरिएको छ । 

मोदीको स्वागतका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले रातोपाटीलाई जानकारी दिए । मोदी शनिबार विहान मुक्तिनाथ मन्दीरको दर्शनका लागि मुस्ताङ आइपुग्दैछन् । 

त्यसको तयारीस्वरुप स्थानीय प्रशासनले आफूले गर्नुपर्ने सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ । 

केही दिनयता प्रशासनले मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर सरसफाई गर्नेदेखि, सुरक्षा व्यवस्थालाई समेत चुस्त दुरुस्त बनाएको छ । सो क्रम  शुक्रबार रातोपाटी पुग्दा पनि देखियो । 

सर्वसाधारणलाई कुनै असर नगर्ने हिसावले सुरक्षा प्रवन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार मोदीको मुस्ताङ भ्रमणका बेला सुरक्षाको अभाव हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचलन गर्न तयारी अवस्थामा राखिएको छ ।

स्थानीय प्रशासनले मोदी भ्रमणका बेला मुस्ताङमा नाकावन्दी गर्न लागेको भनेर प्रचार भएपनि त्यस्तो नभएको जनाएको छ । ‘सर्वसाधारणलाई निषेध नै गरेको भन्ने समाचारहरु गलत हुन्’ प्रजिअ पौडेलले बताए । 

यता, मुस्ताङबासीहरुले पनि मोदी मुस्ताङ आउने भएपछि स्वागत गर्न आतुर भएको बताएका छन् । स्थानीयले मोदी मुस्ताङ आउनेभएपछि विश्वमै मुस्ताङको प्रचार प्रसार भएर पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

 ‘मोदी आउने भएपछि विश्वमा यसको सन्देश जान्छ, र विश्वका पर्यटक मुस्ताङ आउन आकािर्षत हुनेछन् । जसले मुस्ताङको पर्यटन प्रवद्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौ’ वारमुङ गाउँपालिकाकी धिमि गुरुङले रातोपाटीलाई भनिन् । उनले स्थानीय जनता मोदीलाई स्वागत गर्न आतुर रहेको समेत जानकारी दिइन् । 

त्यस्तै जिल्ला समन्वय समितिका संयोजक छिरिङलामु गुरुङले स्थानीयस्तरमा मोदीको स्वागत गर्न भव्य तयारी गरेको जानकारी दिए । 

‘ठाउँठाउमा स्थानीयको सक्रियतामा स्वागतद्धार बनाएर मोदीको स्वागत गर्न जनता आतुर छन्, मोदीलाई भव्य स्वागत गरेर विश्वमै मुस्ताङको परिचय दिन सकिन्छ भन्ने जनताको भावना रहेको छ ’ संयोजक गुरुङले भने, ‘यसलाई यहाँका जनताले अवसरकै रुपमा लिएका छन् ।’ 

मोदीको भ्रमणले मुस्ताङको मुक्तिनाथ क्षेत्र मात्रै नभएर सिंगो जिल्लाको विकास निर्माणमा सहयोग पुग्ने जिल्लाबासीको अपेक्षा रहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा

ओम शर्मा रातोपाटीका प्रधान सम्पादक हुन् ।

लेखकबाट थप